महाधिवेशनमा केन्द्रित हुँदै कांग्रेस
सारांश
- काठमाडौं ।
- नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको तयारी स्वरूप नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको छ ।
- १४औं महाधिवेशनको तयारी स्वरूप शुक्रबारबाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको तयारी स्वरूप नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको छ ।
१४औं महाधिवेशनको तयारी स्वरूप शुक्रबारबाट प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेका हुन् । पार्टीको विधानले तोकेको कार्यविधिअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न सुरु गरेको कांग्रेसले जनाएको छ ।
गत माघ २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन १६ (शुक्रबार) देखि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण गर्नेगरी महाधिवेशन कार्यतालिका बनाएको थियो ।
सोही बैठकले मुलुकको नयाँ संघीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना समायोजनको कार्य फागुन १५ गतेसम्म गरिसक्ने पनि निर्णय गरेको थियो । पार्टीले निर्धारण गरेको अवधिभित्र झण्डै ३५ जिल्लाले पूर्ण र बाँकी जिल्लाले ९० प्रतिशत समायोजनको काम सम्पन्न गरेका बताइएको छ ।
समायोजनको काम नसकी क्रियाशीय सदस्यता वितरण गर्न नपाइने भएकाले स्थानीयस्तरमा समायोजन सम्पन्न गर्न जिल्ला कार्यसमितिलाई दबाब बढ्ने पार्टी कार्यालयको आँकलन छ । अबको दुई÷चार दिनमा समायोजन सकिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि पार्टी कार्यालयले बिहीबारदेखि फाराम वितरण सुरु गरिसकेको छ । केही जिल्ला सभापतिले आवश्यक कागजात लगिसकेको कांग्रेसले जनाएको छ । चितवन, रुकुम पश्चिम, कालिकोट, कास्की, दोलखा, सोलुखुम्बु र ओखलढुंगाका जिल्ला सभापतिहरूले सदस्यताको फाराम लगेका छन् ।
उक्त बैठकबाट कांग्रेसले विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने पनि निर्णय गरेको थियो । हाल कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या झण्डै पाँच लाख छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा समायोजन भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा विभिन्न दलबाट पार्टी प्रवेश गरेका र नयाँ थपिने गरी आठ लाख सदस्यता पुग्ने आँकलन गरिएको बताएका छन् ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि विधानका केही दफा निलम्बन गरेको छ । विधानको दफा ४ मा कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ ।
कांग्रेसको साधारण सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । केन्द्रीय समिति बैठकले भने १४औं महाधिवेशनको प्रयोजनार्थ ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत माघ १३ गते बसेको बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ कात्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय गरेको थियो ।
यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५, प्रदेश अधिवेशन मंसिर २९ र केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो ।
प्रतिक्रिया