१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
५० पटक हेरिएको
Shares
१६ महिनामा बन्नु पर्ने पुल तर अझै अत्तोपत्तो छैन बन्ने

सारांश

  • सोह्र महीनाभित्र निर्माण पूरा गर्ने सहमतिअनुसार डोल्पा ठूलीभेरी नगरपालिका–८ रुपगाढ खोलामा निर्माण थालिएको पुल निर्माणको अझै टुङ्गो छैन ।
  • चार वर्षअघि निर्माण शुरु गरिएको पक्की पुल निर्माण अधुरै छाडिएको छ ।
  • विसं २०७२ मा पुल निर्माणको जिम्मा सञ्जीवनी कन्स्ट्रक्सनले लिएको थियो ।

सोह्र महीनाभित्र निर्माण पूरा गर्ने सहमतिअनुसार डोल्पा ठूलीभेरी नगरपालिका–८ रुपगाढ खोलामा निर्माण थालिएको पुल निर्माणको अझै टुङ्गो छैन ।

चार वर्षअघि निर्माण शुरु गरिएको पक्की पुल निर्माण अधुरै छाडिएको छ । विसं २०७२ मा पुल निर्माणको जिम्मा सञ्जीवनी कन्स्ट्रक्सनले लिएको थियो । सञ्चालक गौरी उप्रेतीले एक वर्ष ६ महीनाभित्र सो पुल निर्माण पूरा गर्ने जिम्मा लिएका थिए । पुल निर्माणका लागि साविक जिविसले रु तीन करोड विनियोजन गरेको थियो । जिविस र जिल्ला प्राविधिक कार्यालयको खारेजीसँगै पुल निर्माणको जिम्मा कसले लिने भन्ने विषयमा लामो समयसम्म टुङ्गो नलाग्दा निर्माण अधुरै रहन गएको हो ।

जिविस र प्राविधिक कार्यालयको खारेजीसँगै पुल निर्माण गर्न निर्माण कम्पनीलले विभिन्न बहाना गरिरहेका छन् । कम्पनीले पुल निर्माणको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिएको छ  । पुल निर्माणको समयावधि २०७४ चैतमा सकिएको थियो । अहिलेसम्म तीन पटक निर्माणको म्याद थपिएको छ । तेस्रो पटक म्याद थप्दासमेत पुल निर्माणको काम अघि बढ्न सकेको छैन । जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा साविक जिविसले गरेको विस्तृत नक्साङ्कन नमिलेकाले पुनः गर्नुपरेको बताउनुहुन्छ । चालू आवमा सो पुलका लागि बजेट विनियोजन गरेको छैन ।

पुल निर्माण नहुँदा सदरमुकाम दुनैसम्म यात्रा गर्न असहज भएको छ । काठको सहारामा सवारीसाधन वारपार गराउन जोखिम हुन्छ । कामको जिम्मा लिएका स्थानीय व्यवसायी हिम बुढा कामको रकम नपाएका कारण पुल निर्माणमा ढिलाइ भएको बताउनुहुन्छ । साविक जिविसले व्यवसायीलाई रु दुई करोड ७० लाख भुक्तानी दिएको बताइएको छ । “पेश्कीस्वरूप लिएको रकम ढुङ्गा, गिट्टी तथा बालुवा सङ्कलनमा खर्च भइसक्यो”, बुढाले भन्नुभयो, “पुलको दुवैतर्फको पिलर निर्माणको काम सकिएको छ । बाँकी रकम भुक्तानी भए पुल निर्माणलाई तीव्रता दिन्छौँ ।” जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्ने सो पुल निर्माणका लागि स्थानीयवासीले दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?