बढ्दै लागुऔषध ओसारप्रसार, एक वर्षमा ४ हजार कारोबारी पक्राउ
सारांश
- झापा, माघ ३ ।
- सन् २०१७ मा लागुपदार्थ सहित झण्डै ४ हजार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- अधिकांश त्यस्ता लागुपदार्थ कारोबारसँग जोडिएका घटना नेपाल भारत सीमावर्ती क्षेत्रमा हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
झापा, माघ ३ । सन् २०१७ मा लागुपदार्थ सहित झण्डै ४ हजार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अधिकांश त्यस्ता लागुपदार्थ कारोबारसँग जोडिएका घटना नेपाल भारत सीमावर्ती क्षेत्रमा हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
पछिल्लो समयमा विगतमा जस्तो हेरोइन, ब्राउन सुगर जस्ता लागुपदार्थ भन्दा नशा लाग्ने औषधीहरू सेवन गर्ने लत बढेको बताइन्छ ।
पक्राउ
प्रहरीले यसै आर्थिक वर्षभित्र झापामा लागुपदार्थ बोकेका र प्रयोग गर्दै गर्दा भेटिएका स्वदेशी तथा विदेशी गरी ९८ जनालाई पक्राउ गरेको छ । गत आर्थिक वर्षमा त्यस्ता १ सय ६५ जना प्रहरीको नियन्त्रणमा परेका थिए ।
विगत अढाई वर्षको तथ्यांकले पूर्वी नाकामा लागुपदार्थको कारोबार ह्वात्तै बढेको देखाउँछ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले भने, ‘यो खानु हुँदैन भन्ने जान्ने मान्छेहरूले नै नशाका लागि यस्ता लागुपदार्थ सेवन गरेको पाएका छौं।’
लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांक अनुसार सन् २०१७ मा ३ हजार ९ सय ४१ जना लागुपदार्थका साथमा समातिएका छन्। सन् २०१६ मा ३ हजार ६ सय ९६ जना पक्राउ परेका थिए ।
कारोबारी
ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईका अनुसार भारतसंग सीमा जोडिएका नाकाहरूमा बढी लागुपदार्थ कारोबारी तथा प्रयोगकर्ता समातिने गरेका छन् ।
राईले भने, ‘वीरगञ्ज, नेपालगञ्ज, भैरहवा, विराटनगर, काँकरभिट्टा लगायतका भारतसंग सीमा जोडिएका नाकाहरूमा लागू पदार्थको कारोबार ज्यादा भएको पाइन्छ।’
लागुऔषध
केही समयदेखि गाँजा, हिरोइन, ब्राउन सुगर जस्ता लागुपदार्थ भन्दा औषधिका लागि प्रयोग गरिने तर बढी खाएको अवस्थामा नशा दिने प्रकारका बस्तुहरूको उपयोग बढिरहेको डिआइजी ठूले राईले बताए ।
देशभरको तथ्यांक हेर्दा भारतीय सीमा बजारहरूबाट ल्याएका बुपेनोरफिन, डायजेपाम जस्ता औषधि जुन लागुपदार्थ खानेहरूले नशाका लागि खान्छन् त्यस्ता औषधिसहित पक्राउ पर्नेहरूको संख्या बढ्दो छ ।सीमा बैठक हुँदा भारतीय अधिकारीहरूसंग पनि यो विषयमा कुरा हुने गरेको झापाका प्रहरी प्रमुख केसी बताउँछन्।
केसीले भने, ‘हामी कुरा त उठाउँछौं तर त्यहाँको कानुनले कतिपय औषधिलाई प्रतिबन्ध लगाएको छैन । निर्वाध रुपमा तिनै औषधि सेवन गर्न नेपाली भारतीय सीमा क्षेत्रमा जाने गर्छन्।’
प्रहरी भन्छ–प्रहरीको मात्र प्रयासले उक्त समस्या समाधान नहुने भएकाले बढी लागुपदार्थ प्रयोगकर्ता युवा अवस्थाका मानिसहरूका अभिभावक तथा शिक्षकहरूको समेत सजगता जरुरी छ । (बीबीसी)
प्रतिक्रिया