पत्रकार महासंघको निर्वाचनलाई मार्गप्रशस्त गर्दै बाहिरियो प्रगतिशील

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पत्रकार महासंघको निर्वाचनलाई मार्गप्रशस्त गर्दै बाहिरियो प्रगतिशील

सारांश

  • काठमाडौं, ९ बैशाख ।
  • नेपाल पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि मार्गप्रशस्त गर्दै प्रगतिशील पत्रकार संघ, नेपाल यो निर्वाचन प्रक्रियाबाट बाहिरिएको छ ।
  • तीन ठूला सञ्चार संगठनले सिण्डिकेट लादेर मनोनयन प्रक्रिया अगाडि बढाएपछि प्रगतिशीलसहित विभिन्न ७ वटा सञ्चार संगठनहरु त्यसको विपक्षमा उभिएर महासंघको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

काठमाडौं, ९ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि मार्गप्रशस्त गर्दै प्रगतिशील पत्रकार संघ, नेपाल यो निर्वाचन प्रक्रियाबाट बाहिरिएको छ । तीन ठूला सञ्चार संगठनले सिण्डिकेट लादेर मनोनयन प्रक्रिया अगाडि बढाएपछि प्रगतिशीलसहित विभिन्न ७ वटा सञ्चार संगठनहरु त्यसको विपक्षमा उभिएर महासंघको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

आन्दोलनमा उत्रिएका ७ संगठनहरुमध्ये प्रगतिशील पत्रकार संघ, नेपालले महासंघका प्रदेश समितिहरुको निर्वाचनलाई सहजतापूर्वक सम्पन्न गराउन आन्दोलनरत अन्य सञ्चार संगठनहरुलाई समेत तालाबन्दीको अन्त्य गर्न आग्रह गर्दै आफू प्रदेश निर्वाचन प्रक्रियाबाटै बाहिरिएको हो ।

विज्ञप्तिको पूर्णपाठ :
नेपाली श्रमजीवी पत्रकारहरुको साझा र सर्वोच्च संस्था नेपाल पत्रकार महासंघको प्रदेश समिति निर्वाचन यही बैशाख २२ गते हुन गइरहेको सर्वविदितै छ । महासंघको गरिमा, यसको सुन्दरता मानिने साझा चरित्र र महासंघको विधानको मूल मर्ममाथि नै प्रहार गर्दै मुलुकका ठूला भनिएका तीन सञ्चार संगठनहरुले महासंघको प्रदेश निर्वाचनमा समावेशीको मुकुण्डो लगाएर आफ्नो सिण्डिकेट लागू गरी अरु जम्मैलाई निषेध गरेको पाटो पनि सर्वविदितै छ । यो उनीहरुभित्र लुकेको दम्भ, अहम् र अलोकतान्त्रिक चरित्र सतहमा पोखिएको हाम्रो बुझाई छ ।

महासंघ सबै पक्षको साझा र सर्वोच्च संस्था हो र हुनुपर्छ भन्ने हाम्रो संगठनको मत छ । त्यसका लागि सहमति वा निर्वाचनमा जाँदा पनि सबै सञ्चार संगठन र महासंघका साधारण सदस्य रहेको र कुनै सञ्चार संगठनमा आवद्ध नभएका “स्वतन्त्र व्यक्तित्व”हरुले समेत महासंघले जारी गरेको निर्वाचन निर्देशिकाको परिधिभित्र रही निर्वाचन प्रक्रियामा लोकतान्त्रिक वातावरणमा सहजतापूर्वक मनोनयन दर्ता तथा निर्वाचन प्रक्रियामा सहभागी बन्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

त्यही वातावरण बनाउने प्रयास प्रगतिशील पत्रकार संघ नेपालले गरेको हो । तीन ठूला सञ्चार संगठनको उक्त कदम विरुद्ध विभिन्न ७ सञ्चार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी महासंघको केन्द्रीय नेतृत्वलाई बुझाइयो । त्यसपछि विभिन्न चरणमा तीन सञ्चार संगठन र महासंघको नेतृत्वसँग वार्ता र छलफल पनि भए । एकातिर वार्ता र छलफल भन्दै अल्झाइरहने र अर्कोतिर मनोनयन प्रक्रिया शुरु गरेर तीन सञ्चार संगठनले महासंघमा तालाबन्दी नै गर्नुपर्ने वाध्यकारी र दुःखद अवस्था सिर्जना गरेको कुरा दिनको घामझैं छर्लङ्ग छ ।

सरोकारवाला सञ्चार संगठनसँगको छलफलपछि महासंघलाई साझा र सर्वोच्च संस्था बनाउने सकारात्मक पहलमा निकास निस्कने कुरामा हामी विश्वस्त थियौं । तर, त्यसमा हामी असफल भयौं । महासंघले आफ्नो पाटोबाट गर्नसक्ने हाम्रा मागहरुको सम्बोधन गरिसकेको छ । हामीले वास्तवमै महासंघलाई सबै विचार, सबै भावना, सबै संगठनको र स्वतन्त्र पत्रकारहरुको समेत साझा, सर्वोच्च र गरिमामयी संस्थाको रुपमा विकास गर्न चाहेका थियौं । तर, ठूला भनिएका तीन संगठनहरुको दम्भ, अहम् र अलोकतान्त्रिक चिन्तन, चरित्र र प्रवृत्तिले हामीले परिकल्पना गरेको जस्तो महासंघको प्रदेश समितिमा साझा र सर्वोच्च स्वरुप देख्न चाहेन । जसले गर्दा हाम्रो प्रयास असफल भएको हो ।

जुन सिण्डिकेटको विरुद्ध हामी आन्दोलनमा गयौं, त्यो सबैको प्रतिनिधित्व र सहभागिताका लागि थियो । यसलाई ठूला तीन सञ्चार संगठनहरुले स्वीकार्न सकेनन् । अतः लामो समयसम्म महासंघमा ताला झुण्ड्याएर पदीय भागवण्डामा लाग्नु र महासंघको प्रदेश निर्वाचन प्रभावित गर्नु हाम्रो संगठनको उद्देश्य हुँदै होइन । त्यसकारण, नेपाल पत्रकार महासंघको प्रदेश समिति निर्वाचनलाई सहज वातावरणमा सम्पन्न गराउन यसपटकको सम्पूर्ण निर्वाचन प्रक्रियाबाट हाम्रो संगठन बाहिरिन वाध्य भएको घोषणा गर्दछौं । तर यसलाई महासंघलाई नै बहिष्कार गरेको अर्थमा कसैले पनि नलिन आग्रह गर्दछौं । तीन ठूला सञ्चार संगठनको निषेधको राजनीति र अलोकतान्त्रिक चरित्रका कारण सिर्जना भएको असहज परिस्थितिलाई सहज बनाउन आन्दोलनरत अन्य सञ्चार संगठनहरुलाई पनि महासंघको कार्यालयहरुमा गरिएको तालाबन्दी अन्त्य गरी आन्दोलनका अन्य कार्यक्रम अगाडि बढाउन हार्दिक अनुरोध गर्दछौं । महासंघको यो प्रदेश समितिको निर्वाचन अब हाम्रो सरोकारको विषय रहेन । यस बाहेकका श्रमजीवी पत्रकारहरुको हकहित लगायतका तमाम मुद्दाहरुमा आन्दोलनरत सबै सञ्चार संगठनहरुसँग हाम्रो सहकार्य जारी रहने समेत जानकारी गराउँदछौं ।

नारायण शर्मा
अध्यक्ष
२०७५/०१/०९

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?