किन रोकियो सरकार विस्तार
सारांश
- बुटवल : मन्त्रालय व्यवस्थापनको काम नसकिएपछि प्रदेश ५ को सरकार विस्तार पछि धकेलिएको छ।
- मन्त्रालयमा आउनुपर्ने कर्मचारी समयमा नआएको तथा नयाँ भवनमा पूर्वाधारको काम नसकिएकाले तत्काल मन्त्री थप नहुने भएको हो।
- मुख्यमन्त्री शंकर पोखरेलले पूर्वाधार व्यवस्थापनपछि मात्रै सरकार विस्तार गर्ने जानकारी दिए।
बुटवल : मन्त्रालय व्यवस्थापनको काम नसकिएपछि प्रदेश ५ को सरकार विस्तार पछि धकेलिएको छ। मन्त्रालयमा आउनुपर्ने कर्मचारी समयमा नआएको तथा नयाँ भवनमा पूर्वाधारको काम नसकिएकाले तत्काल मन्त्री थप नहुने भएको हो।
मुख्यमन्त्री शंकर पोखरेलले पूर्वाधार व्यवस्थापनपछि मात्रै सरकार विस्तार गर्ने जानकारी दिए। ‘भौतिक पूर्वाधारको व्यवस्थापनपछि सरकार विस्तार हुन्छ’, उनले भने। एउटा मन्त्रालयबाहेक अन्यको भवन व्यवस्थापन भए पनि कुन भवनमा कुन मन्त्रालय राख्ने विषय अझै टुंगिएको छैैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा पाँच मन्त्रालय राख्ने तयारी छ। तत्कालका लागि ६ वटै मन्त्रालयका बोर्ड झुन्ड्याइएको छ। प्रदेश ५ मा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिमण्डल बन्ने तय भइसकेको छ।
सरकार विस्तारका लागि पार्टीगत रूपमा कुन मन्त्रालय कसले पाउने भन्ने टुंगो लागिसकेको छ। केन्द्रमा भएको सहमतिअनुसार एमालेले ४ र माओवादी केन्द्रले २ मन्त्रालय पाउने छन्। प्रदेश सरकारले दुई मन्त्री थप गर्दै नौ मन्त्रालय बनाउने विषयमा अहिले छलफल गरिरहेको छ। ‘मन्त्रालय राख्न भवन तयार छ तर कुन मन्त्रालय कुन स्थानमा राख्दा सहज हुन्छ भन्ने अझै टुंगो लागेको छैन’, सरकारका प्रवक्ता बैजनाथ चौधरी भने, ‘भवन व्यवस्थापन हुनासाथ सरकार हुने भएकाले यसका लागि अझै एक साता लाग्छ।’
मुख्यमन्त्री पोखरेलले शपथग्रहणसँगै तीन सदस्यीय मन्त्रिमण्डल बनाएका थिए। माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी र एमालेका बैजनाथ चौैधरीले क्रमशः आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका छन्। मुख्यमन्त्रीको पदभार ग्रहणसँगै पोखरेलले मन्त्रालय राख्ने भवनको खोजी सुरु गरेका थिए। हाल मन्त्रालय राखिएको दरबारमार्गको छ तले पनि मन्त्रालयका आवश्यक फर्निचर व्यवस्थापन भइसकेको छैन।
मुख्यमन्त्रीसहित दुई मन्त्री हाजिर हुँदासम्म मन्त्रालय व्यवस्थापन गर्न कर्मचारी आएका छैैनन्। प्रदेश ५ का लागि खटिएका १ सय ७४ कर्मचारीमध्ये जम्मा ३० प्रतिशतमात्रै हाजिरी भएको बताइएको छ। मन्त्री कार्यकक्षमा पुग्दासमेत सचिवको अत्तोपत्तो छैन। ‘भौतिक पूर्वाधार मन्त्रालयका सचिव अझैै आउनुभएको छैन’, प्रमुख सचिव शंकर पाठकले भने, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवले काजमा काम गर्नुभएको छ।’
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ दरबन्दीमध्ये १० कर्मचारी आएका छन्। मन्त्रालयका सचिव थानेश्वर गौैतमले चार जना कर्मचारी आइनपुगेको जानकारी दिए। मन्त्रालयमा दरबन्दीअनुसार अझैै चार कर्मचारी खटाइएको छैन। कार्यालय सुचारु गरेका मन्त्रालयले ऐन, कानुनको मस्यौदा तयार गर्न सुरु गरेका छन्।
प्रदेश सरकारका लागि यातायातका साधन र तल्लो तहका कर्मचारीको अभाव खड्किएको छ। केन्द्रबाट ११ वटा गाडी आए पनि कतिपय कामै नलाग्ने थोत्रा भएको प्रमुख सचिव पाठकले बताए। ‘चलाउनै नमिल्ने खालका गाडी आएका छन। त्यस्ता गाडी राख्नु कि फिर्ता गर्नु भन्ने अवस्था छ’, उनले भने। गाडीका चालक र कार्यालय सहयोगी नहुँदा समस्या भएको उनले जानकारी दिए।अन्नपूर्ण पोस्ट बाट
प्रतिक्रिया