पेट्रोल बोक्ने ट्याङ्करमा तीन क्विन्टल गाँजा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पेट्रोल बोक्ने ट्याङ्करमा तीन क्विन्टल गाँजा

सारांश

  • काठमाडौं, १६ असाेज ।
  •   मंगलवार विहान ५ बजेको थियो, मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा एउटा इन्धन बोक्ने ट्याङ्कर रोकियो ।
  •   ना ४ ख ३९६९ नम्बरको ट्याङ्करमा चालक ३८ वर्षीय प्रह्लाद ठकुरी एक्लै थिए ।

काठमाडौं, १६ असाेज ।  मंगलवार विहान ५ बजेको थियो, मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा एउटा इन्धन बोक्ने ट्याङ्कर रोकियो ।  ना ४ ख ३९६९ नम्बरको ट्याङ्करमा चालक ३८ वर्षीय प्रह्लाद ठकुरी एक्लै थिए । ५–७ जनाको संख्यामा गाडीमा आएका व्यक्तिले ट्याङ्कर रोकेपछि प्रह्लाद आत्तिए । ट्याङ्कर रोक्नेमध्ये केहीले वकीटकीमा कुरा गरेको सुनेपछि आफूलाई प्रहरीले रोकेको शंका लागिसकेको थियो प्रह्लादलाई ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा उक्त ट्याङ्करमाथि निगरानी बढाएको थियो । ब्यूरोलाई प्राप्त सूचनाअनुसार ट्याङ्करमार्फत गाँजा तस्करी हुँदै थियो । ट्याङ्करमा तलासी गर्दा प्रहरीले २ सय ९५ किलो गाँजाको चिप्पड फेला पार्यो । प्रहरीले गाँजासहित प्रह्लाद र ट्याङ्करलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 

गाँजा तस्करी गरेर १ लटमा ४० हजार कमाइ

गाँजासहित पक्राउ परेका ट्याङ्कर चालक प्रह्लाद बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगंजका स्थायी बासिन्दा हुन् ।  प्रहरीका अनुसार मकवानपुरको विभिन्न गाउँमा संकलन भएको गाँजा उनले भारत पुर्याउने जिम्मेवारी पाएका थिए । जसबाट उनले ४० हजार रुपैयाँ पाउने सम्झौता भएको बुझिएको छ ।  प्रहरीका अनुसार ट्याङ्करका ५ वटा च्याम्बरमध्ये २ वटामा पोको पारिएको अवस्थामा गाँजा राखिएको थियो । प्रहरीले मंगलवार बरामद गरेको गाँजाको बजारमूल्य करिब ४५ लाख रुपैयाँ भएको जनाएको छ । 

ट्याङ्करमा गाँजा तस्करी : सार्वजनिक भएको दोस्रो घटना 

गत वैशाख १ गते (नयाँ वर्षको दिन) पनि प्रहरीले ट्याक्टरबाट गाँजा बरामद गरेको थियो ।  गत वैशाख एक गते नेपाल आयल निगमको थानकोटस्थित डिपोमा इन्धन झारेर नागढुङ्गाको ओरालो झरेको ना ४ ख ५३६८ नम्बरको ट्याङ्ककरबाट १६० किलो गाँजा बरामद गरेको थियो ।

लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले त्यतिबेला मकवानपुर स्थायी ठेगाना भएका गाँजा कारोबारी इमानसिंह स्याङ्बो र ट्याङ्कर चालक सोमबहादुर थोकरलाई गाँजासहित पक्राउ गरेको थियो ।

३ तहका तस्कर सक्रिय

प्रहरीका अनुसार गाँजाको कारोबारमा ३ तहका तस्करहरू सक्रिय छन् । पहिलो तहका तस्करहरू गाँजा खेतीमा लगानी गर्ने, स्थानीय किसानबाट गाँजा संकलन गर्ने तथा किसानहरुलाई गाँजा खेती गर्न उक्साउने खालका हुन्छन् । पहिलो तहका तस्करले किसानबाट गाँजा खेती गरेर आफूभन्दा माथिल्लो तहका तस्करसँग बिक्री गर्छन् । पहिलो तहका तस्करले किसानबाट प्रतिकिलो ५ हजारमा गाँजा खरिद गर्ने गर्छन् । उनीहरुले दोस्रो तहका तस्करलाई बिक्री गर्दा प्रतिकिलो १५ हजार रुपैयाँमा बिक्री गर्छन् ।

दोस्रो तहका तस्करले गाँजालाई चरेस उत्पादन गर्नका लागि ‘कम्प्रेस्ड’ (विशेष प्रकारले प्रशोधन गर्ने( काम गर्छन् । उनीहरूको राष्ट्रिय रुपमा विशेष सञ्जाल नै रहेको प्रहरी स्रोत बताउँछ । गाँजा कम्प्रेस्ड भइसकेपछि दोस्रो तहका तस्करले तेस्रो तहका तस्करलाई सम्पर्क गर्छन् । तेस्रो तहका तस्करहरूको अन्तर्राष्ट्रिय स्तरसम्म सम्पर्क र सञ्जाल हुन्छ ।

तेस्रो तहका तस्करकै योजनामा गाँजा नेपालबाट बाहिर तस्करी हुन्छ । तेस्रो तहका तस्करले नै कुन बाटो भएर कहाँ पठाउने भन्ने योजना बनाउँछन् । तर काम भने दोस्रो तहका तस्करले नै गर्नुपर्ने हुन्छ।

इन्धनका धनीलाई सधैं उन्मुक्ति ? 

प्रहरीले गत वैशाख १ गते र मंगलवार गरी दुईपटक इन्धन बोक्ने ट्याङ्करबाट गाँजा बरामद गरिसकेको छ । तर, ट्याङ्करका धनीको विषयलाई भने सधैं गोप्य राख्ने गरिएको छ ।  यसअघि गाँजासहित नियन्त्रणमा लिइएको ट्याङ्कर पुनः इन्धन बोक्न प्रयोग भइसकेको सूचना प्राप्त भएको छ । तर, इन्धन धनीलाई भने प्रहरीले नियन्त्रणमा लिएन् ।  मंगलवार गाँजासहित नियन्त्रणमा लिइएको ट्याङ्कर धनीको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यद्यपि यसपटक चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान हुने ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलको भनाइ छ ।

‘इन्धन बोक्ने ट्याङ्करमा गाँजा तस्करी हुनु भनेको जधन्य अपराधको कार्य हो,’ पोखरेलले भने, ‘यसमा संलग्न कुनै पनि व्यक्तिले उन्मुक्ति पाउँदैनन् ।’

(लाेकान्तर बाट)

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?