विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
सारांश
- काठमाडौं।
- नेकपा अध्यक्ष प्रचण्डले विप्लव समूहले आफूलाई मार्ने षडयन्त्र गरेको खुलासा गरे।
- वाइसिएल नेपालद्वारा नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले आफूलाई मार्ने षड्यन्त्र रचिएको बताएका हुन्।
काठमाडौं। नेकपा अध्यक्ष प्रचण्डले विप्लव समूहले आफूलाई मार्ने षडयन्त्र गरेको खुलासा गरे। वाइसिएल नेपालद्वारा नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले आफूलाई मार्ने षड्यन्त्र रचिएको बताएका हुन्।
केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीले विप्लव समूहले आफू र प्रचण्डलगायतका नेतालाई मार्ने योजना बनाएको सूचना आफूहरुले पाएको दाबी गरेका थिए। सरकारले उक्त सूचना पाएलगत्तै विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। विप्लवमाथिको प्रतिबन्धनलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि समर्थन गरेको छ।
प्रधानमन्त्री ओलीले विप्लव समूहले आफूहरुलाई मार्ने योजना बनाएको सूचना प्राप्त गरेको बताएको केही दिनमा नै प्रचण्डले पनि विप्लव समूहले आफूलाई मार्ने योजना बनाएको दाबी गरेका हुन्। ‘कतिपय साथीहरुले प्रचण्डले यसो गरेर यस्तो भयो, म पनि यस्तै गर्छु भन्दै हिँडेको सुनियो,’ बिहीबार प्रचण्डले भने, ‘प्रचण्ड बन्नलाई सजिलो छैन।’
प्रचण्डले भने, ‘हिजो सँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइन्युट भएको मलाई सूचना आएको छ। विप्लवले मलाई एक नम्बरमा टार्गेट गरेको सूचना आएको छ।’
प्रचण्डल विप्लवप्रति आक्रमक भएपनि विप्लवले बिहीबार राति जारी गरेको विज्ञप्तिमा भने प्रचण्डको नाम उल्लेख गरेका छैनन्। बरु उनले प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाप्रति भने कडा शब्द प्रयोग गरेका छन्।
उनले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताएका छन्।
आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उनले यो केपी–बादल कम्पनीको आपराधिक र षड्यन्त्रकारी निर्णय भएको दावी गरे।
गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेकपालाई कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
‘जनयुद्धका तत्कालिन नेतृत्व गरेका प्रचण्डहरु तुच्छ स्वार्थका लागि कांग्रेस, एमाले र भारतसँग घाँटी जोड्न पुगेदेखि हामीहरुले जनता र राष्ट्रको भविष्यको लागि क्रान्तिको झण्डा निरन्तर उठाउँदै २०७२ मा घोषित संविधानलाई अस्वीकार गर्दै आएका छौं’–विप्लवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चुनाव बहिष्कारयता राज्यबाट आफ्नो पार्टीका तीन कार्यकर्ताको हत्या भएको र तीन दर्जन भन्दा बढीलाई घाइते बनाएको दावी गर्दै विज्ञप्तीमा थपिएको छ–‘केपी–बादल कम्पनी’ देश र जनताविरुद्ध अपराधिक षडयन्त्र गरिरहेकाले त्यसप्रति गम्भीर ध्यान दिन बुद्धिजीवि, मानवअधिकार, पत्रकार, लोकतान्त्रिक, कम्युनिस्ट तथा देशभक्त शक्ति, प्रहरी र सेनासँग विशेष आग्रह गर्दछौँ ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया