दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको भूमिका महत्वपूर्ण : सभामुख
सारांश
- काठमाडौं, २६ साउन ।
- सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
- राष्ट्रिय सभागृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन गर्दै सभामुख महराले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका हुन् ।
काठमाडौं, २६ साउन । सभामुख कृष्णबहादुर महराले दिगो विकास लक्ष्य पूरा गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । राष्ट्रिय सभागृहमा शनिबार आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को उद्घाटन गर्दै सभामुख महराले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाहरुको नेतृत्वदायी भूमिका हुनुपर्ने बताएका हुन् ।
‘विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहस्राव्दी विकास लक्ष्य घोषणा गरेको थियो’, उनले भने, ‘यसै सहस्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३०’ पारित गरिएको छ । दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्यहरु हासिल गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’
जलवायु परिवर्तनका कारण ठूला–ठूला प्राकृतिक विपदका घटनाहरु भइरहेकोतर्फ चर्चा गर्दै सभामुख महराले दिगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न पहल थाल्नेतर्फ सचेत गराएको बताए । उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको बताउँदै सभामुख महराले भने, ‘युवाहरु आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ बढ्नुपर्छ । उद्यमशीलताले रोजगारीको सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्छ ।’
लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतिसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्दै सभामुख महराले विकासका साझा मुद्दाहरुमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताए । लामो राजनीतिक संघर्ष र संक्रमणबाट देश स्थिरता र शान्तिको बाटोतर्फ हिडिरहेको चर्चा गर्दै सभामुख महराले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको बताए । संविधान कार्यान्वयनकै चरणमा भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा ठूलो युवा समूह जनप्रतिनिधि चुनिएको भन्दै सभामुख महराले राजनीतिक नेतृत्व तहमा पुगेको युवा शक्तिले वर्तमान विश्वका आम युवाहरुका साझा सवालमा एसियाली मुलुकका युवाहरुसँग सहकार्य गरेर काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरु, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुङ्गेललगायतले बोलेका थिए । ग्लोबल युथ पार्लियामेन्ट नेपालले आयोजना गरेको दुई दिने ‘एसियन युथ एसेम्बली २०१८’ २३ वटा एसियाली मुलुकका प्रतिनिधिहरु सहभागी भएका छन् ।
प्रतिक्रिया