४ सन्तान सहित किन कोशीमा हाम फालिन रोशना खातुन ?
सारांश
- माया र ममताकी खानी आमा।
- आफ्नो सन्तानलाई आमाले हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन्।
- तर, एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हाम फालेको खबर मनोहर पोखरेलले अन्नपूर्णमा छापेका छन ।
माया र ममताकी खानी आमा। आफ्नो सन्तानलाई आमाले हत्या गर्ने कुरा कसैले अनुमान पनि गर्न सक्दैनन्। तर, एक आमाले आफ्ना चार सन्तानलाई सप्तकोशी नदीमा फालेर आफू पनि हाम फालेको खबर मनोहर पोखरेलले अन्नपूर्णमा छापेका छन ।
घरपक्षले माइत र माइती पक्षले घर खेदेपछि ३५ वर्षीया रोशना खातुन चार सन्तानसहित सप्तरीको हनुमाननगर कंकालिनी १ मा पुगेर सप्तकोशी नदीमा हाम फालेको स्थानीय आकाशराज भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार अर्की महिलासँगको सम्बन्धका कारण श्रीमानले दिनहुँ कुटपिट गर्न थालेपछि माइतीको शरणमा गएकी खातुनलाई माइतीले पनि जबरजस्ती घर पठाएका थिए।
सामाजिक परम्पराअनुसार १४ वर्ष अघि सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुरका मो तैयवसँग खातुनको विवाह भएको थियो। खातुन तीन छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन्।
श्रीमानले यातना दिएपछि चार सन्तानसहित जनकपुरको वीरेन्द्र बजारस्थित माइत गएकी थिइन्। माइतीको शरण पाउने आशामा माइत पुगेकी उनलाई त्यहा पनि गालीगलौज सुरु भएपछि तनावमा थिइन्।
माइती पक्षले छोरीलाई राख्नु नहुने भन्दै घर फर्काएपछि खातुन घर नगई कोशीतर्फ गएको खुलेको छ।जनकपुरबाट घर जानुको साटो उनले कोशी ब्यारेजसम्मको टिकट लिइन्।
कोशी ब्यारेजमा शुक्रबार दिउँसै ओर्लिएकी उनी दिनभरी डुलिन्। आत्महत्याको उपयुक्त स्थान खोजे पनि दिनभरी मानिसको आवत–जावत भइरहेकोले मौका पाइनन्।
साँझ परेपछि भोकले रुन थालेका छोराछोरीका लागि चोकमा पुगेर नास्ता किनेर ल्याइन र खुवाइन्। उत्तरको गोलघरतर्फ मानिसको चहलपहल बढी भएकाले उनी नदीको दक्षिणतर्फ आएर बसिन्।
रातको समयमा उनले पालैपालो छोरा–छोरीलाई नदीमा फालेपछि आफू पनि हाम फालिन्। नदीको पानीले नै किनारा लाएर बचेका साइला छोरा पाँच वर्षीय तहसिलले रुदै प्रहरीले दुःखद् यथार्थ सुनाए।
घटनास्थल लगेर सल र चप्पल देखाउँदै घटना विवरण सुनाएपछि कोशी ब्यारेजका स्थानीय पसले, व्यापारीले प्रहरीलाई उद्दारका लागि आग्रह गरेको स्थानीय भुपदेव मालीले बताए।
रातभर खोजी कार्यमा खटिए पनि पानीको वहाव उच्च रहेकाले प्रहरी र स्थानियवासीले कोही फेला नपारेको अवस्थामा कोशी नदीमा काम गर्ने कन्ट्रक्सनका मजदुरले महिलाको उद्धार गरे।
नदीले बगाएर तीन किलोमिटर टाढा पुगेकी खातुनलाई झ्याँङ्गमा गएर अड्किएको अवस्थामा मजदुरले उद्धार गरेका हुन्। उनको साथमा रहेको पर्सबाट नगद नौ हजार, कानको सुनको झुम्का र कोशी ब्यारेजसम्म काटिएको बसको टिकट फेला परेको छ।
फेला परेको मोबाइल काम नलाग्ने भएपछि सिम निकालेर अर्को मोबाइलमा राखेर फोन गर्दा उनका श्रीमान सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए।
खातुनको भारदहस्थित अस्पतालमा उपचार भएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए। खातुनका १२ र सात वर्षीय छोरा तथा दुई वर्षीया छोरी अहिलेसम्म बेपत्ता छन्।
सप्तकोशी नदीमा पानीको बहाब उच्च रहेकाले बेपत्ता बालबालिकालाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि उनीहरुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालित रहेको छ।
भोजपुरमा विप्लव कार्यकर्ताको गोली लागी एक प्रहरीको मृत्यु
भोजपुरमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ। भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइलाई गोली लागेको मृत्यु भएको हो ।
त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ। मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ।
रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य
सर्जना कार्की
रुकुम (पूर्व)। रुकुम (पूर्व)मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन्।
गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन्। एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ। मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने बुझिन्छ। अहिले भेटिएकामध्ये सबैभन्दा ठूलो यस गुफाभित्र ५० जना अटाउन सक्ने ठाउँ रहेको छ। यस गुफामा केराको घरीका जस्ता आकृति र चमेरा पनि थुप्रै रहेको उनले बताए। त्यसैगरी गुफामा मनै लोभ्याउने खालका कलाकृति देख्न सकिने पुथा उत्तरगङ्गा गाउँपालिका–१२ का वडाध्यक्ष गङ्गाबहादुर पुनले बताए।
उनका अनुसार जमीन सतहबाट २५ मिटरभित्र पसेपछि मात्र गुफाको सतह भेटिन्छ। वडाध्यक्ष पुनले भने, “यो भन्दा अगाडि मैले पोखरा र रुकुमकोटलगायतका ठाउँमा रहेका गुफाहरु हेरेको छु, तर कोलमा भेटिएका यी गुफा ती गुफाभन्दा निकै ठूला आकर्षक र अनौठा खालका छन्।” यस गुफामा खुट्टा डुबाउने खालको पानी रहेको पनि उनले बताए।
त्यसैगरी नजिकै अर्को गुफा रहेको छ। त्यस गुफाको नाम ‘सुनरी कुङ’ अर्थात् सुनपानी गुफा नामकरण गरिएको छ। त्यस गुफामा सुनको जस्तै रङमा विभिन्न आकृति भेटिएका छन्। जुन गुफामा भित्र प्रवेश गरेपछि सुनैको महलमा छिरेझै आभास हुने गर्दछ। जता हेरे पनि सुनजस्तै पहँेला चम्किने बिरुवाको पातको आकृतिले मनै लोभ्याइदिन्छ।
त्यसैगरी अर्को गुफा रहेको छ, त्यस गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको छ। जहा चाँदीको जस्तो रङमा कुदिएका अकृति तथा गुफा नै चाँदीको रङमा देख्न सकिने अध्यक्ष बुढाले बताए। यस गुफाको एउटा अचम्मको विशेषता रहेको छ। गुफाभित्र केही वस्तु राखियो भने केही वर्ष्भित्रै त्यो चिजलाई पनि चट्टानले विस्तारै छोपिदिने र त्यस वस्तु पनि चट्टानझै देखिन्छ। गुफाभित्र कुनै पनि चिज राखेर त्यसलाई आफूले भनेजस्तै चट्टानमा परिवर्तन गर्न सकिने सम्भावना रहेको अध्यक्ष पुनको भनाइ छ। चाँदी कुङबाट निस्केको पानी अहिले एउटा सानो झरना बनेर उत्तरगङ्गामा मिसिएर बगिरहेको छ।
यी गुफालाई स्थानीयले पहिले पनि देखेको तर यसतर्फ त्यति चासो नदिएका कारण यसको बारेमा कसैले थाहा पाउन सकेका थिएनन्। तर, स्थानीय सरकार र अहिलेका युवाहरुले यी गुफाको बारेमा चासो दिएर खोजीनीति गर्न थालेपछि गुफाहरुको यो रहस्य खुल्न गएको स्थानीयवासी बताउँछन्।
कोल गाउँभन्दा तलतिर गुफाहरु रहेका छन्। तर, ती गुफामा पुग्नका लागि धेरै वर्ष पहिले गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको स्थानीयवासीको दाबी छ। कोलका भुपू प्रधानपञ्च ६९ वर्षीय गनबहादुर पुनले धेरै वर्ष अगाडि शिकारीले लखेटेको मृग यी तीन गुफाभन्दा दुई किलोमिटर माथि रहेको ‘निम कुङ’ नाम गरेको गुफाबाट छिरेको र त्यस मृगलाई लखेट्दै गएको कुकुुर एक हप्तापछि दुई किलोमिटर तल अहिले भेटिएको गुफाबाट बाहिर निस्किएको किंवदन्ती रहिआएको सुनाए। निमको अर्थ मगर खाम भाषामा भालु हो। यस गुफामा भालु लुक्ने भएकाले निम कुङ नाम राखिएको स्थानीयवासी हिक्मत प्रतेलले बताए। यो गुफामा पनि उज्यालोको सहायताले २५ मिटरभित्र जान सकिन्छ।
जनयुद्धकालमा गुरिल्ला लुकेको गुफा
यी गुफाहरु जनयुद्धकालमा माओवादी लडाकुले प्रयोग गरिएको पनि पाइएको छ। गुफाका अनुसन्धानमा भित्र छिरेका स्थानीय युवाले जनसेनाले प्रयोग गरेका लाल्टिन, पार्टीका ब्यानर र पोस्टर फेला पारेका छन्। दुई वर्षअघि अर्को गुफामा स्थानीयवासीले लुकाइराखेको अवस्थामा बन्दुकसमेत फेला पारेका थिए।
अहिले यी गुफामा पुग्नका लागि बाटो भने सहज छैन। बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन्। थाहा पाएका स्थानीयवासीसँगको सहकार्यमा मात्र गुफा पुग्न सकिने स्थानीयवासी बताउँछन्। यस गुफाको पहिचानका लागि गत वर्ष वडाले रु एक लाख छुट्याएको वडाध्यक्ष पुनले बताए।
त्यसैगरी रुकुम (पूर्व)का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले आफूले अहिलेसम्म हेरेका गुफामध्ये यी गुफा बिल्कुलै नयाँ र फरक खालका गुफा रहेको बताए। भर्खरै पत्ता लागेका यी गुफाको पहिचान, प्रचारप्रसार तथा संरक्षण र विकासका लागि पहल गर्ने र यसलाई रुकुम (पूर्व)को पर्यटकीय गन्तव्यको रुपमा चिनाउने बताए। आवश्यक प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सके यी गुफा पर्यटकीय गन्तव्यको रुपमा चिनिने र स्थानीयवासीको लागि आयआर्जनको एउटा राम्रो स्रोत बन्ने उनको भनाइ छ।रासस
देशभर भारी वर्षा, अझै २ दिन मनसुन सक्रिय रहने
काठमाडौं । आज देशभर भारी वर्षा भईरहेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले अझै दुई दिन निरन्तर वर्षा हुने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको महाशाखाले जारी गरेको सूचनामा जनाईएको छ ।
आज दिउँसो देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ।
त्यस्तै आज राति पनि देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश भू भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार भित्र लाइसेन्स छाप्ने मास प्रिन्टर आउने
आगामी आइतवारभित्र ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ आइपुग्ने भएको छ। लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास प्रिन्टरसगँ अप्रिल ३० मा ७५ दिनमा मास प्रिन्टर ल्याउने गरि सम्झौता भएकोले २९ गतेभित्र मास प्रिन्टर आइपुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।
‘प्रिन्टर आएपछि टेक्निकल इरर आएन भने इन्स्टल गर्न १५ दिन र अन्य व्यवस्थापन मिलाउन १५ गरी १ महिनाभित्र छपाइमा जान्छौँ,’ दाहालले भने।
अहिले ल्याउन लागिएको ‘मास प्रिन्टर’ले दैनिक ८ हजार र मासिक २ लाख ४० हजार लाइसेन्स छप्न सक्ने दाहालले जानकारी दिए।
हाल प्रकृया पूरा गरेका ६ लाख चालकले रसिदकै भरमा सवारी चलाइरहेका छन्। विभागको योजना अनुसार नै काम भयो भने ३ महिनाभित्रै सम्पूर्ण ‘व्याक लक’ हटेर सेवाग्राहीले समयमा लाइसेन्स पाउनेछन्।
विभागमा भएका ६ ओटा मेसिनबाट दैनिक २५ सयदेखि ३ हजार कार्ड प्रिन्ट हुन्छन्। तर आवश्यकता भने करिव ६ हजारको रहेको विभागले जनाएको छ।
मद्रास प्रिन्टर्सले आइतबारभित्रै मास प्रिन्टर ल्याउन नसके दैनिक रुपमा जरिवाना लिइने उनको भनाइ छ।
प्रिन्टरसँगै मद्रासले १० लाख कार्ड ल्याउने सम्झौता पनि भएको छ। मद्रास प्रिन्ट्सले २ पटक गरेर १० लाख कार्ड विभागलाई बुझउनु पर्ने छ। हाल विभागसगँ ६० हजार मात्र कार्ड बाकीँ छन्।
प्रतिक्रिया