हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !

सारांश

  • भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा खानेबेला चुनावमा उठिएछ।
  • ’ हार्ने बेला प्रतिस्पर्धा गरेको प्रति पश्चातापस्वरुप आएको थियो, पूर्व सभामुख ढुङ्गानाको यो ट्वीट।
  • सक्रिय राजनीति छाडेर स्वतन्त्र जीवन बिताइरहेका ढुङ्गानाले भक्तपुर–२ मा उम्मेदवार बन्दा जस्तो परिणाम भोग्नुपर्‍यो, त्यस्तै परिणाम मन्त्री बनिसकेका एमाले–माओवादी केन्द्रका दुई पूर्व सांसद र राजपाका एक पूर्व महामन्त्रीले बेहोर्नु परेको छ।

भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा खानेबेला चुनावमा उठिएछ।’ हार्ने बेला प्रतिस्पर्धा गरेको प्रति पश्चातापस्वरुप आएको थियो, पूर्व सभामुख ढुङ्गानाको यो ट्वीट।

सक्रिय राजनीति छाडेर स्वतन्त्र जीवन बिताइरहेका ढुङ्गानाले भक्तपुर–२ मा उम्मेदवार बन्दा जस्तो परिणाम भोग्नुपर्‍यो, त्यस्तै परिणाम मन्त्री बनिसकेका एमाले–माओवादी केन्द्रका दुई पूर्व सांसद र राजपाका एक पूर्व महामन्त्रीले बेहोर्नु परेको छ। चुनावको मुखैमा कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेका तीनै जनाले चुनावमा पराजित भएका छन्।

त्यसमध्ये कैलाली–२ मा मोहनसिंह राठोर एमाले उम्मेदवार झपट रावलबाट पराजित भएका छन्। सुशील कोइराला प्रधानमन्त्री छँदा शिक्षा राज्यमन्त्री रहेका राठोर चुनावमा आफूले टिकट नपाउने पक्का भएपछि कांग्रेस प्रवेश गरेका थिए। उनी २०७० को निर्वाचनमा त्यही निर्वाचन क्षेत्रबाट संविधान सभामा चुनिएका थिए।

२०६४ को निर्वाचनमा पनि उम्मेदवार रहेर पराजित राठोरलाई २०५४ को निर्वाचनमा एमालेले जिल्ला विकास समितिको सभापतिको उम्मेदवार बनाएको थियो। त्यो चुनावमा उनी गाविस अध्यक्षमा विजयी भएका थिए। २०४९ को चुनावमा पनि उनी पार्टीको तर्फबाट गाविस अध्यक्षको उम्मेदवार थिए।

तर स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै एमाले जिल्ला कमिटीले राठोरलाई कार्वाहीको सिफारिस गर्‍यो। त्यही कारण यो निर्वाचनमा टिकट नपाउने पक्का भएपछि उनी कांग्रेस प्रवेश गरे र उम्मेदवार भए। तर राज्यमन्त्री छँदा आफ्नै पिए रहेका एमाले उम्मेदवार झपट रावलबाट पराजित भए।

माओवादी केन्द्रको तर्फबाट पशुपंक्षी विकास राज्यमन्त्री रहेका शंभुलाल श्रेष्ठले टिकटका लागि कांग्रेस प्रवेश गर्दा पराजय बेहोर्नु परेको छ। २०७० को निर्वाचनमा कांग्रेस छाडेर माओवादी केन्द्र प्रवेश गरेका श्रेष्ठले सर्लाही–१ मा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका थिए।

शेरबहादुर देउवाको नेतृत्वमा बनेको बर्तमान सरकारमा माओवादी केन्द्रले श्रेष्ठलाई पशुपंक्षी राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो। तर, माओवादी केन्द्रले सरकार छाडेलगत्तै उनी कांग्रेस प्रवेश गरे। प्रम देउवाले माओवादी केन्द्रका मन्त्रीलाई विनाविभागीय हैसियतमा झार्दा कांग्रेस प्रवेश गरेका श्रेष्ठको चाहिँ बढुवा भए,उनलाई फूलमन्त्री बनाइयो।

साथै, सर्लाही–१ को टिकटसमेत दिइयो। तर, उनी तेस्रो स्थानमा रहेर श्रेष्ठ पराजित भए। राजपाका प्रमोद शाहले २२ हजार ३६ मत ल्याएर जितको सो क्षेत्रमा एमालेका धु्रब गौतम २१ हजार ४ सय ६४ मतका साथ निकटतम प्रतिद्वन्द्वी भए। मन्त्री श्रेष्ठे तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए।

यस्तै नियति राजपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका जंगीलाल रायले पनि बेहोर्नु परेको छ। जव स्थानीय तह निर्वाचनमा आफू निकटका व्यक्तिले टिकट पाएनन्, रायले राजपा छाडे र आफू निकटका व्यक्तिहरुलाई एमाले प्रवेश गराए। त्यही कारण उनी एमाले प्रवेश गर्ने हल्ला चल्यो।

एमालेबाट टिकट नपाउने बुझेपछि उनी कांग्रेस प्रवेश गरे र सर्लाही–२ को उम्मेदवार बने। तर, उनीपनि पराजित भए। राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवका निकटतम प्रतिद्वन्द्वी बनेका जंगीलाल १८ हजार ९ सय ७६ मतका साथ निकटतम प्रतिद्वन्द्वी बन्दा राजपाका राय भने २१ हजार १ सय ९१ मतका साथ विजयी भए।

नेपाल खबर को रिपोर्ट!

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapa Sunil

    No1: kailali ko Doon ho Mr mohan aSingh

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?