स्थानीय निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने कांग्रेसको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७८
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ ।
  • सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो ।
  • बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा.

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।

‘केन्द्रीय समितिको बैठकमा अधिकांश साथीहरूले आवश्यक्ताको आधारमा, सिद्धान्तमा तालमेल, गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र आउने संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने परिस्थिति निर्माण हुनसक्ने किसिमको सल्लाह, सुझाव दिनुभयो,’ उहाँले भन्नुभयो, ‘कतिपय साथीहरूको मत गठबन्धन नगरीकन एक्लै पार्टी गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ, परिचय गर्नुपर्छ भन्ने आएको थियो ।’

महतले आज (सोमबार) सबै केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राखिसकेको र बैठकमा पार्टीलाई बलियो बनाउने भन्ने बारेमा छलफल भएको बताउनुभयो । बैठकमा ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियानको मूल्याङ्कन भएकोसमेत जानकारी दिनुभयो ।

‘छलफल आज टुंगिएको छ, भोलि तीन बजेको बैठकमा हामी निर्णय गर्छौं,’ उहाँले भन्नुभयो, ‘बोल्ने सिलसिलामा स्थानीय तहमा पार्टीको मजबुती, ‘घर घर जाऔं, नेपाली कांग्रेस जिताऔं’ अभियानको मूल्याङ्कन भयो ।’

बैठकमा कतिपय सदस्यले गठबन्धन नगरी कांग्रेस निर्वाचनमा जानुपर्ने धारणा राखेकोसमेत प्रवक्ता महतले बताउनुभयो ।

प्रवक्ता महतले पार्टीको अर्को केन्द्रिय समिति बैठक भोलि (मंगलबार) अपरान्ह ३ बजे बस्ने र केन्द्रीय समितिका सदस्यहरूको धारणाअनुसार नै सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुने बताउनुभयो ।

‘साथीहरूको सल्लाह सुझावका आधारमा प्रस्ताव तयार हुन्छ र भोलि तीन बजे केन्द्रीय समितिको बैठक बसेर हामीले निर्णय गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘भोलि सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?