सातै प्रदेशमा सपथ-संघीयताको अभ्यास शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सातै प्रदेशमा सपथ-संघीयताको अभ्यास शुरु

सारांश

  • काठमाडौं, ८ माघ-सातवटै प्रदेशसभामा निर्वाचित सदस्यले आइतबार आ-आफ्नो प्रदेश मुकाममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • सरकारद्वारा नियुक्त प्रदेश प्रमुखले पदबहाली गरेपछि प्रदेशसभा सदस्यका लागि शपथग्रहणको बाटो खुलेको आजको नागरिक दैनिकमा खबर छ ।
  • प्रदेश १ को अस्थायी मुकाम विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटांैडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीमा आयोजित अलगअलग समारोहमा प्रदेशसभा सदस्यहरूले शपथ लिएका हुन् ।

काठमाडौं, ८ माघ-सातवटै प्रदेशसभामा निर्वाचित सदस्यले आइतबार आ-आफ्नो प्रदेश मुकाममा पद तथा गोपनीयताको शपथ लिएका छन् । सरकारद्वारा नियुक्त प्रदेश प्रमुखले पदबहाली गरेपछि प्रदेशसभा सदस्यका लागि शपथग्रहणको बाटो खुलेको आजको नागरिक दैनिकमा खबर छ ।
प्रदेश १ को अस्थायी मुकाम विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटांैडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीमा आयोजित अलगअलग समारोहमा प्रदेशसभा सदस्यहरूले शपथ लिएका हुन् ।

प्रदेशसभा सांसदले पद तथा गोपनीयताको शपथ लिएसँगै प्रादेशिक संरचनामा विधिवत रूपमा संसदीय लोकतान्त्रिक अभ्यास सुरु भएको छ । सबै प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराएका थिए । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयतमो शपथ गराए ।प्रदेशसभामा सभामुख, उपसभामुखको निर्वाचन नभएको अवस्थामा संविधानको धारा १८२ ९५० र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ ९१० अनुसार प्रदेश प्रमुखले निर्वाचित जेष्ठ सदस्यलाई शपथ गराउने व्यवस्था छ ।

आफ्नै भाषा, आफ्नै भेष
प्रदेश १ को विराटनगर र प्रदेश २ को जनकपुरमा प्रदेशसभा सदस्यले लगाएको पोसाक र आ-आफ्नो मातृभाषामा लिएको शपथले संघीयताको ‘सुन्दरता’ झल्किएको छ । प्रदेशसभा १ का ज्येष्ठ सदस्य झापा, भद्रपुरका ७३ वर्षीय ओमप्रकाश सरावगीले अन्य सांसदलाई शपथ गराएका थिए ।

प्रदेश १ का १४ जिल्लाबाट प्रत्यक्ष र समानुपातिकका ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, संघीय समाजवादी फोरमका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र स्वतन्त्र १ जना छन् ।

चार भाषामा शपथ-प्रदेश २ मा जनकपुर उद्योग वाणिज्य संघको राजर्षि जनक सभागृहमा भएको शपथग्रहण समारोहका अधिकांश सांसदले धोती, कुर्ता र गम्छा पहिरिएका थिए । प्रदेश सांसदले नेपाली, मैथिली, भोजपुरी र हिन्दी भाषामा शपथ लिए । जनकपुरमा पद तथा गोपनीयताको शपथग्रहणमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई शपथ गराए । लगत्तै चौधरीले अन्य १ सय ६ विधायकलाई शपथ गराए । प्रदेश २ मा प्रत्यक्ष निर्वाचित ६४ र ४३ समानुपातिक गरी १ सय ७ विधायक छन् ।

तामाङ बाहुल्य प्रदेश ३ मा नेपालीमै शपथ-तामाङ जातिको बाहुल्य रहेको प्रदेश ३ का सांसदले नेपाली भाषामै शपथ लिएका छन् । हेटौंडा–१० बसपार्कस्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा प्रदेश ३ का ज्येष्ठ सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदलाई शपथ गराएका हुन् । यसअघि पौडेलले प्रदेश प्रमुख अनुराधा पौडेलबाट शपथ लिएका थिए ।

प्रदेशमा संसदीय अभ्यास-प्रदेश ४ मा प्रमुख बाबुराम कुँवरले पदबहाली गरेपछि क्षेत्रीय प्रशासनको सभाहलमा ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठलाई शपथ गराए । त्यसपछि श्रेष्ठले बाँकी ५७ जना प्रदेशसभा सदस्यलाई शपथ गराए । प्रदेश ४ मा ५८ जनाले नै नेपाली भाषामा शपथ गरे । प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिकका २४ गरी ६० सदस्यीय ४ नम्बर प्रदेशसभामा दुई सांसद उपस्थित भएनन् । उपस्थित नहुने दीपक मनाङे र तनहुँ क्षेत्र नम्बर १ ९क० बाट निर्वाचित सदस्य रामबहादुर गुरुङ छन् । मनाङे भने अदालतबाट पाँच वर्ष जेल सजाय भएपछि उपस्थित नभएका हुन् ।

सरकार गठनको बाटो- प्रदेशसभा ५ का सांसदलाई बुटवलस्थित उद्योग वाणिज्य संघको सभाहलमा शपथ गराइयो । प्रदेशसभाका ८७ सांसदमध्ये ज्येष्ठ सांसद बलराम शर्मा पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले शपथ गराए । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ५१ र समानुपातिक ३५ गरी ८७ जना सांसद छन् । प्रदेशसभा सदस्यले सपथ लिएलगत्तै नयाँ सरकार गठनका बाटो खुलेको छ ।

‘स्वर्णयुगमा प्रवेश’- प्रदेश नम्बर ६ का ४० सांसदले पनि सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सपथ लिए । सुरुमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले ज्येष्ठ सदस्य हिमबहार शाहीलाई शपथ गराए । त्यसपछि ६८ वर्षीय शाहीले अन्य ३९ सदस्यलाई शपथ गराए ।

अजेन्डा आर्थिक समृद्धि-प्रदेश नम्बर ७ का सांसदले जिल्ला समन्वय समिति कैलालीको सभाहलमा पद तथा गोपनीयताको शपथ लिएका छन । प्रदेश प्रमुख मोहनराज मल्लले सुरुमा ज्येष्ठ सदस्य ७४ वर्र्षीय दिव्येश्वरी शाहलाई शपथ गराएका थिए । प्रदेश प्रमुखवाट शपथ लिइसकेपछि शाहले अन्य सदस्यलाई शपथ गराइन् ।
प्रत्यक्ष निर्वाचित ३२ र समानुपातिकबाट निर्वाचित २१ गरी यो प्रदेशसभा ५३ सदस्यीय छ । जसमध्ये ५१ जनाले मात्र शपथ लिएका छन् । कार्यक्रममा डोटीबाट निर्वाचित सदस्य भरतबहादुर खड्का र समानुपातिक कोटाबाट निर्वाचित कैलालीकी चुनकुमारी चौधरी अनुपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?