भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
सारांश
- काठमाडौं, २४ फागुन ।
- नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले नेपालप्रतिको भारतको विस्तारवादी र हस्तक्षेपकारी भूमिकालाई सन्तुलनमा राख्नका लागि चीन र पाकिस्तानसँगको सम्बन्धले धेरै महत्व राख्ने बताएको छ ।
- पार्टीका प्रवक्ता रामप्रकाश पुरीले जारी गरेको विज्ञप्तिमा पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणको सकारात्मक महत्व रहेको जनाएका छन् ।
काठमाडौं, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले नेपालप्रतिको भारतको विस्तारवादी र हस्तक्षेपकारी भूमिकालाई सन्तुलनमा राख्नका लागि चीन र पाकिस्तानसँगको सम्बन्धले धेरै महत्व राख्ने बताएको छ । पार्टीका प्रवक्ता रामप्रकाश पुरीले जारी गरेको विज्ञप्तिमा पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणको सकारात्मक महत्व रहेको जनाएका छन् ।
“पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीद्वारा हालै भएको नेपाल भ्रमणलाई हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले सकारात्मक र अर्थपूर्ण ढङ्गले हेरेको छ”, प्रवक्ता पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतको नेपालप्रतिको विस्तारवादी र हस्तक्षेपकारी भूमिकालाई सन्तुलनमा राख्नका लागि नेपालको चीन र पाकिस्तानसितको सम्बन्धले धेरै महत्व राख्दछ । त्यसैले पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणको सकारात्मक महत्व छ ।”
नेपालमा चुनाव सम्पन्न भएपछि वामपक्षीय सरकारलाई भारतीय विस्तारवादी नीतिको पक्षमा लैजान भारतले दवाव दिइरहेको उल्लेख गर्दै विज्ञप्तिमा त्यो दवावको सामना गरेर नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा अडान लिन चीनका साथै पाकिस्तानको मित्रताले पनि मद्दत पुराउने आशा व्यक्त गरिएको छ । त्यस अर्थमा नेकपा (मसाल)ले पाकिस्तानी प्रधानमन्त्रीको अहिलेको भ्रमणलाई गम्भीर अर्थमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया