पोखराबाट पक्राउ परे मस्ट वान्टेड कोरियाली
सारांश
- काठमाडौं, ११ फागुन- अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।
- अवैध लागुऔषध कारोबार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ को सेप्टेम्बरमा रेडकर्नर नोटिस जारी गरेको थियो।
- अवैध तरिकाले फिलिपिन्सबाट दक्षिण कोरियामा विभिन्न प्रकारका लागुपदार्थ आयात गर्दै आएका उनी ६ दिनदेखि अध्यागमन विभागको हिरासतमा छन्।
काठमाडौं, ११ फागुन- अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका दक्षिण कोरियाली नागरिक सेउङ वन ली पोखरामा पक्राउ परेका छन्।अवैध लागुऔषध कारोबार गरेको अभियोगमा लीविरुद्ध इन्टरपोल महासचिवालयले सन् २०१६ को सेप्टेम्बरमा रेडकर्नर नोटिस जारी गरेको थियो। अवैध तरिकाले फिलिपिन्सबाट दक्षिण कोरियामा विभिन्न प्रकारका लागुपदार्थ आयात गर्दै आएका उनी ६ दिनदेखि अध्यागमन विभागको हिरासतमा छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
नेपालमा ली पक्राउ परेको थाहा पाएपछि दक्षिण कोरियाबाट सुरक्षाकर्मीसहितको उच्चस्तरीय टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको स्रोतले जनाएको छ। उक्त टोलीले लीलाई सम्भवतः आगामी शनिबार सोल लैजाने छ।
अध्यागमन विभागका प्रवक्तासमेत रहेका निर्देशक राजुप्रसाद पौडेलले लीलाई फिर्ता पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। ‘प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको हो’, उनले भने, ‘उनलाई दक्षिण कोरिया पठाउने प्रक्रियाबारे छलफल भइरहेको छ।’
फिलिपिन्समा रहेका एक व्यक्तिले २०७२ भदौ १६ गते लीलाई २५ ग्राम एमफेटामाइन नामक प्रतिबन्धित लागुऔषध कुरियरमार्फत दक्षिण कोरिया पठाएका थिए। लीले उक्त परिमाणको प्रतिबन्धित लागुऔषध निकटस्थ एक महिलालाई निःशुल्क दिएका थिए। उनी झन्डै १७ महिनादेखि इन्टरपोलको खोजी सूचीमा थिए। ड्र्यागन एयरको जहाजबाट गत पुस २६ गते नेपाल आएका लीलाई त्यसपछि प्रहरीले खोज्न थालेको थियो।
प्रतिक्रिया