चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
सारांश
- अध्ययन गर्न यही साता चिनियाँ टोली काठमाडौं आउँदै कोटेश्वर–कलंकी सडक निर्माणमा जुटेको चीन सरकारले अब चक्रपथको बाँकी भाग पनि निर्माण गर्ने भएको छ ।
- यसका लागि चिनियाँ प्राविधिक टोली यही साता काठमाडौं आउने भएको छ ।
- सडक विभागअन्तर्गतको वैदेशिक समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चक्रपथको बाँकी खण्ड निर्माणका लागि अध्ययन गर्न करिब ५ जनाको चिनियाँ प्राविधिक टोली काठमाडौं आउँदै छ ।

अध्ययन गर्न यही साता चिनियाँ टोली काठमाडौं आउँदै
कोटेश्वर–कलंकी सडक निर्माणमा जुटेको चीन सरकारले अब चक्रपथको बाँकी भाग पनि निर्माण गर्ने भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोली यही साता काठमाडौं आउने भएको छ ।
सडक विभागअन्तर्गतको वैदेशिक समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चक्रपथको बाँकी खण्ड निर्माणका लागि अध्ययन गर्न करिब ५ जनाको चिनियाँ प्राविधिक टोली काठमाडौं आउँदै छ । ‘चीन सरकार चक्रपथको बाँकी खण्ड निर्माण गर्न उत्सुक छ,’ उनले भने, ‘४ देखि ५ जनाको टोली यही साताभित्र काठमाडौं आउनेछ र सडकको अध्ययन गर्नेछ ।’
चीन सरकारको करिब ५ अर्ब रुपैयाँ अनुदानमा चक्रपथको कोटेश्वर–कलंकीसम्मको १० किमि सडकखण्ड दु्रत गतिमा निर्माण भइरहेको छ । बाँकी रहेको १७ किमि सडकखण्ड निर्माण गर्न पनि चीन सरकार नै उत्सुक देखिएको छ । अध्ययनका लागि आउने विज्ञ टोलीले बाँकी रहेको सोही खण्ड अध्ययन गर्नेछ । सडकको सम्भाव्य नक्सा बनाउनेछ र अनुमानित लागत रकम निकाल्नेछ । सोही आधारमा चीनले सडक निर्माणका लागि ऋण या अनुदानमध्ये के दिन सकिन्छ त्यसको टुंगो लगाउनेछ ।
‘चीन सरकारकै अनुदानमा कोटेश्वर–कलंकी सडक बन्दै छ । बाँकी भाग पनि उनीहरूले नै बनाउने भनेका छन्,’ महाशाखा प्रमुख श्रेष्ठले भने, ‘टोलीले सडक कस्तो बनाउने ? कति खर्च लाग्ने ? लगायतका विषय अध्ययन गरी पत्ता लगाउनेछ । चीन सरकारले त्यसपछिको विषय टुंग्याउनेछ ।’
महाशाखाका अनुसार अध्ययन टोलीको प्रतिवेदनलगत्तै चक्रपथको बाँकी खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन हुन्छ । कोटेश्वर–कलंकी खण्डको निर्माणकार्य पूरा हुँदासम्म बाँकी खण्डको डिपिआर तयार भइसक्नेछ । डिपिआर पास भएलगत्तै निर्माणकार्य अघि बढ्नेछ । महाशाखा प्रमुख श्रेष्ठले कोटेश्वर–कलंकी खण्डको काम पूरा भएसँगै बाँकी खण्डको काम सुरु हुने बताए ।
उनले भने, ‘अध्ययन टोलीले प्रतिवेदन तयार गर्नेछ । त्यसपछि डिपिआर अध्ययन हुनेछ । यसका लागि केही महिना लाग्नेछ । यसवेलासम्ममा कोटेश्वर–कलंकी सडकखण्डको काम पनि लगभग पूरा हुनेछ । त्यहीआसपासमा चक्रपथको बाँकी खण्डको काम सुरु हुनेछ ।’
महाशाखाका अनुसार चक्रपथको बाँकी खण्ड कोटेश्वर–सूर्य विनायक सडकखण्डको ढाँचामा बनाइनेछ । यो ढाँचा अन्यभन्दा बढी सुरक्षित देखिएकाले चक्रपथको बाँकी खण्ड निर्माणका लागि यही ढाँचा छनोट गरिएको महाशाखा प्रमुख श्रेष्ठले बताए । उनले भने, ‘सुरक्षाको दृष्टिले कोटेश्वर–सूर्यविनायक सडकको ढाँचा ठीक देखियो । चक्रपथको बाँकी खण्ड पनि यस्तै खालको बनाउने मनस्थिति बनेको छ । प्राविधिकलाई हामी यही सुझाब दिन्छौँ । त्यसपछि काम होला ।’
प्रतिक्रिया