यसरी कुटिए नव दम्पत्ति नगरपालिकाको न्यायिक इजलासमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
यसरी कुटिए नव दम्पत्ति नगरपालिकाको न्यायिक इजलासमा

सारांश

  • राजविराज : दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक इजलासमै छोराबुहारीलाई कुटपिट गरेका छन् ।
  • न्यायिक समितिमा परेको उजुरीमाथि छलफल गर्ने भन्दै बोलाइएका कञ्चनरुप ९ रुपनगरका २० वर्षीय मनीष साह र कञ्चनरुप ९ धरमपुरकी १६ वर्षीया कविता राम कुटिएका हुन् ।
  • साह र रामले फागुन २ गते हनुमाननगर कंकालिनी-१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेका थिए ।

राजविराज : दलितसँग विवाह गरेका कारण असन्तुष्ट अभिभावकले सप्तरीको कञ्चनरुप नगरपालिकाको न्यायिक इजलासमै छोराबुहारीलाई कुटपिट गरेका छन् । न्यायिक समितिमा परेको उजुरीमाथि छलफल गर्ने भन्दै बोलाइएका कञ्चनरुप ९ रुपनगरका २० वर्षीय मनीष साह र कञ्चनरुप ९ धरमपुरकी १६ वर्षीया कविता राम कुटिएका हुन् ।

साह र रामले फागुन २ गते हनुमाननगर कंकालिनी-१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेका थिए । विवाहबाट असन्तुष्ट मनीषका बुबा शिवनारायण साहले दर्ता गरेको उजुरीमाथि छलफल गर्न बोलाइएको न्यायिक इजलासमा साह पक्षले कुटपिट गरेको दलित सरोकार मञ्च नेपालका उपाध्यक्ष बच्चु सरबरियाले बताए ।

सँगै जिउने-मर्ने भनेर आदर्श विवाह गरेका जोडीलाई अलग गर्ने उद्देश्य पूरा नहुने देखेपछि छलफलकै क्रममा कुटपिट भएको सरवरियाले बताए ।

सँगै जीवन बिताउने दोहोर्‍याएपछि उनीहरूले मनीषलाई कुटपिट गर्न थालेको भन्दै कविताले भनिन्, ‘मनीषलाई कुटपिट गर्न थालेपछि छुटाउन गएकी मलाई पनि कुटे ।’ न्यायिक समितिकी संयोजक तथा उपप्रमुख निरु पोखरेलले इजलासमा कुटपिट भएको कुरा अस्वीकार गर्दै भनिन्, ‘इजलासमै कुटपिट भएको होइन ।’ उनले भनिन्, ‘तीन तलामाथि हामी थियौं, तल के-के भयो थाहा भएन ।’

इलाका प्रहरी कार्यालय कञ्चरुपका प्रहरी निरीक्षक डिल्लीबहादुर चौहानले न्यायिक समितिमा भएको छलफल क्रममा केटाकेटी आआफ्नो परिवारसँग बस्ने सहमति भए पनि केटाले परिवारसँग जान इन्कार गर्दा तानातान भएको बताए । तानातानकै क्रममा पुगेको प्रहरीले कुटपिटको अवस्था आउन नदिएको चौहानले बताए ।

यता, अन्तरजातीय विवाह गरेका दुवैलाई जसरी पनि छुटाउने साहका अभिभावकको सोचले दुवैमाथि शारीरिक तथा मानसिक यातना बढेको स्थानीय बताउँछन् । पटक-पटक यातनाका घटना दोहोरिन थालेपछि सम्भावित दुर्घटनाबाट जोगाउन कानुनी संरक्षणका लागि उनीहरूले आग्रह गरेका छन् ।

परिवारको सहमतिबिना विवाह गरेका मनीष र कविताले सुनसरीको इनरुवामा गएर घरजम गरेकोमा शिवनारायणले बसेको ठेगाना पत्ता लगाएर दुवैलाई जबर्जस्ती अलग गराएका थिए । पतिलाई आफूबाट अलग गराएपछि कविताले ससुराविरुद्ध इनरुवा प्रहरीमा अपहरणको उजुरी दिइकी थिइन् । ‘सप्तरीको घटना भन्दै इनरुवा प्रहरीले बेवास्ता गरेपछि सोही निवेदन इलाका प्रहरी कार्यालय कञ्चनरुपमा दिइयो’, स्थानीय राजकुमार पासवान भन्छन्, ‘प्रहरीले कारबाही नचल्दै मनीष भागेर माइत विस्थापित कवितासँगै बस्न आए ।’

प्रहरी कार्यालयमा पटक-पटक भएको छलफलपछि विवाह गर्न कविताको उमेर नपुगेको भन्दै दुवैलाई घरपरिवारको जिम्मा लगाउने सहमति पनि भएको थियो । तर, मनीषले उनलाई नछाडी सँगै बस्न थालेपछि केटा पक्षले कुटपिट र डर-त्रास देखाएर अलग गराउन खोजेको पासवानको भनाइ छ ।

दुवै छुट्टिन नमानेपछि मनीषका बुबा शिवनारायणले कविताका बुबा विनोद रामविरुद्ध फागुन तेस्रो साता उच्च अदालत जनकपुर, राजविराज इजलासमा शरीर बन्धक तथा अपहरणको मुद्दा दर्ता गरे ।

अदालतमा उपस्थित भएर दुवैले आफूहरूले राजीखुसी विवाह गरेको बयान दिएपछि उनीहरूमाथि शारीरिक र मानसिक यातनाका घटना बढेको कविताले बताइन् ।

आफ्नो पेटमा मनीषको बच्चा रहेको जानकारी दिँदै कविताले शान्तिपूर्ण बस्न पाउने वातावरणका लागि अदालत गुहारेकी थिइन् । आफ्नो परिवार र गर्भमा हुर्किरहेको सन्तानको जीवनरक्षाका लागि याचना गर्दै कविताले प्रश्न गरिन्, ‘दलितलाई प्रेम गर्ने, विवाह गर्ने र सन्तान पाउने अधिकार छैन ? ’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?