खेलकुद परिषदका सदस्य सचिव बिष्ट मानव तस्करीमा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
खेलकुद परिषदका सदस्य सचिव  बिष्ट मानव तस्करीमा !

सारांश

  • काठमाडौं, १२ भदाै।
  • खेलाडीका नाममा गैरखेलाडीहरुलाई विदेश पठाउने धन्दामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट नै मुछिएको प्रमाण फेला परेको छ ।
  • च्याउसरी दर्ता गरिएका २ सय भन्दा बढी संघको काम नै खेलाडी भनेर गैरखेलाडी विदेश लाने हुँदैआएको छ ।

काठमाडौं, १२ भदाै। खेलाडीका नाममा गैरखेलाडीहरुलाई विदेश पठाउने धन्दामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट नै मुछिएको प्रमाण फेला परेको छ । च्याउसरी दर्ता गरिएका २ सय भन्दा बढी संघको काम नै खेलाडी भनेर गैरखेलाडी विदेश लाने हुँदैआएको छ । जसका कारण अन्तराष्ट्रमा नेपालको बेइज्जत हुने गरेको छ । सदस्य सचिव बिष्टले परिषद्को स्वीकृति नलिई नै जापानमा खेलाडीका नाममा गैरखेलाडी जान लागेकाले जापान जानबाट रोक्नका लागि गएको साउन २ मा अध्यागमन विभागलाई पत्र लेखेका थिए । एकसातापछि साउन ८ मा पुनः बिष्टले रोक्का लिष्टबाट हटाई खेलाडीलाई जापान जान अनुमति दिन अध्यागमन विभागलाई अर्को पत्र लेखेका थिए ।

सदस्य सचिव बिष्टले प्रवेशाज्ञा रोक्न पत्र पठाएको एक सातापछि पुनः जापान जान दिनु भनेर अर्को पत्र लेख्ने काम गरेपछि अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी नै आश्चर्यमा परेका छन् । मार्सल नेपाल आर्टस सेल्फ डिफेन्स संघबाट २६ जुलाइदेखि ३० जुलाईसम्म हुने डब्लुकेकेएफ कोसिका कराँते डो सेमिनारमा भाग लिनका लागि ८ जनाको नाम सहित भिसा आइसकेको अवस्थामा सो भीषा रोक्न सदस्य सचिवले पत्र पठाएका थिए । पत्रमा सदस्य सचिव बिष्टले आफ्नो कीर्ते हस्ताक्षर गरी जापानको राजदूताबासमा पेश गरी भिसा सेक्सनबाट भिसा समेत लिइसकेको बुझिन आएकाले परिषदको कुनै स्वीकृति नभएको हुँदा अबिलम्ब उक्त मुलुकमा सहभागिताका लागि प्रवेशाज्ञामा रोक लगाई अनुमति नदिन अनुरोध गरेका छन् ।

सदस्य सचिवको कीर्ते हस्ताक्षर गरी दूताबासमा पेश गरेको संगीन आरोप लगाएका स्वयं सदस्य सचिव बिष्टले एक हप्तामै पुनः ती खेलाडीलाई जापानमा जान अनुमति दिन अर्को पत्र लेखेर तमासा देखाएका छन् । सेल्फ डिफेन्स संघका अध्यक्ष डीबी रानापाल नेपाली र कोषाध्यक्ष सन्जु महर्जनले प्रतिब्यक्ति १५ लाख रुपैयाँसम्म लिएर जापानमा खेलाडीका नाममा लैजान लागेको आरोप लागेको छ । सुरुमा सदस्य सचिव बिष्टलाई नै भागबण्डा गर्नेगरी सेटिङ मिलाएर स्वीकृति लिए पनि भागबण्डा नमिलेपछि उनले आफ्नो कीर्ते हस्ताक्षर दूताबासमा पेश गरेको भन्दै अध्यागमन विभागलाई जापान जानबाट रोक्न पत्राचार गरेका थिए । तर नेपाली र महर्जनले कबोल गरेअनुसार बुझाएपछि सदस्य सचिव बिष्टले पुनः जापान जान अनुमति दिनू भनेर अर्को पत्र पठाएका थिए । यसरी सेल्फ डिफेन्स संघबाट जापान जान लागेका खेलाडीहरुमा सुकुमान लामा, नाम्गेल शेर्पा, विपिन सुनाम, लक्ष्मी लामा, भीमबहादुर रानामगर, अर्जुनकुमार मगर, चन्द्रबहादुर थापामगर र अर्जुन पुन छन् ।

सदस्यसचिवको कीर्ते हस्ताक्षर पेश गरी भिसा लिएको भनेर रोकिएपछि नेपाली र महर्जनले बिष्टसँग रातारात कुरा मिलाएर पुनः अर्को पत्र लेखाएका थिए । जापानमा खेलाडीको नाममा गैरखेलाडीसँग पैसा लिएर लान लागेपछि रोकिएकोबारेमा संघका कोषाध्यक्ष सन्जु महर्जनले भनिन्–हामीले वास्तविक खेलाडीलाई नै लानका लागि अनुमति मागी भिसा लगाएका हौं । तर अर्को कुनै संघको गलत कुरा सुनेर सदस्य सचिव बिष्टले अध्यागमन कार्यालयमा पत्र लेख्नुभयो । पछि यथार्थ कुरा भनेपछि पुनः खेलाडीलाई जानका लागि अनुमति दिन पत्र पठाउनुपरेको हो । म सेल्फ डिफेन्स संघको कोषाध्यक्ष हुँ । हामीले धेरै दुःख गरेका छौं । विदेशमा खेल्न जान लाग्दा गलत कुरा सुनाएर हाम्रा वास्तविक खेलाडीलाई रोक्न खोजिएकाले हामी जापान गएनौं । यदि तपाई पासपोर्ट हेर्न चाहनुहुन्छ भने म देखाउन सक्छु । कोही पनि जापान गएको छैन । बरु हाम्रा विरुद्ध जसले राखेपमा गलत कुरा सुनाए, उनीहरुले खेलाडीका नाममा गैरखेलाडीलाई विदेश पठाउने गरेका छन् । हामीले वास्तविक खेलाडी पठाउन खोज्दा दुःख दिन खोजेका हुन् ।

खेलाडीको भेषमा प्रतिब्यक्ति १५ लाख लिएर पठाउन लागेको आरोपबारे उनले भनिन्, यसमा कुनै सत्यता छैन । म डिफेन्स संघको मुख्य प्रशिक्षक पनि हुुँ । म दाबाका साथ भन्छु, खेलाडी नै जान लागेका थिए । तर अनावश्यक विवाद निकालेपछि पठाएनौं । राष्ट्रिय खेलकुद परिषद अन्तर्गतका खेलकुद संघहरु मानवतस्करीमा बेला बेलामा मुछिने गरेका छन् । यसअघि दानबहादुर घिसिङ कोरियामा मानवतस्करीको आरोपमा संघबाट निलम्बन भए । तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ मानवतस्करीमा मुछिएका अर्का पात्र हुन् । तेक्वान्दोको नाममा विदेश गएका खेलाडीलाई उतै छाड्नेमा उनी विवादमा पर्दैआएका छन् । क्यानडा गएका यादव कुँवर तथा दक्षिण कोरिया गएका मानध्वज लामा, रामकुमार पाण्डे, खम्बा राई, रमेश शाही र प्रमोद मानन्धर तेक्वान्दो संघमार्फत् गए पनि फर्किएका छैनन् । गुरुङमाथि पूर्व प्रहरी र सेनाको नक्कली प्रमाणपत्र बनाएर मकाउमा मानवतस्करी गरेको आरोप पनि छ ।

(दृष्टि साप्ताहिक बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?