संगीत जीवन हो, जीवन पनि संगीत हो : विनोद ढकाल
सारांश
- काठमाडौं ।
- उनको लुक्स, गीत गाउने तौर तरिका र स्टेजका पर्फमेन्सका आधारलाई मूल्याङ्कन गर्ने हो भने ‘बब मार्ले’सँग तुलनायोग्य छन् ।
- तर, उनी बब मार्लेको सांगितिक उचाईसँग अहिले नै समानान्तर जोडिने व्यक्तित्वमा आफू नरहेको भन्दै बचाऊ गर्छन् ।
काठमाडौं । उनको लुक्स, गीत गाउने तौर तरिका र स्टेजका पर्फमेन्सका आधारलाई मूल्याङ्कन गर्ने हो भने ‘बब मार्ले’सँग तुलनायोग्य छन् । तर, उनी बब मार्लेको सांगितिक उचाईसँग अहिले नै समानान्तर जोडिने व्यक्तित्वमा आफू नरहेको भन्दै बचाऊ गर्छन् ।
वानेश्वरको मुटु संसद भवनसँग जोडिएको द लफ्ट लङको छतमा भेटिएका गायक, संगितकार, र्यापर विनोद ढकाल भन्छन्,‘संगीत जीवन हो, जीवन पनि संगीत हो ।’ धादिङमा हुर्किएर काठमाडौंलाई आफ्नो अध्ययन र व्यावसायीक यात्राको केन्द्रविन्दु बनाएका ढकालको सांगितीक जीवनको यात्रा त्यतिबेला सुरू भयो जतिबेला उनको संगत गायकगायिकाबीच कलेजमा हुने गर्दथ्यो । सुगम पोखरेल, अविनाश घिसिङहरूका सांगितिक संघर्षका दौरानमा ढकाल ल्याम लाइटमा थिए तर संगितभन्दा पर थिएनन् । अधिक नजिक थिए ।
कसैले लोकगीतमा र्यापको परिकल्पना गर्न सक्तैनथ्यो । त्यहि बेला ढकालले लोकगीतमा घुसाए र्याप र रामचन्द्र काफ्लेको ‘उकालीमा पनि हजुर’ भन्ने गीतले एउटा उचाई समात्यो । नेपाली गीतलाई अंग्रेजी भाषासँग समानान्तर बनाउँदै संगितमा नयाँ आयाम थप्ने काममा लागेका छन्, ढकाल । संगीतको फरक स्वाद दिने कोशिशमा उनका गीतहरूले बजारमा सोचेजति तहल्का मच्चाएनन् होला तर एउटा समयको प्रतिनिधित्व गरिरहेका छन् । ढकाल भन्छन्,‘विश्वका हरेक धड्कनमा गुञ्जिने शक्ति हो, संगीत । संगीतको आयतन वा आकार यहि हो भन्ने छैन त्यो जुनसुकै परिमाणमा घन्किरहन्छ । मैले पनि जीवनलाई अरूका मुटुमा घन्काउने प्रयत्न गरेको छु ।’
धेरैले ढकालको जीवनशैलीबारे प्रश्न गर्छन् । उनको व्यक्तित्वमाथि पनि प्रश्न उठ्छ । उनको लुक्समाथि त धेरै नै । तर, बब मार्लेको शैलीमा नेपाली सांगितिक बजारमा उदाएका ढकालको जवाफ पनि उस्तै छ,‘मैले बाँचेको जीवनबारे निर्णय लिने तिमी को हौ ? म पूर्ण छैन । र, हुन पनि चहान्न । औंला ठड्याउनु अघि तिमी आफ्नो हात हेर त्यो सफा छ की छैन ?’
काठमाडौंलगायतका नेपालका विभिन्न ठाउँमा हुने कार्यक्रममा धादिङे ठिटोको प्रस्तुती निक्कै तेजिलो हुने गरेको छ । काठमाडौंसँग भौतिक नाता जोडिएको धादिङ विकट भएपनि सहरी जीवनको प्रतिनिधित्व गराउने संगितसँग नजिक हुन ढकाललाई समय लागेन । कलेजका दिनहरूदेखि नै पश्चिमा संगितको पछाडी भागदौड गरेकै कारण ‘बाजेले गितार बजाको’, ‘भ्यालेन्टिनो’ जस्ता गीत अहिले इन्टरनेटमा रिलिज गरिसकेका छन् । उनको नयाँ गीतको म्युजिक भिडियोपनि यहि साँझ रिलिजको तयारीमा रहेको छ जुन पश्चिमा संगीतकै सामिप्यतासँग जोडिएको छ । ‘नेपाली जेन्टलम्यान’ बोलेको गीत जसलाई ढकालले गायक लक्ष्मण निरौलासँग सामुहिक गाएका छन् र म्युजिक भिडियोमा नम्रता सापकोटालगायतको अभिनय रहेको छ । गायनको यो गुण उनले मिहेनतले पाएका हुन् कसैले दिएको होइन । न त भगवानसँग उनका केही आशाहरू छन् । त्यसैले भन्छन्,‘भगवानले केही गर्छन् भन्ने आशा नगर तिमले अरूका लागि के गरेका छौ ? म यहि बाटोमा अघि बढिरहेको छु ।’
नेपालका धेरै गायकगायीकाले विश्व घुमिसकेका छन् । एउटा गीतको व्याज खानका लागि दुनियाँभरको दौडमा नेपाली सांगितीक क्षेत्रका मानिसहरू अभ्यस्त छन् । तर, ढकाल आफैंभित्र एउटा विश्व रहेको दाबी गर्छन् । ‘नेपाली संगितको बजार विश्वव्यापीकरण भएको राम्रो हो । तर, नेपालीमाझमात्र होइन, विश्वसमुदायमा नै नेपाली गायकका नेपाली शव्दका पश्चिमा शैली गुनगुनाउने वातावरण बन्नुपर्छ ।’, उनी थप्छन्,‘जसरी नेपालमा बब मार्ले, साकिरा, जस्टिन बीबरका गीत र लोकप्रियता बढिरहेको छ, नेपाली संगितको लोकप्रियता पनि उनको देशमा बढाउनुपर्ने दायित्व नेपाली सांगितिक क्षेत्रका मानिसमा हुनुपर्छ ।’
पैसाले खुसी किन्न मिल्दैन त्यसले दाल चामल र तरकारी किन्ने हो । तर, खुसी त आत्मविश्वास र लगावले मात्र दिन्छ । मेरो सांगितिक यात्रा दाल चामलका लागि पनि हो । तर, यो मिहेनतको असली लक्ष्यचाहीँ खुसी नै हो । त्यसैले म यहिँभित्र पौडी खेलेर खुसी रहन चहान्छु
आजको सही समय भोलीको उदास सोचका लागि खर्च गर्नुपर्ने मान्यतामा हिँडेका ढकाल भन्छन्,‘हामीले आज के गरिरहेका छौं त्यसको महत्व अघि सारी राम्रो काम आजै सक्नुपर्छ । भोलीको दुख सम्झेर आज बाँच्नु राम्रो होइन भन्ने लाग्छ । त्यसैले केही समयदेखि जुन काम आज थालेको छु, त्यसलाई आजै सक्ने प्रयत्नमा हिँडिरहेको छु ।’
अहिलेका गायकगायिका पैसाका पछाडी अभ्यस्त रहेका छन् । यो अभ्यासमा उनी सक्रिय छैनन् । पैसाका लागि संगितको बजारमा होइन, खुसीका लागि हिँडिरहेका छन् उनी । ‘पैसाले खुसी किन्न मिल्दैन त्यसले दाल चामल र तरकारी किन्ने हो । तर, खुसी त आत्मविश्वास र लगावले मात्र दिन्छ । मेरो सांगितिक यात्रा दाल चामलका लागि पनि हो । तर, यो मिहेनतको असली लक्ष्यचाहीँ खुसी नै हो । त्यसैले म यहिँभित्र पौडी खेलेर खुसी रहन चहान्छु ।’, उनी थप्छन्,‘मलाई जहाँ खुसी मिल्दैन म त्यहाँ जान्न । जस्तो राजनीतिक कार्यक्रममा गीत गाउन ।’
राजनीति आफ्नो खुसी र रूचीको विषय नभएका कारण उनलाई त्यो पाखण्डीहरूले गर्ने व्यावसाय लाग्छ । जनताको मतिष्कमा मनोरञ्जको तारको झन्कार हुनुपर्नेमा राजनीतिले आशा र निराशाको खेती गरिरहेको लाग्छ, ढकाललाई । उनी भन्छन्,‘सकिन्छ जनतालाई खुसी दिऔं, सकिँदैन उनका दिमागसँग खेलवाड नगरौं ।’
साभार : साझा पोष्ट
(Ambien)
प्रतिक्रिया