खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको आग्रह: लापरबाहीले दृष्टि गुम्ने खतरा
सारांश
- बर्खे खेतीपातीको चटारो सुरु भएसँगै किसानहरूमा आँखाको गम्भीर सङ्क्रमणको जोखिम उच्च देखिएको छ ।
- नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र त्यस मातहतका उपचार केन्द्रहरूमा अचेल दैनिक आउने करिब १५ सय बिरामीमध्ये झन्डै ३० प्रतिशत त खेतबारीको काम गर्दा आँखामा चोटपटक लागेका र हिलो पसेका किसानहरू मात्रै हुने गरेका छन् ।
- मुख्य गरी असार र साउन महिनामा धान रोप्ने क्रममा खेतको हिलो र फोहोर पानी आँखामा छिर्दा यो स्वास्थ्य चुनौती देखा परेको हो ।
बर्खे खेतीपातीको चटारो सुरु भएसँगै किसानहरूमा आँखाको गम्भीर सङ्क्रमणको जोखिम उच्च देखिएको छ । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र त्यस मातहतका उपचार केन्द्रहरूमा अचेल दैनिक आउने करिब १५ सय बिरामीमध्ये झन्डै ३० प्रतिशत त खेतबारीको काम गर्दा आँखामा चोटपटक लागेका र हिलो पसेका किसानहरू मात्रै हुने गरेका छन् ।
मुख्य गरी असार र साउन महिनामा धान रोप्ने क्रममा खेतको हिलो र फोहोर पानी आँखामा छिर्दा यो स्वास्थ्य चुनौती देखा परेको हो । धान रोप्नका लागि खेत हिल्याउने र आली लगाउने क्रममा टाउकोमा लागेको हिलो वर्षाको पानीसँगै बगेर आँखामा पुग्ने गरेको छ । हिलो परेपछि आँखा मिच्दा नानीमा गम्भीर सङ्क्रमण भई दृष्टि नै गुम्न सक्ने खतरा बढेको चिकित्सकहरूको भनाइ छ ।
चितवनको भरतपुरस्थित मुख्य अस्पतालसहित कावासोती, ठोरी, चोरमारा, ईश्वरपुर र विभिन्न १९ वटा उपचार केन्द्रहरूमा यस्ता सङ्क्रमित बिरामीहरूको चाप बढेको छ । अस्पतालका निर्देशक डा. पुष्पा गिरी श्रेष्ठका अनुसार कतिपय किसानहरूले समस्या पर्नासाथ चिकित्सकको सल्लाहबिना नै आफैँ औषधि किनेर प्रयोग गर्ने गरेका छन् । यसरी जथाभाबी औषधि हाल्दा झन्डै पाँच प्रतिशत बिरामीमा आँखाको घाउ बढेर अल्सरको रूप लिने गरेको पाइएको छ ।
आँखामा हिलो वा कुनै पनि फोहोर वस्तु पसेमा तुरुन्त सफा पानीले पखाल्न र हातले किमार्थ नमिल्न उनीहरूले किसानहरूलाई विशेष अपिल गरेका छन् ।
कृषि कार्य गर्दा आँखाको सुरक्षामा हेलचेक्र्याइँ नगर्न र कुनै पनि समस्या देखिएमा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्र वा अस्पतालमा गई दक्ष स्वास्थ्यकर्मीबाट मात्र जाँच गराएर औषधि प्रयोग गर्न चिकित्सकहरूले सुझाएका छन् ।
प्रतिक्रिया