​सोमलालले निहुराएको राष्ट्रको शिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
१५ पटक हेरिएको
Shares
​सोमलालले निहुराएको राष्ट्रको शिर

सारांश

  • विशाल छेत्री मुख्यसचिव सोमलाल सुवेदीले आफ्नो पदावधि बाँकी छँदै फिलिपिन्सको मनिलास्थित एसियाली विकास बैंकको मुख्यालयमा वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान जाँदै छन् ।
  • मुलुकको कर्मचारीतन्त्रको सर्वोच्च पदमा पुग्नका निम्ति उनले जेजस्ता हत्कण्डा गरे, ती सम्झने हो भने आज जोकोही स्वाभिमानी राष्ट्रसेवकले लाजले शिर निहुराउनु पर्ने अवस्था छ ।
  • आज त्यसलाई समेत बिर्साउने गरी उनी एडीबीमा डलर लोभमा आफ्नो सम्पूर्ण स्वत्व राजनीतिक नेतृत्वको हातमा सुम्पिन पुगेका छन् ।
  • विशाल छेत्री

मुख्यसचिव सोमलाल सुवेदीले आफ्नो पदावधि बाँकी छँदै फिलिपिन्सको मनिलास्थित एसियाली विकास बैंकको मुख्यालयमा वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान जाँदै छन् । मुलुकको कर्मचारीतन्त्रको सर्वोच्च पदमा पुग्नका निम्ति उनले जेजस्ता हत्कण्डा गरे, ती सम्झने हो भने आज जोकोही स्वाभिमानी राष्ट्रसेवकले लाजले शिर निहुराउनु पर्ने अवस्था छ । आज त्यसलाई समेत बिर्साउने गरी उनी एडीबीमा डलर लोभमा आफ्नो सम्पूर्ण स्वत्व राजनीतिक नेतृत्वको हातमा सुम्पिन पुगेका छन् ।

उनका यी हर्कतले सिंगो राष्ट्रको शिर निहुराउने काम गरेको छ भने कर्मचारीतन्त्रमा अस्थिरता, अराजकता र राजनीतिक नेताको पिछलग्गु बन्ने प्रवृत्तिलाई थप प्रश्रय दिने भएको छ । निनिष्ठावान् कर्मचारी एवं प्रशासकहरुलाई यस्तो प्रवृत्तिले झन् निरुत्साहित बनाउनेछ ।
सुवेदीले बुझ्नुपर्ने हो, उनलेजस्तै थप आकर्षक पदको लोभ लीलामणि पौड्यालले गरेका भए सुशील कोइराला नेतृत्वको सरकार उनलाई के दिन तयार थिएन ? राजदूत, सभासद आदिको लोभ उनलाई नदेखाएका होइनन् । पदको प्रलोभनसँगै उनी आफ्नो स्वाभिमान त्याग्न तयार भएनन् ।

जुन दिनसम्मका लागि यो पदमा म नियुक्त भएको हुँ, त्यतिञ्जेल बस्छु भनेर उनले अडान लिए । उनले लिएको त्यही अडानको प्रतिफलस्वरुप आज सोमलाल सुवेदी मुख्यसचिव बन्न पाएका हुन् । यदि पौड्यालले आफ्ना पूर्ववर्ती भोजराज घिमिरेहरुले जस्तै गति छाडेका भए पद र आकर्षक सुविधा त पाउँथे नै, उनीपछि आउने मुख्यसचिवबाट समेत प्रशस्तै कृतज्ञता हासिल गर्थे । तर, सोमलालको ठाउँमा मुख्यसचिव भएर अर्कै व्यक्ति पुगेको हुन्थ्यो । सोमलाल आज स्थानीय विकास मन्त्रालयका केही परियोजनाको कन्सल्ट्यान्ट भएर झोला हल्लाउँदै सिंहदरबार भित्र—बाहिर गरिरहेका हुन्थे ।

यत्ति कुरा पनि सोमलालले बुझ्न सकेनन् । आफ्नो पदप्रति इमानदार बन्न नसक्ने, आफ्नो पदलाई सम्मान गर्न नसक्ने र आफ्नो मर्यादा आफैले राख्न नसक्ने व्यक्ति कसरी त्यो सर्वोच्च प्रशासकको कुर्सीमा बस्ने पुगे होलान् भनेर आज जिब्रो काढ्नुपर्ने अवस्था छ । सोमलाललाई लाग्दो, यो मुलुकमा आफूभन्दा जान्नेमान्ने व्यक्ति कोही छैन । त्यसैले उनी आज मिडियामा अन्तर्वार्ता दिइरहेका छन्, सरकारले खटाएपछि खटाएको ठाउँमा जानु कर्मचारीको बाध्यता हो । योभन्दा ढाँट कुरा अर्को के हुन सक्छ ? के नेपाल सरकारले मुख्यसचिवको सरुवा गरेको हो ? के एडीबीको वैकल्पिक कार्यकारी निर्देशक भन्ने पद नेपाल सरकार निजामती सेवाअन्तर्गतको पद हो ? आफू उक्त पद प्राप्त गर्न सुवेदीले केकस्ता सम्झौता राजनीतिक नेतृत्वसँग गरे भन्ने कुरा आमनागरिकलाई थाहा छैन र ?
सुवेदी जाँदाजाँदै विभिन्न मन्त्रालयका कोही प्रस्तावहरु रोकेर हिरो बन्न पनि नखोजेका होइनन् । तर, सुशासन ऐनको प्रयोगमा उनी सबैभन्दा निरीह मुख्यसचिव हुन् । अहिलेसम्म उनले कुनै सचिव वा मातहत कर्मचारीलाई दण्डित गर्न सकेका छैनन् । नसिहत वा चेतावनी दिन सकेका छैनन् ।

लीलामणि पौड्यालले सुरु गरेको बागमती सफाइसम्बन्धी स्वयंसेवी अभियानमा केही दिन फोटो खिच्न पुगे तर नतिजा देखिने काम केही गरेनन् । प्रचण्ड सरकारका नीतिगत भ्रष्टाचारहरुका सहयोगी बने । निष्ठावान प्रशासकहरुको हुर्मत लिने मन्त्रीहरुसँग एक शब्द राय बझाउन सकेनन् । बरु मन्त्रीले भनेअनुसारका निर्णय टिपेर आफ्नो जागिर पकाउन खोजे । इमानदार र निष्ठावान कर्मचारीलाई संरक्षण दिन नसक्नुभन्दा अर्को नालायकी मुख्यसचिवको के हुन्छ ?

मुख्यसचिव सुवेदीले राष्ट्रप्रति घात गर्ने काम गरेका छन्, भइरहेको पदभन्दा सानो पद रोजेपछि हालको पद त्याग्नुपर्ने हो । तर, एडीबीको जागिर पक्का गरिसकेपछि पनि उनी मुख्यसचिवका हैसियतले नेपाल सरकार मन्त्रिपरिषदको सचिवालय छाडेका छैनन् । कुनै पदमा रहनु वा नरहनु उनको व्यक्तिगत निर्णयको विषय मान्न नसकिने होइन ।

तर, सोमलाल अन्तर्राष्ट्रिय संस्थाको जागिरे व्यक्ति मन्त्रिपरिषदजस्तो मुलुकको सर्वोच्च कार्यकारी संरचनाको सचिवालयमा रहिरहँदा मुलुकको सार्वभौमसत्ताको हालत के हुन्छ ? मुलुकका संवेदशील सूचनाको गोपनीयताको सुरक्षा कसरी हुन्छ ? नेपाल राष्ट्रको हितमा काम गर्ने शपथ खाएर सेवा प्रवेश गरेका उनी बीचैमा नेपाल राष्ट्र र मुख्यसचिवको पदप्रति बीचैमा धोका दिएका छन् । उनी अर्कैप्रति वफादार भइसकेका छन् ।
त्यसै त नेपालको कर्मचारीतन्त्र दातामुखी भएको आरोप छ । कतिपय मन्त्रालयका सचिव र सहसचिवहरु दाताका गोटी बनेर काम गरिरहेका छन् । मन्त्रालयले आफै गर्न सक्ने काम पनि दातृ निकाय वा संघसंस्थाका तर्फबाट प्रपोजल माग गरेर आउट सोर्सिङ गर्ने, त्यसैमा आफू कन्सल्ट्यान्ट बन्ने, विदेश घुम्ने, तारे होटल र रिसोर्टहरुमा सपरिवार सयर गर्ने/गराउने सामान्य बनेको छ ।

कतिपय सचिव—सहसचिवहरु दातृ निकाय र नेपाल सरकार दुवैतिरबाट दोहोरो तलब थाप्छन् । सरकारको मानो खान्छन् र परियोजनाका गाडी चढ्छन् । यो हदसम्मको लालची प्रवृत्ति कर्मचारी तन्त्रमा हुर्किएको छ । त्यसमाथि भावी पदका निम्ति जस्तोसुकै सम्झौता गर्न तयार हुने लुप्त प्रवृत्ति मुख्यसचिवले नै प्रदर्शन गरेपछि बाँकी कर्मचारीहरुमा नैतिकता, इमानदारिता, वफादारिता, राष्ट्रभक्ति खोज्नु भनेको व्यर्थ छ । सोमलालले यो प्रवृत्ति झनै निकृष्ट तहमा प्रदर्शन गरे ।

पूर्वमुख्यसचिव विमल कोइरालाले मुख्यसचिव छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको सचिवालजस्तो बनाएको आरोप लागेको थियो । यस्ता अनगिन्ती शृंखला छन्, जसले मुलुकको स्वतन्त्र व्यक्तित्व र निर्णय क्षमतालाई अन्तर्राष्ट्रिय समुदायको हातमा सुम्पिएका ।

पूर्वमुख्यसचिव भोजराज घिमिरेले आफ्नो स्वार्थका निम्ति के मात्रै गरेनन् । पछिल्लो समयमा कर्मचारी प्रशासनमा देखिएका विकृतिका ८० प्रतिशत कारक तिनै घिमिरे थिए । गिरिजाप्रसाद कोइरालादेखि ट्रेड युनियनहरुलाई खुसी पार्ने नाममा उनले के मात्रै गरेनन् ? अन्ततः आफ्ना लागि दूतावास नै नभएको क्यानाडामा राजदूतावास खोल्न लगाएर त्यसमा आफ्नो नियुक्ति निश्चित गरेर मुख्यसचिवबाट विदा भए । जुन मुलुकको राजदूतावास नेपालमै छै, उसकोमा राजदूतावास राख्नु र राख्न लगाउनु भनेको कूटनीतिमा पारस्परिकताको सिद्धान्तविपरीत हो ।

नेपाल कम्तीमा त्यो स्तरसम्म झर्नुपर्ने होइन, जुन मुलुकले सम्मान दिँदैन र पारस्परिकता निभाउँदैन, उसकहाँ आवासीय दूतावासै खोलेर कूटनीति निभाउनु परोस् । भोजराज घिमिरेका निम्ति खोलिएको त्यो दूतावासका कारण मुलुकलाई अटूट रुपमा वार्षिक करोडौँ व्ययभार थपिएको छ र राजनीतिक नेताका आसेपासेलाई भाग पु¥याउने एउटा नयाँ ठाउँ सिर्जना भएको छ । योभन्दा ठूलो राष्ट्रप्रतिको घात अर्को के हुन सक्छ ? राष्ट्रको हितमा काम गर्न, राष्ट्रको सम्मान उँचो पार्नका निम्ति दिइएको यो उच्च पदमा भएकै व्यक्तिले यो हदसम्म राष्ट्रप्रति घात गर्छ भने अरुबाट के अपेक्षा गर्ने ?

अहिले मुख्यसचिव सोमलाल सुवेदी भावी मुख्यसचिव कसलाई बनाउने भनेर क्यालेन्डर हेरेर बसेका छन् र मनिला उड्ने दिन गन्दै छन् । सत्ताधारीहरुको इशारामा उनी आफ्नो दैनिकी चलाइरहेका छन् । आफ्नो व्यक्तिगत हैसियत कुनै बाँकी नरहेपछि अरुको इशारामा चल्नु स्वाभाविक परिणति पनि हो । तर, संसारमा योभन्दा निकृष्ट अवस्था संसारको कुनै मुलुकले झेलेको होला, जहाँ सोमलालजस्ता व्यक्ति मुख्यसचिवको पदमा पुग्छन् ।

साभार : दृष्टि साप्ताहिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो
भारतीय सेनालाई कालापानीमा शरण दिइएको तथ्य पुर्वराजपरिवारबाट बाहिरियो
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
आयुर्वे्दिक उपचारमा आकर्षण बढ्दै
आयुर्वे्दिक उपचारमा आकर्षण बढ्दै
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
“नेपाली जेल भित्रको भित्री हाउगुजी” -निर्मल घिमिरे
“नेपाली जेल भित्रको भित्री हाउगुजी” -निर्मल घिमिरे
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !
के चिनियाँ रेल नेपाल आउला ?
के चिनियाँ रेल नेपाल आउला ?

तपाईंले छुटाउनुभयो कि?