बेइजिङमा सम्झौता हुँदा ल्हासाका नेपाली यसकारण खुशी
सारांश
- चीन भ्रमणको क्रममा बेइजिङबाट ल्हासा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनमा अगाडि बढ्ने सहमती भएको छ।
- बेइजिङबाट शुक्रबार ल्हासा पुगेका प्रधानमन्त्री ओलीसँग तिब्बत सरकारका अध्यक्ष छिटालाले भेटवार्ता गरेका थिए।
- नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फरेन्स सेन्टरमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको बताउँदै नयाँ आधारमा सम्बन्धलाई थप प्रगाढ बनाएर लैजानुपर्ने बताए।
चीन भ्रमणको क्रममा बेइजिङबाट ल्हासा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनमा अगाडि बढ्ने सहमती भएको छ।
बेइजिङबाट शुक्रबार ल्हासा पुगेका प्रधानमन्त्री ओलीसँग तिब्बत सरकारका अध्यक्ष छिटालाले भेटवार्ता गरेका थिए। नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फरेन्स सेन्टरमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको बताउँदै नयाँ आधारमा सम्बन्धलाई थप प्रगाढ बनाएर लैजानुपर्ने बताए।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङसँग बेइजिङमा भएको भेटवार्ता र सहमतिका आधारमा नेपाल र चीनबीचको सम्बन्ध थप नयाँ उचाइमा पुगेको र तिब्बत सरकारसँगको सम्बन्धसमेत थप प्रगाढ बनेको भन्दै खुशी व्यक्त गरेका थिए।
बेइजिङबाट एयर चाइनाको विमानबाट उडेको प्रधानमन्त्री ओलीको टोली अपरान्ह ल्हासा उत्रिँदा विमानस्थलमै भव्य स्वागत गरिएको थियो।
तिब्बतको सिगात्सेबाट केरुङ हुँदै रेलमार्ग काठमाडौं जोड्न पूर्वाधार अध्ययन गर्ने सम्झौताले तिब्बतका अधिकारीमा खुशी ल्याएको देखिन्थ्यो। नेपाल तिब्बतको सबैभन्दा ठूलो व्यापार साझेदार हो र यो सिमापार रेलमार्गले तीब्र रुपमा व्यापार विस्तार हुने विश्वास अधिकारीहरूमा छ।
ऐतिहासिक कालदेखि नै नेपाल तिब्बत सम्बन्ध रहेको भन्दै बदलिँदो अवस्थामा त्यसलाई अझ फराकिलो र मैत्रीपूर्ण बनाउँदै सहयोगका विविध आयाममा समेत एक अर्का पक्षले जोड दिँदै कार्यान्वयनमा लैजान ओलीले छिटालासँग आग्रह गरे।
तिब्बत सरकारका अध्यक्ष छिटालाले नेपाल र तिब्बतबीचको सम्बन्ध अझ समृद्ध बन्ने विश्वास व्यक्त गरे। ‘तिब्बत सरकारका तर्फबाट नेपाललाई सधैँ सहयोग रहनेछ’ भन्दै छिटालाले आपसी हित र चासोका विषयलाई सम्बोधन गर्दै जाने विश्वास दिलाए।
‘चीनको ‘एक क्षेत्र, एक मार्ग’लाई सघन कार्यान्वयनका लागि हिमाली सीमापार बहुआयामिक सम्पर्क सञ्जालको कार्य ढाँचाअन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई व्यापक बनाउन दुई देश सहमत भएको विषय संयुक्त वक्तव्यमा समेत आएको छ’ भन्दै प्रधानमन्त्री ओली र अध्यक्ष छिटालाले उक्त सम्झौता कार्यान्वयनका लागि दुवै पक्ष मिलेर अगाडि बढ्न सहमत भए।
अन्तरदेशीय प्रसारण लाइन, तिब्बती राजमार्ग नेपालले प्रयोग गर्ने विषयमा प्रधानमन्त्री तहमा भएको सहमति तथा पर्यटन प्रवद्र्धन, सीमा व्यवस्थापन र नेपालीलाई तिब्बत सरकारले दिएको सुविधाको विषयमा समेत सो अवसरमा छलफल भएको थियो।
भेटवार्तामा प्रधानमन्त्री पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो । प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा अध्यक्ष छिटालाले रात्रिभोजको आयोजना गरे।
प्रतिक्रिया