सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
सारांश
- भैरहवा (रुपन्देही)— ‘दुई दिनदेखी बीच बाटोमै अड्किएका छौं, घाईतेलाई कहिले हेलिकप्टरमा चढाउँछौं, कहिले ओराल्छौं, उपचार भन्दा झन् धेरै सास्ती पाए।
- घाईतेको अवस्था झन् गम्भिर बन्दै गएको छ।
- कसरी बचाउने होला,’ घाईतेका एक आफन्तले रुदै टेलिफोनमा भने।
भैरहवा (रुपन्देही)— ‘दुई दिनदेखी बीच बाटोमै अड्किएका छौं, घाईतेलाई कहिले हेलिकप्टरमा चढाउँछौं, कहिले ओराल्छौं, उपचार भन्दा झन् धेरै सास्ती पाए। घाईतेको अवस्था झन् गम्भिर बन्दै गएको छ। कसरी बचाउने होला,’ घाईतेका एक आफन्तले रुदै टेलिफोनमा भने।
सल्यानमा भएको बस दुर्घटनाका ९ जना गम्भीर घाईते बोकेर सोमबार दिउँसो ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट उडेको नेपाली सेनाको हेलिकप्टर मंगलबार अपरान्हसम्म काठमाडौं पुग्न सकेको छैन। काठमाडौंका लागि उडेको हेलिकोप्टर बीच बाटोमै रोकिँदा घाइतेहरु बीच बाटोमै अलपत्र परेका हुन्।
अलपत्र पर्नेमा त्रिवेणी गाउँपालिका लुहाम निवासी ३८ बर्षिया भुमा केसी, दाङ घोराहीका चुडामणि खत्री, मस्तबहादुर खड्का, निराजन खड्का, यामकुमारी ओली, दिपा ओली, पर्सराम ओली, अस्मिता बिक र १५ महिने शिशु सन्जु बिक छन्।
उक्त हेलिकप्टरले मौसम प्रतिकुलताका कारण दुई दिनदेखी ठाउँ–ठाउँमा आपतकालिन अवतरण गरेको छ। कोहलपुरबाट उडेको केहीबेरमा बाँके र दाङको सिमावर्ती क्षेत्र अमिलिया नजिकै अवतरण गरेको हेलिकप्टरले दुई दिनसम्म अर्घाखाँची, स्याङ्जा, भैरहवा लगायत स्थानमा आपतकालिन अवतरण गरेको हो। मौसम खराबीका कारण हेलिकप्टर मंगलबार पनि भैरहवा भन्दा अगाडी बढ्न नसक्ने नेपाली सेनाका पाईलटले बताएपछि गम्भीर घाइतेको अवस्था थप जटिल बन्दै गएको आफन्तले बताएका छन्।

‘सरकारले हेलिकप्टर पठाएर ठूलो गुण लगाएको थियो, नेपाली सेनाले पनि काठमाडौं लैजान सक्दो प्रयास गरेकै छ तर मौसमले साथ दिएन,’ घाईतेका आफन्त बिमला खत्रीले भनिन्। गम्भीर अवस्थाका घाईतेलाई कुरुवाहरुले भैरहवा मेडिकल कलेजमा तत्कालका लागि उपचार गराउन चाहेका छन् तर अधिकांसको साथमा पैसा छैन।
अस्पतालले सुरुमै प्रति घाईते १५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने शर्त राखेपछि उनीहरु अन्यौलमा छन्।
‘हेलिकप्टरले काठमाडौं पु¥याएको भए आफन्त र इष्टमित्रसँग ऋण सापटी गरेर उपचार गराउँला भन्ने आशा थियो, बीच बाटोमा आएर फस्यौं, कहाँबाट पैसा ल्याएर उपचार गर्ने ?’ आफन्तले भने। पाईलटले मंगलबार बेलुकासम्म पनि हेलिकप्टर उडाउन सम्भव नरहेको बताएपछि घाईतेका आफन्तहरु भैरहवामा तत्काल उपचार गराउने र मौसम खुलेपछि सोही हेलिकप्टरमा राजधानीतर्फ लाग्ने सोचमा छन्।
दाङबाट रुकुमतर्फ जादै गरेको ना ४ ख ५७५४ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिकास्थित टुनिबोट नजिकै आईतबार बिहान करिव डेढ सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको थियो। २८ जना घाईते भएका थिए।
वर्षका कारण राजमार्गबाट राजधानी लैजान कठिन भएको र हवाई जहाजको टिकट पनि नपाएपछि दुर्घटनाका गम्भीर घाइतेहरु यसअघि कोहलपुरमा अड्किएका थिए। घाइतेका आफन्तको याचनापछि सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएर उद्धार गरेको थियो।
प्रतिक्रिया