प्रमुख दलले कहाँकहाँ जित्दैछन्: निर्वाचनको तीन दिनअघि आयो यस्तो रिपोर्ट
सारांश
- काठमाडौं ।
- निर्वाचनको मिति तीन दिनमात्रै बाँकी हुँदा प्रमुख दलहरु चुनावी जोडघटाउमा व्यस्त भएका छन् ।
- यही असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानिय तहको लागि मतदान हुँदैछ ।
काठमाडौं । निर्वाचनको मिति तीन दिनमात्रै बाँकी हुँदा प्रमुख दलहरु चुनावी जोडघटाउमा व्यस्त भएका छन् । यही असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानिय तहको लागि मतदान हुँदैछ । प्रमुख दलहरुले निर्वाचनमा आफुले जित्ने न्युनतम देखि अधिकतम स्थानिय तहको संख्याको आँकलन निकालीरहेका छन् । जसअनुसार प्रदेश १ मा नेकपा(एमाले)को बहुमत, प्रदेश ७ मा नेपाली (काँग्रेस) को बहुमत र प्रदेश पाँचमा नेकपा(माओवादी केन्द्र) सहितको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा(एमाले)ले निर्वाचनमा बढीमा १५५ स्थानिय तहमा कब्जा जमाउने विवरण प्राप्त गरेको छ । अधिकतम प्रयास र चलखेल गर्न सके १५५ जित्ने रिपोर्ट एमाले केन्द्रीय कार्यालयमा पुगेको छ । तर अहिलेसम्म १२० स्थानमा मात्रै जित निश्चित रहेको र बाँकी ३५ ठाउँमा परिस्थिति अनुसार तलमाथि हुने रिपोर्ट एमालेले पाएको छ । एमाले प्रदेश नम्बर एकमा ५५ प्रतिशत ठाउँमा चुनाव जितेर बहुमतमा पुग्ने रिपोर्ट आएको छ । प्रदेश ५ मा ४० प्रतिशत र प्रदेश ७ मा ३५ प्रतिशत स्थानिय तहमा चुनाव जित्ने एमाले आँकलन छ । प्रदेश १मा ताप्लेजुङ, धरान लगायतका क्षेत्रमा एमाले विरुद्ध भएको अन्य दलको तालमेलले भने केही अप्ठेरो पर्ने एमालेले जनाएको छ । प्रदेश ५ मा गुल्मी, पाल्पा र रुपन्देहीमा एमालेको जिल्लागत रुपमा बहुमत आउने भएपनि अन्य जिल्लामा कडा प्रतिस्पर्धा रहेको छ । निर्वाचन हुने प्रदेश मध्ये एमालेको सबैभन्दा नाजुक अवस्था प्रदेश ७ मा रहेको छ । उता अर्को घटक नेपाली काँग्रेसले पहिलो चरणको निर्वाचनबाट दोस्रोमा खुम्चिनु परेकोमा पिडालाई मल्हम लगाउने योजना बनाएपनि सफल हुन गाह्रो हुने देखिएको छ । काँग्रेसलाई जिल्लाहरुबाट प्राप्त भएको विवरण अनुसार बढीमा १५० स्थानमा स्थानिय तह जित्ने र जसमध्ये १२५ स्थानमा जित निश्चित रहेको विवरण आएको छ । दाङ, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पार्टी बहुमतको अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । प्रदेश नम्बर दुईमा निर्वाचन भएको भए दोस्रो चरणको निर्वाचनमा काँग्रेस एक नम्बरको पार्टी सजिल्यै बन्थ्यो । तर निर्वाचन नहुनुको फाईदा एमाले फेरी एक नम्बरको पार्टी बन्ने अवस्था आएको र त्यसलाई रोक्न धेरै मिहिनेत गर्नुपर्ने रिपोर्ट काँग्रेस मुख्यालय सानेपा दरबारमा पुगेको छ । काँग्रसमा कतै अन्तर्घात नभएको अवस्थामा मात्रै एक नम्बरको पार्टी बन्ने अन्यथा दोस्रोमा खुम्चिनुपर्ने विवरणले काँग्रेस झस्कीएको छ । काँग्रेसले प्रदेश नम्बर १ मा ३५ प्रतिशत, प्रदेश ५ मा ४० प्रतिशत र प्रदेश ७मा ५५ प्रतिशत स्थानिय तहमा चुनाव जित्ने विवरण प्राप्त भएको छ । पहिलो चरणको निर्वाचनबाट हौँसिएको नेकपा(माओवादी केन्द्र) दोस्रो चरणको निर्वाचनमा पनि राम्रो पकड जमाउने योजनामा छ । धेरै जिल्लाहरुमा नेपाली काँग्रेससँग तालमेल गरेर निर्वाचन लडेका कारण पनि पार्टीको आकार केही बढ्ने उसको अपेक्षा छ । निर्वाचन हुने जिल्ला मध्ये रोल्पा, रुकुम, बर्दिया, कैलाली र कञ्चनपुरमा पार्टीको अवस्था राम्रो रहेको रिपोर्ट माओवादी मुख्यालय पेरिसडाँडामा आईपुगेको छ । विगतको आधार क्षेत्र भएपनि दाङ, प्युठान लगायतका क्षेत्रमा अझै पार्टीको अवस्थामा सुधार नआएको घटनाले माओवादी दुखी छ । माओवादीले बढीमा ८० स्थानिय तहका निर्वाचन जित्ने तथा ५० तहमा जित निश्चित रहेको रिपोर्ट आएको छ । उसले प्रदेश १ मा २० प्रतिशत, प्रद्रेश ५ मा ३० प्रतिशत र प्रदेश ७ मा ३० प्रतितश स्थानिय तहका चुनाव जित्ने रिपोर्ट प्राप्त गरेको छ । चुनावमा सहभागी विजयकुमार गच्छदारको नेपाल फोरम लोकतान्त्रीकले सुनसरी, मोरङ, कैलालीमा केही स्थान जित्ने अवस्था छ । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमले सुनसरी, मोरङ, कपिलबस्तु, बाँके लगायतका जिल्लामा केही स्थानिय तह जित्ने अवस्था छ ।
प्रतिक्रिया