बैशाख १५ देखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदै, अब यसो गर्नुहोस्
सारांश
- काठमाडौं, १५ चैत ।
- आगामी बैशाख १५ गतेदेखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदैछन् ।
- सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि नै काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ ।
काठमाडौं, १५ चैत । आगामी बैशाख १५ गतेदेखि देशभरका एनालग टिभी पूर्णतः बन्द हुँदैछन् । सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि नै काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ ।
मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको हो । काठमाडौं उपत्यकामा बुधबारदेखि नै एनालगमा आधारित सम्पूर्ण सेवा बन्द भएको छ ।
मन्त्रालयको केबल टेलिभिजन शाखाका प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव संगीता ओझा र उपसचिव युवराज खतिवडाको टोली अनुगमनमा थियो । टोलीले काठमाडौं उपत्यकाका १० वटा टेलिभिजन सेवा प्रदायक कम्पनीमा पुगेर एनालगबाट चल्दै आएका सम्पूर्ण टेलिभिजन बन्द गराएको हो । सञ्चार मन्त्रालय प्रवक्ता रामचन्द्र ढकालका अनुसार टोलीले बुधबार सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क, स्पेसटाइम नेटवर्क, सीईसी केबल नेटवर्क प्रालि र स्काई केबललगायत १० टेलिभिजन सेवा प्रदायक कम्पनीमा अनुगमन गरेको थियो ।
सञ्चार मन्त्रालयले गत वैशाख १५ पछि काठमाडौंलगायत विभिन्न महानगरमा केबल टेलिभिजनलाई डिजिटाइजेसनमा जान समयावधि तोकेको थियो । नगरपालिकामा गत कार्तिक १५ सम्मको समयसीमा तोकिएको थियो । यद्यपि अदालतमा त्यसविरुद्ध रिट दायर भएपछि सर्वोच्च अदालतले यथास्थितिमा राख्न अन्तरिम आदेश दिएकाले समयसीमा कार्यान्वयनमा ढिलासुस्ती देखिएको थियो । अहिले मन्त्रालयले अनुगमन नै गरेर एनालग प्रविधिमा चलिरहेका नगरका केबल टेलिभिजन बन्द गराएको प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।
सरकारले पनि चुनावको मुखमा केबल बन्द गर्दा मतदाता शिक्षा प्रभावित हुने भन्दै नेपाली च्यानलको प्रसारणमा रोक नलगाउन निर्देशन दिएको थियो । टेलिभिजनको डिजिटाइजेसनको कामलाई अब पूर्णरूपमा कार्यान्यवन गर्न थालेको हो । प्रवक्ता ढकालका अनुसार अनुसार काठमाडौं महानगरपालिकासँगै मोफसलका महानगर, नगरमा पनि एनलागबाट चलिरहेका टेलिभिजन बन्द गराइने छ भने आउँदो वैशाख १५ गतेपछि देशभर एनालग टेलिभिजन बन्द हुनेछन् ।
एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं उपत्यकाभित्र झन्डै २ लाख घरधुरी टेलिभिजन हेर्नबाट बञ्चित हुने देखिएको छ । नेपाल केबल टीभी महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार काठमाडौंमा ४० प्रतिशत घरधुरी यसबाट प्रभावित हुनेछन् । ६० प्रतिशत ग्राहक डिजिटलमा गइसकेका छन् ।
एनालगबाट च्यानलको संख्या घटाउने क्रम सुरु भएसँगै धेरै ग्राहक डिजिटलमा गइसकेको पराजुलीले बताए । बाँकी ग्राहक पनि अबको १५ दिनभित्र सेवा पाइसक्नेछन् । “व्यवसायीले आवश्यक सेटअप बक्स मगाइसकेकाले व्यवसायीलाई डिजिटलमा जान कुनै समस्या हुने छैन”, डिसहोमका महाप्रबन्धक कल्याण अधिकारीले भने, “डिजिटल नेपालका लागि आवश्यक भएकाले पनि हामी व्यवसायीले सरकारले चालेको यो कदमा सुरुदेखि नै सहयोग गर्दै आएका थियौं र गर्छौं ।”
प्रतिक्रिया