साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
५३ पटक हेरिएको
Shares
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”

सारांश

  • काठमाडौं, ११ चैत ।
  • साहित्यकार तथा समालोचकहरुले साहित्यकार मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास भनेका छन् ।
  • भव्य कार्यक्रमबीच सुवर्णलता कृतिमाथि भएको अन्तरसंवादमा बोल्दै साहित्यकार तथा समालोचकहरुले त्यस्तो धारणा राखेका हुन् ।

काठमाडौं, ११ चैत । साहित्यकार तथा समालोचकहरुले साहित्यकार मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास भनेका छन् । भव्य कार्यक्रमबीच सुवर्णलता कृतिमाथि भएको अन्तरसंवादमा बोल्दै साहित्यकार तथा समालोचकहरुले त्यस्तो धारणा राखेका हुन् ।

साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अमर न्यौपाने, समालोचक डा. रामप्रसाद ज्ञवाली र प्रा. राम लोहनीले कृतिको बारेमा आफ्नो धारणा पस्केका थिए । कृतिबारे बोल्दै साहित्यकार अमर न्यौपानेले भने, “नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल छ । उपन्यास केही लामो भएकाले केही बोझिलो लाग्न सक्छ तर यसका भावले पाठकलाई अन्यत्र भाग्न दिँदैन । अत्यन्त सरल भाषा प्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ ।” न्यौपानेले उपन्यासकी नायिका सुवर्णलता पच्चीस सय वर्षभन्दा ज्यादा जीवित हुनु र उनमा शारीरिक क्षय नहुनु केही अपत्यारिला तथ्य लागे पनि उपन्यास लेखनमा यस्ता कुरा मान्य हुने धारण ब्यक्त गरे ।

अर्का वक्ता डा. रामप्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलतामा पाठकलाई सुरुदेखि अन्त्यसम्म बाध्ने आर्कषण रहेको बताए । लेखकले मायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेको उल्लेख गरे । उपन्यासमा बौद्ध दर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषामा प्रयोग गरिएको भन्दै केशरीमा गहिरो बौद्धधर्मको चेतना रहेको विचार प्रस्तुत गरे ।

प्रा. राम लोहनीले भने, “उपन्यासले फरक विषयवस्तु उठाएको छ । पाठक जुन कथामा प्रवाहित भइरहेको हुन्छ, उपन्यासको मध्यभागमा पुग्दा अर्कै संसारमा बिचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार । उपन्यासमा बुद्ध जीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नायिकाको वार्तालाप र प्रेम प्रस्ताब अत्यन्त मार्मिक छ ।” भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिने विश्वास उनले ब्यक्त गरे ।

लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँ ऊर्जा प्राप्त भएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताए । आफ्नो प्रयासलाई पाठकले मन पराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले जानकारी दिए । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ