एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०८०
|
|
२३ पटक हेरिएको
Shares
एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौं।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छन्।
  • पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले शाहले सुरु गरेको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छन्।

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले शाहले सुरु गरेको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छन्।

“हामी नेपाली कहिल्यै कसैको अधीनमा नपरेको राष्ट्रका नागरिक हुनुमा गौरवान्वित हुन सकेका छौं। एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न हामी सफल भएका छौं”, शुभकामना सन्देशमा भनिएको छ।

उनले एकीकृत र अखण्ड नेपाल निर्माण तथा स्वाधीनता रक्षाका लागि जीवन उत्सर्ग गर्ने वीर पूर्खाप्रति सम्मान प्रकट गरेकी छन्। पृथ्वीनारायण शाहले सुरु गरेको भौगोलिक एकीकरणको अभियानलाई अझ विस्तृत र व्यापक बनाई नेपाली जनताको भावनात्मक एकीकरणमार्फत मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत त्यसबाट तयार भएको उनको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मुलुकलाई स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र भएको राष्ट्र निर्माण गर्ने अभिभारा हाम्रो भएको उल्लेख गरेकी छन्।

“यस युगीन दायित्वलाई व्यवहारमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई निरन्तर बलियो बनाई जनताको सुख र समृद्धि हासिल गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?