आज ६८औं प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
आज ६८औं प्रजातन्त्र दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

सारांश

  • काठमाडौं, ७ फागुन – आज फागुन ७ अर्थात् ६८औं प्रजातन्त्र दिवस ।
  • ६८ वर्ष पहिले १०४ वर्षै निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिन ।
  • प्रजातन्त्र दिवसको अवसरमा सरकारले टुँडीखेलमा विविध कार्यक्रमका साथ मनाउँदैछ ।

काठमाडौं, ७ फागुन – आज फागुन ७ अर्थात् ६८औं प्रजातन्त्र दिवस । ६८ वर्ष पहिले १०४ वर्षै निरंकुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिन ।

प्रजातन्त्र दिवसको अवसरमा सरकारले टुँडीखेलमा विविध कार्यक्रमका साथ मनाउँदैछ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ६८औँ प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना दिएकी छिन् ।

प्रजातन्त्र स्थापना सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा चारजनालाई मृत्युदण्ड दिइएको थियो । एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा ‘आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् ।’ प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा २००७, २०४६ र २०६२/६३ सालमा सफल आन्दोलन भएका र सङ्घीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धतिमा रहेको उल्लेख छ ।
राष्ट्रपति भण्डारीले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात/अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सहिदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार शुभकामना सन्देश दिंदै देशलाई लामो समयसम्म निरंकुश जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवस मनाउन सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

सन्देशमा आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार देशमा विकास र समृद्धि ल्याउनेमा दृढ रहेको उल्ल्ेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?