राष्ट्रियसभाको निर्वाचन माघ २५ मा गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
सारांश
- काठमाडौं, १४ पुस ।
- राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।
- संविधानतः आयोगको परामर्श वा सुझावअनुसार सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
काठमाडौं, १४ पुस । राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ ।
संविधानतः आयोगको परामर्श वा सुझावअनुसार सरकारले निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुरुप आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ २५ गतेको मिति परामर्श दिएको निर्वाचन आयोगको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितको आयोगको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माघ २५ गतेका दिन निर्वाचनको यथाशीघ्र मिति घोषणा गर्न आग्रह गरेको थियो । सरकारले भने राजनीतिक दलहरुसँग छलफल गरी मन्त्रिपरिषद्को आगामी बैठकपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बुझिएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभाका ५ सय ५० सदस्य तथा ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुखहरु १ हजार ५ सय ६ गरी २ हजार ५६ जना मतदाता रहने छन् । प्रदेशको राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई आयोगले निर्वाचन अधिकृत तोक्ने बताइएको छ । उक्त निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेशसभाका सदस्यको मतभार ४८ रहने छ ।
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ३ महिला तथा १÷१ दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक गरी ८÷८ जनाका दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले १ महिलासहित ३ जना मनोनयन गर्ने व्यवस्था छ ।
प्रतिक्रिया