कतारमा ११ नेपाली कोमामा, को को छन् सूचिसहित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
५५ पटक हेरिएको
Shares
कतारमा ११ नेपाली कोमामा, को को छन् सूचिसहित

सारांश

  • काठमाडौं, १९ माघ- महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् ।
  • अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको आजको कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।
  • घाइते नेम्वाङ त्यसै बेलादेखि कोमामा गएका हुन् ।

काठमाडौं, १९ माघ- महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको आजको कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।

घाइते नेम्वाङ त्यसै बेलादेखि कोमामा गएका हुन् । उनको थप उपचार नभए पनि हेरचाह भने अस्पतालले नै गरिरहेको छ । उनलाई नेपाल पठाउन अस्पतालले लामो प्रयास गरे पनि परिवारका तर्फबाट कोही पनि बुझ्न आएका छैनन् ।नेपाली दूतावासका अनुसार नेम्वाङका परिवार दूतावासको सम्पर्कमा छैनन् ।

हमाद अस्पतालमा नेम्वाङसहित ११ नेपाली कोमामा छन् । यीमध्ये सबैभन्दा बढी समयदेखि कोमामा रहेका उनै हुन् । दूतावासका अनुसार हमाद अस्पतालमा कोमामा रहेका नेपालीमा नउलाखोर परासही–२ धनुषाका विन्दे मुखिया विन, शान्तिनगर–५ दाङका भक्तबहादुर रासकोटी मगर, अनिश गोसल जोगी, जर्मन मुखिया, देवीमान्डु–५ बैतडीका भरतराम यादव लावड, गोविन्दपुर–६ धनुषाका सन्तोषकुमार यादव छन् । त्यस्तै चौखवाङ–९ रुकुमका ललित बुढा, जंगवीर गुरुङ, सुकराज फहिम र चन्द्र गुरुङ कोमामा छन् ।

नेपाल सरकारले जिम्मा नलिएपछि यी बिरामी स्वदेश पठाउन नसकिएको नेपाली दूतावासको भनाइ छ । हमाद अस्पतालले पटक–पटक दूतावासलाई बिरामीको जिम्मा लिन दबाब दिँदै आएको थियो । ‘हामीले सम्भव भएसम्म उपचार गरिदियौं, उनीहरूको डिस्चार्ज भइसक्यो,’ हमाद अस्पतालका एक अधिकारीले कान्तिपुरलाई भने, ‘नेपालबाट कुनै अस्पतालले उपचार गर्ने जिम्मासहितको पत्र पठाइदिए हामी पठाइदिन्छौं । खासमा यो नेपाल सरकारको दायित्व हो ।’ यसअघि परिवार आफैंले बुझ्न तयार भएपछि हमादले कोमामा रहेका ७ बिरामीलाई पठाइदिएको थियो । केही एजेन्टले भने वयोधालगायतका निजी अस्पतालसँग मिलेमतो गरी दूतावासलाई जानकारी नै नदिई बिरामी नेपाल ल्याएका छन् ।

कोमामा रहेकालाई नेपाल ल्याउँदा सबैलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति छ । अस्पतालले बिरामी लैजान दबाब बढाएपछि दूतावासले पनि परिवारसँग सम्पर्क गर्दै आएको छ । परिवारका सदस्यहरू भने नेपालमा ल्याएर उपचार गर्न आफूहरू सक्षम नभएको बताउँछन् । आर्थिक अभावका कारण कोमामा रहेका बिरामी कतारकै अस्पतालमा रहन बाध्य भएको दूतावासका एक अधिकारले बताए । हमादले कोमामा रहेका बिरामी घर पठाउन नेपाल सरकारले जिम्मेवारी लिनुपर्ने बताएको छ । ‘बिरामीको क्षतिपूर्तिका लागि नेपाली दूतावासले मुद्दा लडिदिनुपर्छ । यो दूतावासको दायित्व हो,’ हमादमा कोमाका बिरामी हेर्ने एक केस म्यानेजरले भने, ‘हाम्रो जिम्मेवारी उपचार गरिदिने हो । उनीहरूलाई बाँचुञ्जेल उपचार चाहिन्छ ।’

बिरामी नेपाल पठाउन अस्पतालले ‘मेडिकल स्कर्टिङ’ उपलब्ध गराउँछ । यसका लागि दुुई जना डाक्टर चाहिन्छन् । ‘विमान खर्च र नेपालको अस्पतालमा लाग्ने दुई महिनासम्मको शुल्क पनि हमादले नै दिन्छ,’ ती म्यानेजरले भने, ‘त्यसपछिको उपचारको जिम्मा भने नेपाल सरकारले लिनुपर्छ ।’ कोमाको बिरामीलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको एउटा समिति पनि क्रियाशील थियो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले त्यस्ता बिरामीको जिम्मेवारी लिन गृहकार्य भइरहेको जनाएको छ । ‘खाडी तथा मलेसियाबाट कोमामा ल्याइएका बिरामीको जिम्मेवारी तथा थप उपचार गर्न बजेट छुट्याइसकेका छौं,’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गर्न पहल भइरहेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सुविधासहितको बेड उपलब्ध गराए त्यस्ता बिरामी ल्याउन सकिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?