गृहमन्त्रीकै आडमा वडाध्यक्षले गर्दैछन् तस्करी!

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
गृहमन्त्रीकै आडमा वडाध्यक्षले गर्दैछन् तस्करी!

सारांश

  • ललितपुर – जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ।
  • उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

ललितपुर – जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो। आजको नागरिक दैनिकमा खबर छ ।

उनीहरूले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ। वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र ‘टोले गुन्डा’ हरु प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन्। ‘तस्करको कुरा माथिसम्म पुग्ला भनेर बाहिरी मान्छेलाई यहाँ प्रवेश गर्र्नै दिँदैनन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘यो बगरबाट दैनिक सय टिपरभन्दा बढी बालुवा निकासी भइरहेको छ।’ उनका अनुसार यो खानी पूर्ण रुपमा अवैध हो। बागमती किनार छेउछाउको करिब सय रोपनी जग्गा कब्जामा लिएर टहरा निर्माण गरिएको छ । त्यस्तै ती जग्गामा बालुवा, गिटी र ढुंगा भण्डारण भइरहेको छ। आफ्नो धारमा बगिरहेको बागमतीलाई दायाँतर्फ फर्काएर बालुवा झिक्ने कार्य भइरहेको छ। अचेल त्यहाँ बा ३ ख ४४०४, बा २ ख ९७७६, ग १ ख ६६७७ लगायतका टिपरले बालुवा ओसारिरहेका छन्।

जनप्रतिनिधि नै तस्करीमा संलग्न भएपछि अवैध खानी कसले रोक्ने भन्ने प्रश्न उठेको छ। लगनखेल बजारबाट ७ किमिको दुरीमा पर्ने उक्त क्षेत्रमा भइरहेको बालुवा तस्करी नियन्त्रणमा न त जिल्ला प्रशासन कार्यालयको ध्यान पुगेको छ न त नगरपालिकाको नै।

जिल्ला अधिकारी महादेव पन्थ बालुवाखानीको निगरानी गरी त्यसको रेकर्ड राख्ने मुख्य निकाय गोदावरी नगरपालिका रहेको बताए। उनले भने, ‘हामीले डुकुछापको उक्त खानी बन्द गर्न भनेर नगरपालिकालाई पत्र काटेका थियौं। तर नगरपालिकाले यसबारे चासो दिएन।’ उनका अनुसार नगरभित्रका सबै खानीको निगरानी गर्ने, स्वीकृति दिने, बन्द गर्ने जिम्मा नगरपालिकाकै हो। ‘हामीले जिल्लाका धेरै खानी अवैध भएपछि बन्द गर्न नगरपालिकालाई निर्देशन दिएका थियौं। तर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको आदेश मानेन। यसको अपजस हामीमाथि आइलागेको छ।’

नागरिककर्मी शनिबार उक्त क्षेत्रका रिपोर्टिङ गर्न पुग्दा तस्करहरुले धमाधम बालुवा ओसरिरहेका थिए। वडाध्यक्ष लामाले आफूहरुले विकासका लागि खानी सञ्चालन गरेको जबाफ दिए। उनले भने, ‘यहाँका स्थानीयका धेरै समस्या छन्, ती समस्या हामीले पूरा गर्दै आएका छौं। खानी सञ्चालन गरेर स्थानीयलाई राहत पनि दिएका छौं। फोहर नदीको बालुवा झिकेर के नै जान्छ र?’ उनले गोदावरीका नगरपालिकाको स्वीकृतिमा आफूहरुले बालुवा निकालेर बेच्ने गरेको बताए। ‘नगरपालिकाले स्वीकृति दिएको छ, त्यही भएर हामीले बालुवा निकालेर सहरसम्म पु¥याउने गरेका छौं।’

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उक्त खानीलाई कुनै पनि किसिमको स्वीकृति नदिएको दाबी गरे। ‘हामीले ठगी धन्दा गर्ने सञ्चालकलाई जथाभाबी अनुमति दिएका छैनौं,’ उनले भने, ‘कतिपयले मनपरी रुपले अवैध खानी सञ्चालन गरेका छन् भने बन्द गरेरै छाड्छौं।’ उनले अहिले खानीको विषयमा धेरै विवाद आएकाले नगरपालिकाले कडाइ गरेको बताए। मेयर महर्जनका अनुसार दिनेश लामाले कुनै पनि निकायबाट स्वीकृति नलिई सार्वजनिक जग्गा मिचेर खानी सञ्चालन गरिरहेका छन्।

वडाअध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश हुन्। खानीमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको पनि लगानी छ। दुई वर्षअघिदेखि सञ्चालित उक्त बालुवाखानी कम्पनी रजिस्टारको कार्यालयमा पनि दर्ता छैन।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Narendra Tandan

    बिकास को मूल फुटदै छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?