जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ११, २०७९
|
|
२९ पटक हेरिएको
Shares
जनसंख्या वृद्धिदर ०.९२ प्रतिशतले घट्यो

सारांश

  • काठमाडौं ।
  • कालापानी, लिपुलेक, लिम्पियाधुराको पनि जनगणना गर्ने उद्घोष गरिए तापनि सरकारले सो क्षेत्रबाहेकको जनगणनाको अन्तिम रूप सार्वजनिक गरेको छ ।
  • शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुराको पनि जनगणना गर्ने उद्घोष गरिए तापनि सरकारले सो क्षेत्रबाहेकको जनगणनाको अन्तिम रूप सार्वजनिक गरेको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक संकलनको प्रयास गरे पनि सही मापन नभएकाले कालापानी, लिम्पियाधुरा, लिपुलेक राष्ट्रिय जनगणनामा समावेश नभएको भनाइ राष्ट्रिय तथ्यांक कार्यालयको रहेको छ ।

१२औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरुष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिंगीको संख्या २ हजार ९ सय २८ छ ।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९ सय २ कम अर्थात् २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो । जनगणना प्रतिवेदनअनुसार नेपालको जनगणना वृद्धिदर हालसम्मकै सबैभन्दा कम देखिएको छ ।

बसाइँसराइ र महिलाहरूको प्रजनन दरमा आएको ह्रास तथा ढिलो विवाहका कारण १० वर्षको सरदर जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यसपटक जनसंख्या वृद्धिदर नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । पछिल्लो जनगणनाअनुसार १९९८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत थियो ।

२०६८ सालको जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकामा यसपटक भने ०.९२ प्रतिशत पुगेको छ । १० वर्षमा नेपालको जनसंख्या २६ लाख अर्थात् १० प्रतिशतले बढेकोे हो । जनसंख्या वृद्धिदर २०४८ मा २.०८, २०५८ सालमा २.२५ र २०६८ सालमा १.३५ प्रतिशत थियो ।

जनसंख्या वृद्धिदरमा आएको कमीले भोलिका लागि योग्य र उत्पादनशील जनशक्तिको अभाव हुने हो कि भन्ने चिन्ता पैदा गरेको तथ्यांकशास्त्री बताउँछन्। तथ्यांक कार्यालयका अनुसार मानिसको औसत आयु बढेको छ । महिलाको प्रजननदरमा कमी आएको छ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा ५ हजार ६ सय ८५ जना मानिस छन् ।

भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६ सय २४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९ सय ४८ जना) जनसंख्या रहेको छ ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बाग्मती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ ।

१० वर्षमा सहरी जनसंख्या १७ बाट ६६ प्रतिशत
१० वर्षमा नेपालको सहरी जनसंख्या १० वर्षमा उथलपुथल भएको छ । २०६८ सालको जनगणनाअनुसार १७ दशमलव ८ प्रतिशत सहरी जनसंख्या रहेकोमा २०७८ मा आएर यो संख्या ६६.१७ प्रतिशत पुगेको छ ।

गत वर्षको आर्थिक सर्वेक्षणमा सहरी जनसंख्या ५९.९ प्रतिशत पुगेको थियो । २०७८ को जनगणना अनुसार नगरपालिकाहरूमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत रहेको हो भने गाउँपालिकामा बस्ने जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । यसअघि २०६८ को जनगणनामा ५८ वटा मात्र नगरपालिका रहेकोमा सोहीअनुसार सहरी जनसंख्या विश्लेषण गरिएको थियो ।

२०६८ को जनगणनामा ८२.९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो ।

कम उमेरको संख्या घट्दै
राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणअनुसार कम उमेरको संख्या घट्दै गएको र बढी उमेरका जनसंख्या बढदै गएको देखिएको छ ।

२६ प्रतिशत परिवार मोबाइलविहीन
नेपालमा साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ मात्रै रहेको छ । अहिलेको जीवनको पर्यायका रूपमा रहेको मोबाइल फोन २६ प्रतिशत जनतासँग नदेखिएको हो । ७२.९४ प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन भएको विवरण आएको छ । त्यस्तै, कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन र ३७.७२ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा उपलब्ध रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

परिवार संख्या ६६ लाख ६६ हजार
देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९ सय ३७ छन् । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३ सय २ रहेको थियो ।

जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८ सय ४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।

परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ ।

बाग्मतीमा बढी कर्णालीमा कम
तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ ।

प्रदेशगत रूपमा बाग्मती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । यसैगरी, मधेस प्रदेशमा दोस्रो ठूलो जनसंख्या (२०.९७ प्रतिशत) रहेको छ ।

लुम्बिनीको जनसंख्या ५१ लाख २२ हजार ७८ रहँदा कोसी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेको छ । कर्णालीमा भने जनसंख्या १६ लाख ८८ हजार ४ सय १२ रहेको छ ।

साक्षरता दर ७६.३ प्रतिशत
देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।

६२.५ प्रतिशत जनता आर्थिक काममा संलग्न
१० वर्ष वा सोभन्दा बढी उमेरका २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ जना व्यक्तिमध्ये १ करोड ४९ लाख ८३ हजार ३ सय १० (६२.५ प्रतिशत) जनाले गणना भएको १२ महिनाअघिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् जसमध्ये ४१.० प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७.५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छैनन् ।

३३.१ प्रतिशत अविवाहित
नेपालमा १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन्, जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत छन् ।

त्यस्तै, १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरुष र महिला उनीहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्ति (३४.४ प्रतिशत)को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्ति २२.३ प्रतिशत छन् । १० वर्षमुनिको उमेरमा पहिलो विवाह भएका व्यक्ति ०.३ प्रतिशत छन् ।

२.२ प्रतिशत व्यक्ति अपांगता
कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता रहेको पाइएको छ । अपांगता भएका व्यक्तिमध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् ।

दाउरा प्रयोग गर्ने जनसंख्या ५१ प्रतिशत
खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ तथा बिजुली, गुइँठा, बायोग्याँस, मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ प्रतिशत छन् ।

१९.५ प्रतिशत जनसंख्या कम्तीमा १२ पास
नेपालको कुल जनसंख्याको १९.५ प्रतिशत व्यक्ति कम्तीमा १२ कक्षा उत्तीर्ण रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार १९.५ प्रतिशत जनसंख्या कम्तीमा एसईईभन्दा माथिल्लो तह उत्तीर्ण रहेको देखिएको हो ।

जनसंख्या बढी र कम भएका जिल्ला
काठमाडौंपछि ठूलो जनसंख्या भएको जिल्लामा मोरङ रहेको छ । मोरङ जिल्लाको जनसंख्या ११ लाख ४८ हजार १ सय ५६ रहेको छ । रूपन्देही जिल्लाको जनसंख्या ११ लाख २१ हजार ९ सय ५७ रहेको छ ।

झापाको जनसंख्या ९ लाख ९८ हजार ५४ रहेको छ । पाँचौं धेरै जनसंख्या भएको जिल्ला सुनसरीको जनसंख्या ९ लाख २६ हजार ९ सय ६२ रहेको छ ।

मनाङपछि दोस्रो कम जनसंख्या भएको जिल्लामा मुस्ताङ हो । मुस्ताङ जिल्लाको जनसंख्या १४ हजार ४ सय ५२ रहेको छ । डोल्पाको जनसंख्या ४२ हजार ७ सय ७४ रहेको छ । रसुवा जिल्लाको जनसंख्या ४६ हजार ६ सय ८९ रहेको छ । पाँचांै कम जनसंख्या भएको हुम्ला जिल्लाको जनसंख्या ५५ हजार ३ सय ९४ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला
कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने
माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने
Trump’s Reckless Tweets vs. Pakistan’s Democratic Hopes
Trump’s Reckless Tweets vs. Pakistan’s Democratic Hopes
करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति
करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति
पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण
पूर्व ज्ञानेन्द्रलाई नभेटेको प्रचण्डको स्पष्टीकरण
संकटकालीन अभ्यासका लागि विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने
संकटकालीन अभ्यासका लागि विमानस्थलमा आधा घण्टा सेवा बन्द हुने

तपाईंले छुटाउनुभयो कि?