आइजीपी खनालको २१ महिनाः कहाँ बाजी मारे कहाँ चुके

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
आइजीपी खनालको २१ महिनाः कहाँ बाजी मारे कहाँ चुके

सारांश

  • काठमाडौं, २० माघ ।
  • नेपाल प्रहरीमा माघ २८ पछि नयाँ प्रहरी महानिरीक्षकले नेतृत्व गर्दैछन् ।
  • झन्डै ८० हजारको फोर्सलाई ८ दिनपछि आफ्नो संगठनको प्रमुख को हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन ।

काठमाडौं, २० माघ । नेपाल प्रहरीमा माघ २८ पछि नयाँ प्रहरी महानिरीक्षकले नेतृत्व गर्दैछन् । झन्डै ८० हजारको फोर्सलाई ८ दिनपछि आफ्नो संगठनको प्रमुख को हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन । सम्भवतः २८ गते मात्र सरकारले नयाँ आइजिपी चयन गर्नेछ ।

अर्काे महत्वपूर्ण कुरा जो आइजिपी भएपनि उनीहरुसँग नीतिगत तहमा बसेर काम गरेको अनुभव हुने छैन । एक वर्षअघि मात्र डिआईजी भएका प्रहरी अधिकृतमध्येबाट सिधैं महानिरीक्षक बन्नेछन् । प्रहरीमा ‘करिअर’, ‘प्लानिङ’ र नेतृत्व विकासको नीति नहुँदा यस्तो अवस्था आएको हो । राज्यले प्रहरीलाई बलियो बनाउन नचाहँदा केही वर्षयता प्रहरी महानिरीक्षक चयनमा यस्तो दृश्य दोहोरिदै आएको छ । यसको फाइदा राजनीतिक नेतृत्वले उठाउँदै आएको छ भने, संगठन र देशले यसको मूल्य चुकाउनुपरेको छ ।

आफ्नो स्वार्थका लागि राजनीतिक नेतृत्वले नेपाल प्रहरीलाई बलियो बनाउन नचाहेको प्रहरी अधिकारीहरु बताउँछन् । त्यही कारण नेतृत्व विकासको प्रणाली लागू नगरिएको र अन्तिम दिनमा आएर आइजिपी चयन हुँदै आएको छ । यसले अस्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै प्रहरी नेतृत्वलाई पनि कमजोर बनाउने गरेको छ ।

यसपटक विगतमा जस्तो आइजिपी छनोटमा चर्काे दौडधुप देखिएको छैन । दुई जना मात्र प्रतिस्पर्धी भएको र पाँच महिनाको मात्र कार्यकाल भएकाले पनि त्यस्तो अस्वस्थ चलखेल छैन । तर, पनि कम्तीमा एक महिना अगाडि नै निमित्तको जिम्मेवारी दिएर खटाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् । नेपाली सेनामा एक वर्षअघि नै को चिफ बन्छ भन्ने तय हुन्छ । प्रधानसेनापतिले अनिवार्य रुपमा एक महिनाअघि अवकाश लिन्छन् । जसले गर्दा भावी नेतृत्वकर्ताले सबै कुरा बुझिसकेको हुन्छ ।

नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको कारण पनि समस्या भएको हो । उच्च तहमा सबै आइजिपीकै ब्याच हुने र उनीहरुले एकैपटक अवकाश पाएपछि सिधैं डिआईजीबाट बढुवा गर्नुपर्ने अवस्था छ । यसअघि लगातार दुई पटक डिआईजीबाट सिधैं आइजिपी बनाइएकोमा तेस्रो पटक पनि डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यता सरकारसँग छ ।

खनालका २१ महिना
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल केही सफलता र केही असफलता लिएर संगठनबाट बिदा हुँदै छन् । करिब २१ महिनामा संगठनलाई उनले केही योगदान दिएका छन् भने कतिपय अवस्थामा उनको कमजोरी पनि देखिएको छ ।

उनी प्रहरी महानिरीक्षक हुँदा सुन तस्करी प्रकरण चर्किएको थियो । गृह मन्त्रालयले बिशेष टोली बनाएर अनुसन्धान गरिरहेको थियो । जसमा सुरुमा खनालले ठूलो चासो दिएनन् । जब त्यसमा धमाधम प्रहरी अधिकारीहरु नै पक्राउ पर्न थाले, त्यसपछि उनको नेतृत्वको परीक्षा सुरु भयो । सनम शाक्य हत्याको अनुसन्धानमा लापरबाही गरेको आधारमा बिशेष टोलीले प्रहरीका केही अब्बल अनुसन्धान अधिकृतहरुलाई समेत पक्राउ गरेर संगठित अपराध मुद्दा चलायो । सुन तस्कर तथा हत्याका आरोपीसँग मिलेको अवस्थामा त्यसरी मुद्दा चलाउन सकिन्थ्यो, तर लापरबाहीकै आधारमा अनुसन्धान अधिकृतहरु जेल जानु परेपछि प्रहरी नेतृत्वको क्षमतामा पनि प्रश्न उठ्यो । किनकि, त्यो विभागीय सजाय हुनुपर्ने प्रकृतीको लापरबाही थियो । मुद्दा नै चल्दाखेरि प्रहरीका अनुसन्धान अधिकृतहरुको मनोबल खस्कियो । यसमा महानिरीक्षक खनालको राम्रो भूमिका नभएको आरोप पूर्व प्रहरी अधिकारीले सार्वजनिक रुपमै लगाए ।

उनको दोस्रो र सबैभन्दा ठूलो परीक्षा निर्मला पन्त हत्या र बलात्कार घटनामा भयो । उनी महानिरीक्षक भएको ४ महिनामै त्यो घटना भएको थियो । जसको अनुसन्धान अहिलेसम्म सकिएको छैन ।

सुरुमा केही प्रहरीले अनुसन्धानमा लापरबाही गरे । त्यही कारण प्रहरीविरुद्ध औंला उठ्यो । तर, त्यो प्रकरणमा प्रहरीले नक्कली अभियुक्त खडा गरेको आवाज उठ्यो, जसलाई प्रहरी नेतृत्व र गृह मन्त्रालयले नै सदर गरेर प्रहरीमा गलत नजिरको स्थापना गरे ।

त्यतिबेला पक्राउ परेका दिलीपसिंह बिष्ट नक्कली अभियुक्त भएको भन्दै प्रहरीविरुद्ध आक्रोश फैलिएको थियो । उनको डिएनए नमिलेपछि प्रहरी रक्षात्मक अवस्थामा पुग्यो । जनदबाबकै आधारमा त्यतिबेला अनुसन्धानमा आबद्ध नौ प्रहरीविरुद्ध मुद्दा चल्यो भने अन्य दुई दर्जन कारबाहीमा परे । अहिले आएर उनै दिलीपसिंह विष्ट सो घटनाको सबैभन्दा नजिक देखिएका छन् । उनी स्वयंले आफ्नो अपराध स्वीकारेका छन् । खनालले उनलाई फेरि पक्राउ गरेर मुद्दा चलाउने तयारी समेत गरे । तर, अकाट्य प्रमाण नहुँदा प्रहरीले यसमा निर्णय लिन सकेको छैन । यो प्रकरणमा पनि प्रहरी नेतृत्वको कमजोरी देखिन्छ । किनकि त्यतिबेलाको अनुसन्धान टोलीले बदनियत राखेर अनुसन्धान नगरेको पुष्टि भएको छ । त्यति हुँदाहुँदै पनि अनुसन्धान अधिकृतले मुद्दा खेप्नुपर्ने भएपछि यसले प्रहरीको मनोबल थप खस्कने काम भयो ।

निर्मला प्रकरणपछि प्रहरी र नागरिकबीचको दुरी बढ्यो । प्रहरीमाथि अविश्वास बढ्यो । अविश्वासको त्यो खाडल पुर्न प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु ग¥यो । वडा तहसम्म प्रहरी र नागरिकका संयन्त्र स्थापित भए । स्थानीय तहबाट प्रहरीले स्रोत साधन पाउन थाल्यो । यो कार्यक्रमले प्रहरीसँग जनताको निकटता बढाएको छ । प्रहरीप्रति केही हदसम्म सर्वसाधरणको सोचाई फेरिएको छ । महानिरीक्षक खनालको कार्यकालको सबैभन्दा राम्रो काम भनेको यही नै हो ।

त्यस्तै उनी आइजिपी हुँदा विप्लव समूहको आतंक बढेको थियो । उनकै कार्यकालमा ठूला विष्फोट पनि भए । सो समूहविरुद्ध प्रहरीले आक्रामक कारबाही ग¥यो, जसमा पार्टीका ८० प्रतिशत नेता र कार्यकर्ता पक्राउ परेका छन् । यो उनको सफलता हो, तर अझै सो समूहका आतंक रोकिएका छैनन् ।

महानिरीक्षक खनाल इन्सपेक्टर हुँदादेखि नै आक्रामक पुलिसिङमा विश्वास राख्ने सफल अधिकृत हुन् । अपराधीहरुलाई ‘ठोक्नुपर्छ’ भन्ने उनको मान्यता छ । जिल्ला इन्चार्जहरुलाई निर्देशन दिंदा त्यसै भन्छन् । सोही नीतिअनुसार धेरै उनको कार्यकालमा प्रहरीका धेरै गोली खर्च भए । सामान्य अपराधीलाई पक्राउ गर्न पनि खुट्टामा गोली हान्ने प्रवृत्ति सुरु भयो । यो प्रवृत्तिले अपराधीलाई तर्साउँला । तर, प्रहरीको छवी राम्रो बनाएको छैन । किनकी धेरै घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेर गोली हानेको छ । सर्लाहीमा कुमार पौडेलको इन्काउन्टरबाट प्रहरीले ठूलो मूल्य चुकाउनु परेको छ । त्यसमा संलग्न तीन प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउन राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन दिएको छ । अन्य घटनाको पछि छानबिन जारी छ ।

यसबीच खनालको कार्यकालमा उच्चपदस्थ व्यक्तिहरु पक्राउ परे । त्यो उनको सफलता हो । पछिल्लोपटक कांग्रेस सांसद अफताब आलम पक्राउ परे । त्यसमा उनको भूमिकाको कदर गर्नैपर्छ । गृहमन्त्रीका भाइदेखि तत्कालीन सभामुख कृष्णबहादुर महरासम्म पक्राउ परेपछि कानूनको नजरमा कोही सानो ठूलो हन्न भन्ने सन्देशसमेत गएको छ । उनी प्रहरीका सामान खरिदसम्म विवादबाट मुक्त हुन सकेनन् । प्रहरीबीचको गुटको राजनीति उनको कार्यकालमा पनि जारी नै रह्यो । कतिपय बढुवा सरुवामा उनी चुके । यद्यपि प्रहरीलाई साधन स्रोत सम्पन्न गराउने प्रयास गरे । समग्रमा खनालको कार्यकाल मध्यम रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।(दृष्टिबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध पोल्ट्रीजन्य वस्तु भित्रिँदा किसानलाई समस्या
अवैध पोल्ट्रीजन्य वस्तु भित्रिँदा किसानलाई समस्या
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
कांग्रेसकाे दिमाग मरुभूमि बनेको छ । – केपी शर्मा अाेली
कांग्रेसकाे दिमाग मरुभूमि बनेको छ । – केपी शर्मा अाेली
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
बाहिर खाजाघरको बोर्ड भित्र यौन धन्दा !
बाहिर खाजाघरको बोर्ड भित्र यौन धन्दा !
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमकाे निशुःल्क स्वास्थ्य शिविर सम्पन्न !
प्रधानमन्त्री ओली अजरवैजान प्रस्थान
प्रधानमन्त्री ओली अजरवैजान प्रस्थान
तिन महिने  कम्प्युटर तालीम समापन !
तिन महिने कम्प्युटर तालीम समापन !
बिना अनुमति भीर माहुरीको मह काढ्ने दिन गयो
बिना अनुमति भीर माहुरीको मह काढ्ने दिन गयो
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,

तपाईंले छुटाउनुभयो कि?