वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ: प्रचण्ड

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति नै आधिकारिक भएको बताएका छन् ।
  • तीन दिने भारत भ्रमण सकेर आइतबार दिउँसो स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीजीले जे भन्नुभएको छ, त्यही आधिकारिक हो ।

काठमाडौँ, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति नै आधिकारिक भएको बताएका छन् ।तीन दिने भारत भ्रमण सकेर आइतबार दिउँसो स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीजीले जे भन्नुभएको छ, त्यही आधिकारिक हो । मलाई त्यो भन्ने ‘अथ्योरिटी’ पनि छैन, मैले त्यसो भनेको पनि होइन ।’
प्रचण्डले भारत भ्रमण जानुअघि आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग मन्त्री हेरफेर हुनसक्ने संकेत गरेका थिए । तर, उनी भारतमा रहेका बेला प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल मन्त्रीहरु हेरफेर हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेका थिए ।

आइतबार अध्यक्ष प्रचण्डले आफूले पनि कार्यसम्पादन राम्रो नगरेको खण्डमा मन्त्रीहरु हेरफेर हुन सक्ने, कारवाही हुन सक्ने भनेको तर, अहिले नै हुन्छ नभनेको प्रष्टिकरण दिएका छन् । आफ्नो भारत भ्रमण समग्रमा फलदायी रहेको उनको दाबी छ । यसअघि फरक पार्टीको अध्यक्ष, प्रधानमन्त्रीको हैसियतमा आफूले पटक–पटक भारत भ्रमण गरेको स्मरण गर्दै उनले दुई तिहाई प्राप्त पार्टीको अध्यक्षको हैसियतले भने आफ्नो पहिलो विदेश भ्रमण रहेको बताए ।

उनले भारतमा आफूलाई निकै सम्मान मिलेको पनि बताए । ‘दुई तिहाईप्राप्त सरकार सञ्चालन गरिरहेको पार्टीको अध्यक्षलाई गर्ने सम्मान मैले पाएँ, एयरपोर्टदेखि नै स्वागत, सत्कार राम्रो गरियो’, प्रचण्डले भने । भारत भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेका थिए । भेटका क्रममा सबैले समृद्ध नेपालको चहाना व्यक्त गरेको अध्यक्ष दाहालले बताए । उनले भारतीय पक्षसँग नेपालको विकास र समृद्धीमा गर्न सक्ने सहकार्यका विषयमा कुराकानी भएको जानकारी दिए ।

सञ्चारकर्मीले सोधेको एक फरक प्रसंगमा उनले वृद्धभत्ता नबढाएको भनेर देशैभरबाट गुनासो आएपछि पुरक बजेट ल्याउने कि भन्ने छलफल भएको बताए । ‘जरुरी पर्‍यो भने पुरक बजेट ल्याउनुपर्छ भन्ने छलफल भएको हो’, अध्यक्ष दाहालले भने, ‘देशैभर म जहाँ गएँ त्यहाँ वृद्धभत्ता नबढाएको भन्ने गुनासो सुनियो, त्यही भएर वृद्धभत्ता बढाउनकै लागि पनि एउटा व्यवस्था त गर्न पर्छ भन्ने सन्दर्भमा यो कुरा आएको हो । अहिले नै निर्णय भइसकेको छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?