३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
सारांश
- काठमाडाै, १ जेठ ।
- अवैध सुनको कारोबार र सनम शाक्य हत्या प्रकरणमा जोडिएर पक्राउ परेका ३० जना प्रतिवादीको पक्षमा सोमबार ११ जना कानुन व्यवसायीको बहस सकिएको छ।
- उनीहरुले हराएको भनिएको ३३ किलो सुन कहाँ छ भन्ने प्रश्न गर्दै प्रतिवादीहरुलाई फसाइँएको दाबी गरेका छन्।
काठमाडाै, १ जेठ ।अवैध सुनको कारोबार र सनम शाक्य हत्या प्रकरणमा जोडिएर पक्राउ परेका ३० जना प्रतिवादीको पक्षमा सोमबार ११ जना कानुन व्यवसायीको बहस सकिएको छ। उनीहरुले हराएको भनिएको ३३ किलो सुन कहाँ छ भन्ने प्रश्न गर्दै प्रतिवादीहरुलाई फसाइँएको दाबी गरेका छन्।
प्रतिवादीको पक्षमा वकालत गरेका कानुन व्यवसायीले सोमबार पनि ‘सबै तरकारीमा मिल्ने आलुलाई मासुमा मिलाएजस्तो’ गरी सनम शाक्यको हत्यासँगै संगठित अपराध गरेको अभियोगमा निर्दोषलाई समेत फसाइएको दाबी प्रस्तुत गरे।
प्रतिरक्षा बहसमा वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठ, योगेन्द्र न्यौपाने तथा अधिवक्ताहरू रामबहादुर राउत, अमर राउत, जनगप्रसाद फुयाँल, रमिता महर्जन, सुनीलकुमार सिंह, हरिनारयाण चौधरीले आफ्नो पक्ष निर्दोष रहेको दाबी इजलासमा प्रस्तुत भएका गरेका थिए।
वरिष्ठ अधिवक्ता आचार्य र भट्टराई तथा श्रेष्ठले प्रहरी नायब उपरीक्षक प्रजित केसीको संलग्नता कहीँ कतै नरहेपनि कसैले पोलेकै भरमा बिनाप्रमाण अभियोग लगाइएको दाबी गरे। केसीसँगै अमरमान डंगोलको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले आफ्नो पक्ष घटनामा संलग्न नरहेकाले साधारण तारिखमा छाड्नुपर्ने आदेशको माग गरे।
प्रहरी नायब उपरीक्षक सञ्जय राउतको पक्षमा बहस गर्दै अधिवक्ता रामबहादुर राउत र अमर राउतले कुनै व्यक्तिले गरेको फोन सम्पर्कलाई मात्रै आधार र प्रमाण मान्न नसकिने दाबी गरे। यसैगरी, सुनका लगानीकर्तामध्येका एक प्रतिवादी चाचाजी भन्ने महावीर गोल्यान अग्रवाल शाक्यको हत्या र सुनको कारोबारमा संलग्न भन्ने आधारबिना प्रहरीले पेस्तोल देखाएर अनुसन्धान गरेको दाबी वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपानेले गरेका थिए। यसअघि यतना दिएर बयान लिइएको भनेपछि सरकारी वकिलले बयान लिँदाको भिडियो रेकर्ड इजालसमा देखाउन खोजेका थिए। रेकर्डमा यातना दिएको नभेटिएपछि प्रतिवादी वकिलले भिडियो प्ले रोकेका थिए।
उनकै पक्षमा अधिवक्ता जगनप्रसाद फुयाँलले नखाएको विष प्रहरीका कारण गोल्यानलाई लगाउन खोजिएको आरोप लगाए।
अधिवक्ता रमिला महर्जनले सम्बीरमान तोलाङ्गे, अमरबहादुर थापा र बीरेन्द्रमान श्रेष्ठको पक्षमा बहस गर्दै सादा तारिख आदेश माग गरेकी थिइन्। प्रतिवादीमध्ये तोलाङ्गे र श्रेष्ठ थाई एयरलाइन्सका कर्मचारी हुन् भने थापा प्रहरी हवल्दार हुन्। अधिवक्ता महर्जनले थाई एयरका कर्मचारीको संलग्नता देखिने प्रमाण नभएको र प्रहरी सेवामा इमान्दार रहेका प्रहरी हबल्दार थापालाई अर्का प्रतिवादी बिष्णुबहादुर खड्काले पोलेकै भरमा अभियोग पुष्टि गर्न नमिल्ने दाबी गरिन्।
यसैगरी, तोलाङ्गे र वीरेन्द्रमान श्रेष्ठको पक्षमा अधिवक्ता सुनीलकुमार सिंह र पुण्यप्रसाद लामाको पक्षमा अधिवक्ता हरिनारायण चौधरीले बहस गरेका थिए।
आइतबारदेखि सुरु भएको बहसमा हालसम्म १६ जना कानुन व्यवसायीले प्रतिवादीको पक्षमा बहस गरिसकेका छन्। आइतबारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमनकुमार श्रेष्ठ, राजु बस्नेत, यदुनाथ खनाल र उद्धब केसीले बहस गरेका थिए।
हुन्डी कारोबारी पक्राउ
अवैध सुन भित्र्याउन चुडामणि उप्रेति (गोरे) का सहयोगी बन्दै आएका २ जना हुन्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौंंमा पक्राउ गरी मोरङ जिल्ला अदालतमार्फत् म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
गोरेले दुबईमा किन्ने गरेको सुनका लागि आवश्यक रकम जम्मा गर्ने र लगानीकर्तालाई हुन्डीमार्फत् रकम पठाउने काममा सहभागी भएको आरोपमा झापा दमक–९ मा न्यु सिद्धकाली मनी ट्रान्सफर सञ्चालन गर्दै आएका बिनोद अधिकारी र दोखला भीमेश्वर नगरपालिकाका मोहित श्रेष्ठ प्रहरीको नियन्त्रणमा परेका हुन्।
सुनको कारोबार र शाक्यको हत्याका अभियुक्त ६३ प्रतिवादीभन्दा बाहिरका यी दुई व्यक्तिलाई गृह मन्त्रालयद्वारा गठित छानविन समितिको रायअनुसार पक्राउ गरिएको हो। उनीहरू पनि सुनतस्करीमा संलग्न भएको यसअगाडि नै खुलिसकेपछि ठेगाना थाहा नहुँदा पक्राउ पर्न सकेका थिएनन्।
पक्राउ परेका उनीहरूविरुद्ध अनुसन्धानका निम्ति जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरिएको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए। नेपाल खवरमा समाचार छ ।अधिकारी र श्रेष्ठलाई काठमाडौंमा पक्राउ गरी मोरङ ल्याइएको हो। उनीहरूविरुद्ध आपराधिक समूह स्थापना गरी सुनको चोरी–पैठारी र निकासी गरेको आरोपमा अनुसन्धान गरिने छ। यसैगरी, संगठित अपराधका नाइके तथा शाक्य हत्याका मुख्य अभियुक्त गोरेका सदस्य तथा सहयोगीको रूपमा समेत मुद्दा चलाइने भएको छ। सुनकाण्डमा पक्राउ पर्नेको संख्या भने अब ३३ पुगेको छ। काठमाडौंमै ३ दिनअगाडि सुन कारोबारी तथा प्रतिवादी भुजुङ गुरुङका सवारी चालक फाल्देन गुरुङलाई समेत पक्राउ गरिसकिएको छ।
जिल्ला न्यायाधिबक्ता पुण्यप्रसाद पाठककाअनुसार पक्राउ पर्दै जाने व्यक्तिमाथि अब ६० दिनसम्म अनुसन्धान गरेर संगठित अपराध निवारण ऐनअनुसार नै छुट्टै मिसिल तयार पारी मुद्दा दर्ता गरिनेछ। संगठित अपराधमै संलग्न भएका तर ठेगाना नखुलेका सन्दीप खड्कालाई बिनोद अधिकारीले रकम हुन्डीमार्फत् पठाउने काम गरेको खुलेको छ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार मोहित श्रेष्ठले दुबईमा काम गर्ने नेपालीबाट दिराम संकलन गर्थे भने अधिकारीले संकलन भएको दिराम बराबरको रकम यहाँ कामदारका परिवारलाई उपलब्ध गराउँथे। त्यसबाहेक सुनको अबैध कारोबारमा जोडिएका कारोबारी, व्यवसायी, प्रहरी अधिकारीहरुलाई अधिकारीले नै रकम पठाउँदै आएका थिए।
प्रतिक्रिया