हुण्डी कारोबारविरुद्ध सीआईबीको कारबाही, एक जना नियन्त्रणमा
सारांश
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्ने अवैध वित्तीय गतिविधि विरुद्ध अनुसन्धानका क्रममा झण्डै दुई अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न मुख्य आरोपीलाई काठमाडौँबाट नियन्त्रणमा लिएको छ।
- पक्राउ पर्नेमा धादिङ घर भई हाल नागार्जुन बस्ने राजेन्द्रप्रसाद रिजाल रहेका छन्।
- सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार शंकास्पद बैंकिङ कारोबारको सुक्ष्म प्राविधिक विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँग संगठित सञ्जाल बनाई ठूलो परिमाणमा हुण्डीको अवैध धन्दा चलाएको प्रहरीका अनुसार अनुसन्धानका क्रममा खुलेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्ने अवैध वित्तीय गतिविधि विरुद्ध अनुसन्धानका क्रममा झण्डै दुई अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न मुख्य आरोपीलाई काठमाडौँबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङ घर भई हाल नागार्जुन बस्ने राजेन्द्रप्रसाद रिजाल रहेका छन्।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार शंकास्पद बैंकिङ कारोबारको सुक्ष्म प्राविधिक विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँग संगठित सञ्जाल बनाई ठूलो परिमाणमा हुण्डीको अवैध धन्दा चलाएको प्रहरीका अनुसार अनुसन्धानका क्रममा खुलेको छ।
यो कारबाही ब्युरोको विशेष टोलीले हालै नागार्जुन नगरपालिका वडा नम्बर ८ स्थित राधाकृष्ण मन्दिर आसपासको क्षेत्रबाट गरेको हो। शंकास्पद गतिविधिमा संलग्न रिजाललाई नियन्त्रणमा लिनुअघि प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला अदालत काठमाडौंबाट औपचारिक रूपमा पक्राउ अनुमति लिएको थियो। अदालतको अनुमति लगत्तै मंगलबार बेलुका गरिएको यो आकस्मिक अपरेसनले हुण्डी सञ्जालका अन्य सदस्यहरूलाई समेत झस्काएको छ।
ब्युरोको प्रारम्भिक अनुसन्धानबाट रिजालले बैंकिङ प्रणालीभन्दा बाहिरबाट कुल एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको अवैध पुँजी परिचालन गरेको प्रारम्भिक अनुसन्धानअनुसार देखिएको छ।”प्रहरीका अनुसार उक्त कारोबारले औपचारिक वित्तीय प्रणालीमा असर पार्न सक्ने देखिएको छ। बरामद प्रमाण र बैंक खाताहरूको विस्तृत विवरणका आधारमा गिरोहका अन्य आरोपीहरूको खोजी कार्य तीव्र पारिएको छ।
नेपालको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुरक्षित राख्न र अवैध आर्थिक कारोबार नियन्त्रण गर्न यो कानुनी कदम चालिएको सीआईबीले जनाएको छ। पक्राउ परेका रिजालमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र हुण्डी कारोबार निषेध गर्ने कानुन अन्तर्गत थप हिरासतमा राखी गहिरो अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया