किन गुफा र सुरुङ चहार्दै हिड्छन् कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ?
सारांश
- सुर्खेत, ६ साउन ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना कर्णाली प्रदेशका लागि नमूना आयोजना हुने बताएका छन् ।
- शनिवार आयोजना निर्माण कार्यको अनुगमण तथा निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा सडक निर्माण तथा विद्युत उत्पादनका लागि सुरुङको प्रयोग जरुरी रहेको बताउँदै भेरी बबई डाइभर्सन आयोजना निर्माणको अनुभवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सुर्खेत, ६ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना कर्णाली प्रदेशका लागि नमूना आयोजना हुने बताएका छन् । शनिवार आयोजना निर्माण कार्यको अनुगमण तथा निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा सडक निर्माण तथा विद्युत उत्पादनका लागि सुरुङको प्रयोग जरुरी रहेको बताउँदै भेरी बबई डाइभर्सन आयोजना निर्माणको अनुभवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सुरुङबाटै भुरीगाउँ सुर्खेत सडक निर्माण गर्ने योजना बनाएको र चालु आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने बताए । त्यसैगरी ५ नं. प्रदेशको जमुनाहा कोहलपुर सुर्खेत हिल्सा सडक निर्माणको लागि पनि प्रदेश सरकार लागिपरेको उनले बताए । मुख्यमन्त्री शाहीले भने, “महत्वकाँक्षी सोच, आधुनिक प्रविधि, कर्तव्यनिष्ट मानवीय जनशक्तिको प्रयोग भएमा कर्णाली प्रदेशको विकास र समृद्धि टाढा नरहेको बताउँदै दृढ इच्छाशक्ति र महत्वाकांक्षी सोचसहित प्रदेश सरकार अगाडि बढेको छ ।”
तीब्र गतिमा विकासका लागि योजना निर्माण र कार्यान्वयनको पुरानो प्रक्रिया र कानुन पनि बाधक रहेको बताउँदै सार्वजनिक खरिद ऐनलाई पनि समयानुकूल परिवर्तन गर्नुपर्ने उनको भनाई छ । “ठूला आयोजनाको टेण्डर गर्दा १ महिनाको समय दिनुपर्ने कानुनी प्रावधान अहिले विद्यमान छ”, मुख्यमन्त्री शाहीले भने, ”सूचना प्रविधिको विकासले सेकेण्डभरमै विश्वका कुनै कुनामा पनि सहज पहुँच बनेको छ, । यातायातको विकासले महिनौं लाग्ने ठाउँमै एक दिनमै पुग्न सकिने भएको छ । अनि टेण्डर बुझाउन किन एक महिना समय दिने ?” योजना कार्यान्वयनका लागि दिइने समयाअवधि पनि घटाउनु पर्ने बताए ।
भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको लाभ वितरणका सम्वन्धमा पत्रकारले राखेको जिज्ञासामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको प्राकृतिक स्रोत, कर्णाली प्रदेशमै आयोजना निर्माण हुने भएकोले लाभको पहिलो हकदार पनि कर्णाली प्रदेशकै नागरिक हुने बताए । प्राकृतिक स्रोतसाधनको उपयोगका सम्बन्धमा संविधानमा प्रष्ट व्यवस्था रहेको बताउँदै मुख्यमन्त्री शाहीले भने, “जलविद्युतबाट प्राप्त हुने लाभ कर्णालीका नागरिकले पाउनुपर्छ । सिंचाईको लाभ छिमेकी प्रदेशले लिन्छ । यसको लागि केन्द्र सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।”
भेरी नदीको पानीलाई १२ किलोमिटर सुरुङमार्फत बबईमा डाइभर्सन गरी बाँके बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने र ४६ मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । आयोजना निरीक्षणका क्रममा आयोजना निर्देशक शिवकुमार बस्नेतले १२ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ५८५० मिटर सुरुङ निर्माण सम्पन्न भएको जानकारी दिए ।
चाइना ओभरसिज ग्रुप कम्पनी लिमिटेडद्वारा निर्माणाधीन आयोजनामा नेपालमै पहिलोपटक टनेल बोरिङ मेशिन (टीवीएम)को प्रयोगमार्फत सुरुङ निर्माण कार्य भइरहेको जानकारी दिँदै निर्देशक बस्नेतले लक्ष्य अगावै निर्माण कार्य पूरा गर्ने बताए । “प्रतिदिन १५ देखि २० मिटर निर्माणको लक्ष्य भएपनि अहिले अधिकतम प्रतिदिन ६० मिटरसम्म सुरुङ निर्माण गरेको रेकर्ड हामीसँग छ”, निर्देशक बस्नेतले भने, “निर्माण कार्य शुरु भएको छोटो समयमै ४९ प्रतिशत निर्माण कार्य पूरा भएको छ । अबको केही महिनाभित्र सुरुङ निर्माण कार्य पूरा हुन्छ ।”

Nataraj Budathoki
पुरखा खोजन