दयाकृष्ण राईको अश्वेत महावाणी सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७८
|
|
२४ पटक हेरिएको
Shares
दयाकृष्ण राईको अश्वेत महावाणी सार्वजनिक

सारांश

  • कवि तथा लेखक दयाकृष्ण राईद्वारा लिखित कविता कृति ‘अश्वेत महावाणी’ जाती, धर्म, वर्ण र रङ्गभेद विरुद्धको चोटिलो प्रहार गर्ने सशक्त पुस्तक भएको साहित्यकार तथा समालोचकले बताएका छन् ।
  • नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा बुधवार राजधानीमा आयोजित विमोचन गरिएको हो ।
  • नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काईँलाले उक्त कविता सङ्ग्रहलाई नेपाली पनको बेलायती पुस्तक भएको उल्लेख गर्दै पुस्तकलाई नेपालका लागि साहित्यिक रेमिट्यान्सको संज्ञा दिए ।

कवि तथा लेखक दयाकृष्ण राईद्वारा लिखित कविता कृति ‘अश्वेत महावाणी’ जाती, धर्म, वर्ण र रङ्गभेद विरुद्धको चोटिलो प्रहार गर्ने सशक्त पुस्तक भएको साहित्यकार तथा समालोचकले बताएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा बुधवार राजधानीमा आयोजित विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काईँलाले उक्त कविता सङ्ग्रहलाई नेपाली पनको बेलायती पुस्तक भएको उल्लेख गर्दै पुस्तकलाई नेपालका लागि साहित्यिक रेमिट्यान्सको संज्ञा दिए ।

उनले उक्त पुस्तकमार्फत लेखकले ज्ञान दिएर नेपालीलाई सबल बनाउन सहयोग गरेको बताए ।

उनले विश्व परिभेष हेरेर लेखिएको पुस्तकले रङ भेदका विभिन्न अवतार संसारभर फैलिएर रहेकाले एक अर्कामा त्यस विषयमा भएका गुनासा हट्नुपर्छ, नेपालमा मात्रै होइन विकसित देशसमेतमा रङ्भेद कायमै छ भन्ने सन्देश दिएको बताए ।

उनले थप्नुभयो, “निमुखाले पनि आफ्नो कुरा भन्ने दिन आयो, हामी किन हेपियौँ, थिचियौँ, पिल्सियौँ भन्ने कुरा कविले दुई शब्दमा नै कुरा उठाई दिनुभएको छ ।”

यो कवि राईको छैठौँ कृति हो । कवितामा तेस्रो हो । छ खण्डमा कविता सङ्ग्रहित छ । पहिचान, युद्ध, यौन, भूकम्प, कोभिडलगायत विषय कविताका विषय भएका छन् । पुस्तकमा फुटनोटसमेतको प्रयोग गरेर नौलो अभ्यास भएको छ । जसबाट जो कोहीले पनि कविता सजिलै बुझ्नसक्ने खालको छ ।

पुस्तकबारे चर्चा गर्दै समाचोचक प्रा.डा. गोविन्दराज भट्टराईले लेखक राईले विश्व चेतनाबाट प्रेरित भएर कविता लेखेको पाइएको र यस्ता कविता उहाँ नेपाल मै भएको भए नबन्ने जिकिर गरे ।

उनले भने, “विश्वको गति र मानवीय स्थितिको समयचेत कवितामा छ, मेरो तेरो भन्ने कुरा विश्वव्यापीकरणले चुँडिएको छ, अहिले हामी सबै एक हौँ भन्ने सन्देशसहितको उच्च वैचारिक र बौद्धिक चेतछ ।”

उनका अनुसार यस्तो खालको कविता नेपालमा नआएको र यसलाई समयचेतका विज्ञबीच राखेर बहस गर्नुपर्नेमा सुझावसमेत दिए ।

पुस्तकको समीक्षा गर्दै समालोचक डा हरिप्रसाद सिलवाल भन्छन्, “आज पनि मानिस आधुनिक दास भएर बाँच्न विवश छन्, मान्छेमान्छे बीच जाती, धर्म र रङ्गका आधारमा विभेद छ, त्यही विद्रोहको महावाणी हो अश्वेत महावाणी ।”

उनले कवि राईलाई निबन्ध, कवितामा विचारको चोटिलो प्रहार गर्नसक्ने कविको रुपमा चित्रण गरे । कवितासङ्ग्रहमा समावेश सांस्कृतिक उत्पिडनको समस्या दक्षिण एसियामा बढी रहेको भन्दै उहाँले पुस्तक पहिचानको वैचारिक आन्दोलनको दस्तावेज भएको बताए ।

उनले मान्छेको इतिहासलाई धुलो चटाएको छ, मानिसलाई अमानिस बनाएको छ, केही थान घोषणा र संविधानलाई राष्ट्रिय मानिन्छ, त्यो नभइ पुस्तकले साँस्कृतिक उत्पिडनको विषयमा चिमोटेको बताए ।

कविता पढिरहँदा ऊर्जा दिएको भन्दै सिलवालले चोटिलो जवाफका साथै कवितामा कवित्वसमेत रहेको उल्लेख गरे । उनेल दलित र विभेदको मात्रै विषय नभई कोरोना, भूकम्पको कहरका साथै सामाजिक र प्राचीन विश्वलाई छोएको बताए ।

उनका अनुसार अब्राहम लिङ्कलन अमेरिका जितेपछि अफ्रिकीमूलका मानिसलाई कसरी दमित बनाएको थियो भनेर कविले स्पष्ट देखाउन खोजिएको छ, बसिरहेको मान्छेलाई उठाउने वेग्लै पहिचान र विशेषतायुक्त छ कविता ।

कवि श्रवण मुकारुङले जब अमेरिकामा बाराक ओवामा राष्ट्रपति भए अनि ह्वाइट हाउसमा कालो मान्छे पसे, त्यही घटनाको प्रेरणाबाट यो सङ्ग्रह तयार भएको हुनसक्ने जिकिर गरे ।

कवि मुकारुङले थपे, “नेपालमा पनि त्यस्तै भैदिए हुन्थ्यो, दलित, जनजाति, महिला प्रधानमन्त्री भएदिए हुन्थ्यो, भन्ने लागेर त्यो भावनाले यो कविता लेखिएको हुनुपर्छ ।”

लेखक दयाकृष्ण राइले पुस्तकमा समावेश यौन कविताको सन्दर्भ उठाउँँदै यो युद्धसँग जोडिने विषय भएकाले यौन साहित्यमार्फत समाजलाई बचाउने प्रयास गरेको उल्लेख गरे । यौनका विषयमा नेपालमा नाक खुम्च्याउने अवस्था रहेको उल्लेख गर्दै कवि राईले जहाँ विषय आउँछ, त्यहाँ खुला छलफल गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बुले बेलायतमा कर्मथलो बनाएका साहित्यकारले सन् २००८ सालमा संस्था स्थापना गरेको जानकारी गराउँदै पुस्तकका लेखक संस्थाका पूर्वअध्यक्ष राई कै कारणले संस्था यहाँसम्म आइपुगेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष गणेश राईले पुस्तक प्रकाशित गरेर प्रतिष्ठानले इतिहास रचेको बताउनुभयो । उहाँले जसले बेलायत बनायो पछि उसैलाई डिपोर्ट गर्ने निर्णय गरिएको विगतको प्रशङ्ग जोड्दै जातिभेद र रङ्गभेद विरुद्धको सशक्त कविता सङ्ग्रह अश्वेत महावाणी हो भन्नुभयो ।

प्रतिष्ठानले निकालेको तीन दर्जन पुस्तकमध्य हालसम्मको यो अन्तिम पुस्तक भएको र आगामी दिनमा पनि पुस्तक निकाल्ने जानकारी पनि दिनुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?