प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • महोत्तरी।
  • प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन्।
  • सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो।

महोत्तरी। प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन्।सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो।प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु सङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ। त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सातरसात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेङ्गु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए।हिजो बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो। प्रदेशका सबै जिल्लामा डेङ्गुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन्। सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।

महोत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेङ्गु भेटिएको छ। अहिलेसम्म बर्दिवास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेङ्गुको सङ्क्रमण तीन जनामा भेटिएको हो। दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आतङ्क नै छाएको थियो। त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्रभावित भएका थिए।

यसैबीच बर्दिवास नगरपालिकाले डेङ्गुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै शुरु गरेको छ। नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक सङ्घसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए। बर्दिवास नगरपालिकाले वडा नं १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ।

डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि फूल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले अपिल गरेका छन्। घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ।त्यसैगरी टायर, ट्युबका भित्री कापमा यो लामखुट्टेले फूल पार्ने र लार्भा हुर्कने भएकाले यत्रतत्र फालिएका टायर, ट्युव निश्चित ठाउँमा नष्ट गर्नुपर्ने बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?