डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

सारांश

  • मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ ।
  • चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ ।
  • समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ ।चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ ।वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष जगतमान घिसिङ परिवारसहित अमेरिका गएको थियो ।

अध्यक्ष घिसिङको राजीनामा समयमा नआएकाले उपनिर्वाचनका लागि समस्या भएको निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।निर्वाचन कार्यालयका प्रमुख पौडेललले राजीनामा जुनसुकै माध्यमबाट आए पनि त्यो हस्तलिखित हुनुपर्ने र हस्तलिखित नहुँदा मान्य नहुने प्रावधान रहेको बताउनुभयो । उक्त वडामा उपनिर्वाचन हुन शुरूदेखिकै कुनै पनि प्रकिया नभएको प्रमुख पौडेलको भनाइ छ ।

अध्यक्ष घिसिङ निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा)परेर अमेरिका उड्नुभएको थियो । उडेको पाँच महिनापछि मात्र घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिनुभएको गाउँपालिका प्रमुख हिदम लामाले जानकारी दिनुभयो । शुरुमा अमेरिका गएको भन्दै तीन महिनाका लागि बिदा लिनुभएका वडाध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिकामै रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि राजीनामा दिन बाध्य भएर इमेलमा राजीनामा पठाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “घिसिङले इमेलमार्फत त राजीनामा पठाउनुभयो, तर हस्तलिखित राजीनामा पठाउन पनि आलटाल नै गर्नुभयो ।”

भदौमा इमेलमार्फत राजीनामा दिनुभएका घिसिङको असोजको आधाआधीमा पनि लिखित राजीनामा नआएको जनाइएको छ । असोजमा उम्मेदवार छनोटको तीव्र तयारी भइरहेको तर राजीनामा नआउँदा उपनिर्वाचन गराउन समस्या रहेको बताइएको छ । देशमा उपनिर्वाचन गराउने तयारी भइरहेको अवस्थामा समेत घिसिङले हस्तलिखित राजीनामा नपठाएका कारण उक्त वडामा उपनिर्वाचन नहुने भएको छ ।

उक्त वडामा विसं २०७४ भएको वडाध्यक्षको निर्वाचनमा नेकपाका जगतमान घिसिङको ५४१ मत थियो भने दोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राउतले २२३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै नेपाली काङ्ग्रेसका दिपेशकुमार विश्वकर्माले १९१ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?