राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त

सारांश

  • काठमाडौँ।
  • महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भइन्।
  •   त्यस क्रममा उनले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गरिन्।
काठमाडौँ। महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भइन्। 
त्यस क्रममा उनले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेससँग भेटवार्ता गरिन्। त्यस अवसरमा उनीहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनःनिर्माणका साथै विविध विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ। 
महासचिव गुटरेसले करीब ४१ वर्षअघि गरेको नेपालको भ्रमणको स्मरण गर्दै राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा नेपालले गरेको योगदानको सराहना गरे। साथै उनले उक्त विश्वसंस्थामा नेपालले सक्रिय भूमिका निर्वाह गरेकामा प्रशंसा गरे। 
राष्ट्रपति भण्डारीसँग अपराह्न संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले शिष्टाचार भेट गरे। ‘शक्तिमा नारी’ विषयको छलफल कार्यक्रमका साथै अन्य धेरै महत्वपूर्ण विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा राष्ट्रपतिले उनको प्रशंसा गरे। अध्यक्ष ग्रेसेसले छलफलमा सहभागी भएर आफ्ना गहन अन्तर्दृष्टि र अनुभव सुनाएकामा राष्ट्रपति भण्डारीप्रति हार्दिक आभार प्रकट गरे। 
बुधबार नै राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्र्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता गरिन्। आफ्ना इस्टोनियाली समकक्षीसँगको भेटमा दुई देशका राष्ट्रपतिबीच जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य, बहुपक्षीयताजस्ता समसामयिक विश्वका महत्वपूर्ण विषयमा विचार आदान प्रदान भएको उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
क्रोएशियाका राष्ट्रपतिसँगको भेटमा पारस्परिक हित र चासोको विविध विषयमा विचारविमर्श गर्नुका साथै राजनीतिक नेतृत्वमा नारीको भूमिकाबारे छलफल भएको थियो। नेपाल र क्रोएशियाबीच विद्यमान सुमधुर सम्बन्धप्रति दुवै राष्ट्रपतिले सन्तुष्टि व्यक्त गर्दै त्यसलाई थप घनीभूत तुल्याउनेबारेमा पनि विचार आदानप्रदान गरेकी थिइन्। 
उनीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। राष्ट्रपतिले फागुन २९ गते राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नेछिन्। राष्ट्रपतिको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त रूपमा स्वागत समारोह आयोजना गर्नेछन्। 
राष्ट्रपतिसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गरे। त्यस अवसरमा उनीहरूबीच जलवायु परिवर्तन, न्याय, नारी सशक्तीकरण र नारी नेतृत्वबारे छलफल भएको थियो। 
राष्ट्रपति भण्डारी भोलि बिहीबार न्यूयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरी चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?