९ महिनामा २४ बलात्कारका घटना
सारांश
- ललितपुर : घटना १ चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे।
- घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो।
- अहिले उनी प्रहरी हिरासतमा छन्।
ललितपुर : घटना १
चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्।
घटना २
बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा सुताएको, बालिकाको कपडा खोलिदिएको र आफ्नो कपडा खोलेको बालिकाले बताएकी छन्। प्रहरीले उनलाई पक्राउपछि अनुसन्धान गरिरहेको छ।
घटना ३
चैत ८ गते ललितपुरको बडीखेलमा सानुभाइ पहरी आफ्नै भान्जीको कोठामा चिया खाने निहुँ पारेर गए। चिया पकाउने भाँडो माझ्न लाग्दा उनले जबर्जस्ती तानेर भान्जीलाई ‘बाथरुम’भित्र लैजान खोजे। भान्जीले प्रतिकार गरिन्। त्यसक्रममा उनको कुर्ता च्यातियो र नङसमेत गाडियो। घटनाबारे सातदोबाटोस्थित प्रहरी वृत्तमा जाहेरी दर्ता भएको छ।
यसरी ललितपुरमा पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन्। अधिकांश घटनामा बालिका नै पीडित भएका छन्। सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालका अनुसार चैतमा मात्रै चार वटा करणीको जाहेरी दर्ता भएका छन्। उनले भने, ‘बालिका करणी गर्न खोजिएको घटना धेरै छन्।’ उनका अनुसार यस वर्ष सातदोबाटो वृत्तमा मात्रै सात वटा बलात्कारका घटना दर्ता भएका छन्।
चैतमा नै चार वटा बलात्कारका जाहेरी परेका छन्। तीमध्ये तीन घटनामा बालिका पीडित छन्। चैत ६ गते बागमती गाउँपालिका–४, प्युटारकी ७ वर्षीया बालिकालाई आफ्नै नाता पर्ने कृष्ण बमजनले करणी गर्न खोजेको आरोपमा पक्राउ गरी अदालतबाट थुना म्याद थपेर चापागाउँ प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ। घटनालगत्तै फरार बमजनलाई प्रहरीले मकवानपुरबाट समातेर ल्याएको थियो। चापागाउँ वृत्तका डीएसपी रवीन्द्र रेग्मीले उनीमाथि अनुसन्धान अघि बढेको जानकारी दिए।
रेग्मीका अनुसार सुनाकोठीमा ७ वर्षीया बालिकालाई ज्यामी काम गर्ने तराई मूलका एक व्यक्तिले फागुन अन्तिममा बलात्कार प्रयास गरेका थिए। चापागाउँ वृत्तको रेकर्डअनुसार गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परेका छन्। ‘कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन्’, रेग्मीले भने।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया