अध्यक्षको कुर्सी राहुललाई सुम्पिनु हतार कि आवश्यकता ?
सारांश
- राहुल गान्धी छिट्टै नै कांग्रेसको अध्यक्ष बन्न सक्ने भएका छन् ।
- अध्यक्ष पदका लागि चुनाव हुन बाँकी रहे पनि राहुल गान्धीको नाममा अध्यक्ष पदको मोहर लाग्ने लगभग निश्चित भएको बीबीसीले जनाएको छ ।
- भारतीय कांग्रेसमा सधैं नेहरू–गान्धी परिवारको वर्चस्व रहँदै आएको छ ।
राहुल गान्धी छिट्टै नै कांग्रेसको अध्यक्ष बन्न सक्ने भएका छन् । अध्यक्ष पदका लागि चुनाव हुन बाँकी रहे पनि राहुल गान्धीको नाममा अध्यक्ष पदको मोहर लाग्ने लगभग निश्चित भएको बीबीसीले जनाएको छ ।
भारतीय कांग्रेसमा सधैं नेहरू–गान्धी परिवारको वर्चस्व रहँदै आएको छ । उनलाई अध्यक्ष पद दिन सकिने खबरबाट कसैलाई असहज नभए पनि गुजरात चुनावका दौरान राहुल गान्धीलाई कुर्सी सुम्पिन किन हतार गरिँदै छ भन्ने सवाल यतिबेला आम मानिसमा उत्पन्न भएको छ ।
भारतका वरिष्ठ पत्रकार रामकृपाल सिंहले भन्छन्, ‘‘राहुलले भ्याएसम्मको शक्ति गुजरातमा लगाएका छन् । गुजरातमा मतदान हुनै लाग्दा उनलाई पार्टी अध्यक्ष बनाउने निर्णय किन लिइँदै छ भन्ने बुझ्न गाह्रो छ ।’’
तर, उनले कांग्रेसमा राहुल गान्धीबाहेक अध्यक्ष पदका लागि अर्को विकल्प नभएको स्वीकार गरेका छन् । ‘‘कांग्रेसमा गान्धी परिवारबाट कोही योग्य भए उक्त व्यक्ति पार्टी अध्यक्षका लागि मान्य हुन्छ । नत्र अरु कांग्रेसका नेताहरु आफू पनि अध्यक्ष बन्न सक्ने सोच राख्न सक्छन्,’’ सिंहले भने ।
को हुन् राहुल ?
नेहरू–गान्धी परिवारका राहुल गान्धी पाँचौं पिँढीका सदस्य हुन । अखिल भारतीय कांग्रेस समितिका अध्यक्ष बन्ने नेहरू–गान्धी परिवारका उनी छैटौं व्यक्ति हुनेछन् ।
१३२ वर्ष पुरानो पार्टी कांग्रेसको नेतृत्व ४५ वर्षसम्म नेहरू–गान्धी परिवारका सदस्यहरुको हातमा रहिसकेको छ । यो परिवारमा सोनिया गान्धी सबैभन्दा लामो समय अर्थात् १९ वर्षसम्म कांग्रेस प्रमुख रहिसकेकी छन् ।
जवाहरलाल नेहरू ११ वर्षसम्म कांग्रेसका अध्यक्ष रहेका थिए । यसका अलावा इन्दिरा गान्धी सात वर्ष, राजीव गान्धी छ वर्ष र मोतीलाल नेहरू दुई वर्ष कांग्रेस प्रमुख बनेका थिए ।
भाजपाका नजरमा मात्रै राहुल नेता
सुक्ष्म ढंगले हेर्दा भारतमा राहुल गान्धीलाई केवल भारतीय जनता पार्टीले मात्रै नेता मानेको छ । अहिलेसम्म भारतका अन्य कुनै पार्टीले सन् २०१९ का लागि राहुल गान्धीलाई नेता मानेका छैनन् । मुलायम सिंह, मायावती, लालू यादवलगायत नेताहरुको नजरमा राहुल गान्धी नेता बन्न सकेका छैनन् ।
हतार किन ?
वरिष्ठ पत्रकार सिंहले राहुल गान्धीलाई हतारमा अध्यक्ष पद सुम्पिनु भन्दा गुजरात चुनावको नतिजा आउन दिनुपर्नेमा जोड दिए । ‘‘मैले कांग्रेसको टाइमिङ बुझ्न सकेको छैन् । गुजरात चुनाव आउनै लागेको छ । राहुललाई अध्यक्ष बनाउन किन हतार गर्नुपथ्र्यो ? चुनावको नतिजा त आउन दिनुपर्ने,’’ उनले भने ।
कांग्रेसले कसलाई अध्यक्ष बनाउँछ, त्यो उसको आन्तरिक मामिला भएको बताउँदै सिंहले यसबारेमा भाजपाले कुनै प्रतिक्रिया जनाउन आवश्यक नभएको जिकिरसमेत गरे ।
भाजपालाई केवल कांग्रेसबाट खतरा
भारतमा केवल कांग्रेसले मात्रै विपक्षीको भूमिका निभाउन सक्छ भन्ने यथार्थ भाजपाले भुल्न नहुने वरिष्ठ पत्रकार सिंहको बुझाइ छ । ‘‘भाजपालाई यो सम्झिन जरुरी छ कि हिन्दुस्तानमा यदि कुनै विपक्षी चल्न सक्छ भने त्यो केवल कांग्रेसको छातामुनी मात्रै चल्न सक्छ,’’ उनले भने ।
सिंहले पीभी नरसिंह रावदेखि मनमोहन सिंहसम्म बहुमत नभए पनि कांग्रेसकै नेतृत्वमा अल्पमतको सरकार बनेको उदाहरण पनि दिए । क्षेत्रीय पार्टीको नेतृत्वमा बन्ने सरकारले कहिल्यै पनि पाँच वर्ष पूरा गर्न नसक्ने उनको भनाइ छ ।
अत्यन्तै कमजोर अवस्थामा कांग्रेस
भाजपाले कांग्रेसमाथिको आक्रमण जारी राख्ने रणनीति बनाएको छ । कांग्रेसलाई कमजोर बनाउन सके आफ्नो नेतृत्वमा अन्य पार्टीहरुलाई गोलबद्ध गरेर सरकार बनाउन असफल हुने भाजपाको बुझाइ छ ।
भारतमा भाजपाले बनाएको रणनीति केही हदसम्म सफल पनि भएको छ । पश्चिम बंगाल, बिहारमा कांग्रेसले अहिलेको जस्तो अवस्था यसअघि कहिल्यै भोग्नुपरेको थिएन । अहिले कांग्रेससँग अन्य पार्टीलाई मिलाएर सरकार बनाउने हैसियत नै छैन । अधिकांश राज्यहरुमा कांग्रेस तेस्रो अथवा चौथो पार्टीको हैसियतमा खुम्चिएको छ ।
Baburam Sapkota
पराजयको मानसिकताहो