गठबन्धन भत्किएपछि संकटमा सिटौला !
सारांश
- ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजय बेहोरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला त्यसको एक दशकपछि पुनः संकटमा परेका छन् ।
- मंसिर २१ गते हुने निर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सिटौलालाई जित हात पार्न त्यति सजिलो छैन ।
- एमाले, माओवादी केन्द्र र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि संकट चुलिएको हो ।
०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजय बेहोरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला त्यसको एक दशकपछि पुनः संकटमा परेका छन् । मंसिर २१ गते हुने निर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सिटौलालाई जित हात पार्न त्यति सजिलो छैन । एमाले, माओवादी केन्द्र र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि संकट चुलिएको हो ।
०४८ सालदेखि झापाबाट निर्वाचित हुँदै आएका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उम्मेदवार पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए । यद्यपि, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने सिटौला झापा–३ बाटै विजयी भएका थिए ।
तर, यसपटक स्थिति सहज छैन । दोस्रो संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन यसपटक पनि सिटौलासँगै भिड्दैछन् । लिङ्देनले यसपटक एमाले र माओेवादी केन्द्रको समेत समर्थन पाएपछि सिटौला झस्किएका हुन् ।
नेपाली कांग्रेसभित्र तेस्रो धारको रुपमा आफूलाई स्थापित गराउँदै लगेका सिटौलालाई पार्टीले समानुपातिकको सूचीमा राखे पनि उनले त्यसलाई अस्वीकार गर्दै प्रत्यक्ष चुनावमा होमिने निर्णय लिए । सिटौला भन्छन्, ‘जित–हारको फैसला जनताले गर्नेछन् तर, मैले जनताकै चाहनाको प्रतिनिधित्व खोजेको हुँ ।’
यसपटकको निर्वाचन सिटौलाका लागि चुनौती र अवसर दुबै एकसाथ आएको प्रतित हुन्छ । किनभने उनकै कारण राप्रपासँग पार्टीको सम्बन्ध बिग्रन पुग्यो भने तिनै राप्रपाका महामन्त्री लिङ्देनसँग उनको प्रतिष्पर्धा हुँदैछ । पार्टीभित्र तेस्रो धारको प्रतिनिधित्वको विषयलाई टिकाइराख्न सिटौलालाई यसपटक चुनाव जित्नैपर्ने बाध्यता पनि छ ।
सिटौलामा अंकगणित
राप्रपा वाम गठबन्धनसँग मिसिएपछि यसपटक यहाँ लिङ्देन बलिया देखिएका छन् । स्थानीय तहको मतपरिणामलाई हेर्ने हो भने यस क्षेत्रमा वाम गठबन्धन (एमाले, माओवादी केन्द्र र राप्रपा)ले ४३ हजार ६ सय ३० मत पाएको देखिन्छ ।
कांग्रेस नेता सिटौलाको गृहनगरसमेत रहेको यस क्षेत्रमा कांग्रेसले हार बेहोरेको थियो । यहाँबाट कांग्रेसले १८ हजार २ सय ६० मत पाएको थियो । यस आधारमा हेर्ने हो भने सिटौलाभन्दा लिङ्देन २५ हजार ३ सय ७० मतले अगाडि देखिन्छन् । यस क्षेत्रमा १ लाख १४ हजार ५ सय ८६ मतदाता छन् ।
हाल यस क्षेत्रमा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्दछ । स्थानीय तहको निर्वाचनमा बाह्रदशीमा कांग्रेस विजयी भएको थियो । तर, सिटौलाको क्षेत्रमा पर्ने हल्दिबारी र कचनकवल गाउँपालिकामा राप्रपाले जित हात प¥यो । भद्रपुरको १, २, ३, ६ र ७ मा एमालेले बाजी मारेको थियो भने वडा नम्बर ४ मा माओवादी तथा ५ र ८ मा कांग्रेस विजयी भएको थियो ।
लोकतान्त्रिक गठबन्धन भत्किपछि संकटमा
एमाले र माओवादी केन्द्रबिच चुनावी गठबन्धन भएसँगै कांग्रेसले पनि राप्रपासँग गठबन्धन गरेको थियो । तर, झापामा कांग्रेस–राप्रपा गठबन्धन केही दिन पनि टिक्न सकेन । राप्रपा महामन्त्री लिङ्देन र कांग्रेस नेता सिटौलाले एउटै निर्वाचन क्षेत्र (झापा–३) रोजेपछि गठबन्धन भत्किएको हो । झापा–३ मा राप्रपा महामन्त्री लिङ्देन उम्मेदवार बन्ने कांग्रेससँग सहमति भएको थियो । तर, लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै कांग्रेसका पूर्व महामन्त्री सिटौला असन्तुष्ट बने ।
सिटौलाको नाम यसपटक कांग्रेसले समानुपातिक सूचीको पहिलो नम्बरमा राखिदिएको थियो । तर, सिटौलाले आफ्नो क्षेत्र नछाड्ने अड्डी कसेपछि कांग्रेसले समानुपातिक सूचीबाट उनको नाम हटाएको थियो ।
लगत्तै राप्रपा झापा जिल्ला कार्यसमितिको बैठक बसेर कांग्रेससँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको थियो । त्यसै दिन वाम गठबन्धनले लिङ्देनलाई समर्थन गर्ने निर्णय लिएपछि सिटौला अतालिएका हुन् । लोकतान्त्रिक गठबन्धन ताडिएसँगै झापामा कांग्रेसलाई ठूलो धक्का लाग्ने चर्चा सुरु भएको छ ।
‘सिटौलासँग चुनाव लडेर जित्ने ठूलो धोको थियो, यसपटक पूरा हुने नै भयो,’ राप्रपाका उम्मेदवार लिङ्देन भन्छन्, ‘यो क्षेत्रमा म कति खटेको छु भन्ने जनतालाई राम्रोसँग थाहा छ, राप्रपाले यसपटक झापाबाट खाता खोलेर देखाउँछ ।’
सिटौला–लिङ्देन सम्बन्ध
०४६ सालयता यी दुई नेताको सम्बन्ध कहिल्यै सुमधुर भएको दखिँदैन । त्यसबेला सिटौला झापाको राजनीतिमा स्थापित भइसकेका थिए । त्यसताका मेची क्याम्पसमा पञ्चातय विरुद्धको आन्दोलनका क्रममा पञ्चायत समर्थित विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी मण्डलले अवरोध ग¥यो । सोही क्रममा राम थापाको मृत्यु भएको थियो । हाल सिटौलाले यो मुद्दालाई चुनावी एजेन्डा बनाउन खोजेको झल्को पाइन्छ । यो घटनालाई सिटौलाले लिङ्देनको नाम जोडेर चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रयासरत् देखिन्छन् ।
यो क्षेत्रमा पञ्चायतकालमा भएको निर्वाचनमा स्वर्गीय द्रोणाचार्य क्षेत्रीले जितेका थिए । त्यसयता आएर एकपटक एमालेका पुष्प पोखरेलले चुनाव जिते । ०४६ पछि भएको संसदीय निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र वामपन्थी लीला उदासीले सिटौलासँग प्रतिष्पर्धा गरे पनि उदासीले जित्न सकेनन् ।
जव झापाको राजनीतिमा लिङ्देन उदाए, त्यसयता आएर सिटौला र लिङ्देनबिच टक्कर पर्दै आएको छ । ०५६ को आम चुनावबाट झापा–१ बाट उठेका सिटौलाविरुद्ध पनि लिङ्देन नै खडा भएका थिए । त्यतिबेला पनि सिटौला नै विजयी भए । ०६४ को पहिलो संविधानसभाको चुनावमा माओवादीका पूर्णसिंहसँग सिटौला पराजित हुँदा भने लिङ्देन उम्मेदवार थिएनन् ।
प्रतिक्रिया