के राजपा सरकारमा सहभागी हुन्छ ?
सारांश
- काठमाडौं।
- राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुन तीनवटा शर्त अघि सारेको छ।
- समाजवादी पार्टीले सरकारबाट राजीनामा दिएसँगै राजापाले सरकारमा सहभागी हुन सर्त अघि सारेको हो।
काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा सहभागी हुन तीनवटा शर्त अघि सारेको छ।
समाजवादी पार्टीले सरकारबाट राजीनामा दिएसँगै राजापाले सरकारमा सहभागी हुन सर्त अघि सारेको हो। राजपाका महासचिव केशव झाले संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक र रेशम चौधरी लगायतलाई रिहा गर्ने शर्तहरूमा सरकार सकारात्मक देखिएमा सहभागी हुन सकिने संकेत गरे। ‘राष्ट्रियसभामा दुई बुँदे सहमति भएको छ। सहमतिको दोस्रो बुँदामा सहकार्य गर्न सकिने भनेर उल्लेख गरिएको छ । सरकार हाम्रा सर्त मान्न तयार भयो भने जे पनि हुन सक्छ’, उनले भने। समाजवादी पार्टीका मन्त्रीहरूले संविधान संशोधनको मुद्दा सरकारले अस्वीकार गरेका कारण राजीनामा दिएको बताइरहेका बेला राजपाको यस्तो प्रतिक्रिया आएको हो।
राजपाले समाजवादीको राजीनामा र सरकारमा सहभागी हुने नहुने कुराको कुनै तारतम्य नभएको पनि बताएको छ। महासचिव झाले भने, ‘राजपाले केही गर्ने नगर्ने र समाजवादीको राजीनामाको कुनै तारतम्य छैन । पहिले नै राजीनामा दिनुपर्ने थियो तर हेपाई खाएपछि निकालिएको हो । उसको राजीनामासँग वा निकालिनुसँग हाम्रो कुनै सार छैन।’
प्रदेश–२ को सत्तासमीकरणका विषयमा अहिले नै केही भन्न नसकिने उनले बताए। ‘तत्कालै त के हुनु । केही हुने लक्षण त छैन। नेकपासँग सहकार्य गर्ने निर्णय भएको छ। सहकार्य अगाडि बढाउन हाम्रा सर्त मान्यो भने तुरुन्त पनि सहकार्य अगाडि बढ्न सक्छ।’
११ गते प्रक्रिया सुरु गर्ने तयारी भइरहेका बेला राजपासँग पनि उम्मेदवारका विषयमा आन्तरिक छलफल सुरु भएको नेकपा स्रोतको भनाइ छ। यता, राजपाले भने सभामुख उपसभामुख चुनावका लागि कुनै सहमति नभएको बताउँदै आएको छ। ‘हाम्रो पार्टीले उम्मेदवार उठाउने कुनै निर्णय गरेको छैन । अरू दलहरूले उम्मेदवार तोकेपछि के गर्ने भन्ने विषयमा हामी निर्णय गर्छौं । हामी उम्मेदवार नबनेपछि भएकैलाई सहयोग गर्ने हो’, महासचिव झाले भने।
प्रतिक्रिया