खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
१६ पटक हेरिएको
Shares
खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा

सारांश

  • काठमाडाै, ३१ वैशाख ।
  • राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले निष्क्रिय राष्ट्रिय खेलकुद सङ्घको दर्ता खारेज गर्ने बताएका छन् ।
  • विष्टले अन्तर्राष्ट्रिय पदकविजेता खेलाडीहरूलाई सम्मान गर्ने क्रममा उक्त कुराको खुलासा गरेका हुन् ।

काठमाडाै, ३१ वैशाख । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले निष्क्रिय राष्ट्रिय खेलकुद सङ्घको दर्ता खारेज गर्ने बताएका छन् ।

विष्टले अन्तर्राष्ट्रिय पदकविजेता खेलाडीहरूलाई सम्मान गर्ने क्रममा उक्त कुराको खुलासा गरेका हुन् । विष्टको यो खुलासासँगै खेलकुदमा निष्क्रिय रहेका सङ्घका पदाधिकारी र सङ्घलाई मागिखाने भाँडो बनाउँदै गैरकानुनी कार्य गर्दै आएकाहरूको अहिले होस उडेकाे अड्कल गरिरएकाे छ ।

परिषद्मा दर्ता हुने तर लामो समयसम्म निष्क्रिय रहेका र खेलकुदका कुनै गतिविधि नगर्ने राष्ट्रिय खेलकुद सङ्घहरूको छानबिन भइरहेको सो अवसरमा विष्टले बताए । सङ्घसंस्था विभागले त्यस्ता सङ्घहरूको छानबिन गरिरहेको र विभागले छानबिन गरी सिफारिस गरेपछि त्यस्ता सङ्घहरूको दर्ता खारेज गरिने विष्टले जानकारी गराएका छन् ।

यतिबेला परिषद्मा दुई सयको हाराहारीमा राष्ट्रिय खेलकुद सङ्घहरू दर्ता भएका छन् । तीमध्ये औँलामा गन्न सकिने सङ्घहरू मात्र सक्रिय छन्, जसले आफ्नो उद्देश्यअनुरूप खेलकुदको विकास र विस्तारमा योगदान दिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सक्रिय रूपमा सहभागिता जनाएका छन् । खेलको नामबाट राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सफल भएका छन् । त्यस्ता सङ्घहरूलाई विशेष प्राथमिकतामा राखिने विष्टले जनाएका छन् ।

त्यस्तै अन्य सङ्घहरूको हकमा परिषद्मा दर्ता भए पनि त्यसको दुरुपयोग सङ्घका पदाधिकारीहरूले गर्दै आएको विष्टले खुलासा गरेका छन् । उनीहरूले खेलकुद सङ्घको आडमा विभिन्न गैरकानुनी र मेनपावरको धन्दा गरेर खेलकुदलाई नै बदनाम गर्ने काम गरेको चर्चा गर्दै विष्टले त्यस्ता सङ्घहरूको पहिचान गरी दर्ता खारेज गरिने बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमले खेलकुद मेनपावरको अखडामा परिणत भएको समाचार संप्रेषण गर्दै आएका थिए । खेलकुदजस्तो रचनात्मक ठाउँमा सिर्जनात्मक कार्य गर्नुको साथै मेनपावरको अखडा बनाउन खोज्नु दुर्भाग्यपूर्ण हो । यदि यस्तो गतिविधिमा राष्ट्रिय सङ्घका पदाधिकारीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन् भने उनीहरूलाई कारबाहीको दायरामा ल्याइने विष्टले उल्लेख गरे ।

यस्तो गैरकानुनी गतिविधिमा चर्चित सङ्घहरूको सहभागिता देखिए त्यस्ता सङ्घका पदाधिकारीलाई पहिले चेतावनी दिने र नमानेमा कडा कारबाही गर्ने पनि बताए । वर्तमान अवस्थामा खेलकुदका चर्चित सङ्घका पदाधिकारीहरू पनि मेनपावरको धन्दामा लिप्त रहेको गोप्य सूचना राखेपलाई प्राप्त भएको खुलासा गर्दै त्यस्ता पदाधिकारीहरूलाई सच्चिनसमेत विष्टले अनुरोध गरेका थिए ।

यतिबेला विष्ट यस्तो अभिव्यक्ति जाहेर गरेर सार्वजनिक रूपमा चर्चामा आए पनि कार्यान्वयन पक्षमा कति सफल हुन्छन् त्यो हेर्न लायक भएको छ ।

विष्टले सङ्घको दर्ता खारेज गर्ने कुरा जति सहज रूपमा भने त्यसको कार्यान्वयन पक्ष त्यत्तिकै जटिल र चुनौतीपूर्ण छ । त्यसका लागि उनले फलामकै चिउरा चपाउनुपर्ने देखिन्छ । तर, यस्तो चुनौतीका बाबजुद पनि विष्ट यो कार्य गर्नमा सफल भए उनको स्वर्णकालको योजनामा चार चाँद लाग्ने पक्का छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?