गठबन्धनभित्र समस्यै समस्या
सारांश
- काठमाडौं ।
- गत फागुनमा सम्पन्न राष्ट्रपति निर्वाचनको कारण जन्मिएको नेपाली कांग्रेससहितको वर्तमान सातदलीय सत्ता गठबन्धनले सत्ता आरोहणको राजनीतिक उपलब्धि अपेक्षाकृत रूपमा हासिल गर्न सफल भएको छ ।
- एमालेको नेतृत्वको गठबन्धनबाट पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभयो ।
काठमाडौं । गत फागुनमा सम्पन्न राष्ट्रपति निर्वाचनको कारण जन्मिएको नेपाली कांग्रेससहितको वर्तमान सातदलीय सत्ता गठबन्धनले सत्ता आरोहणको राजनीतिक उपलब्धि अपेक्षाकृत रूपमा हासिल गर्न सफल भएको छ ।
एमालेको नेतृत्वको गठबन्धनबाट पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभयो । कांग्रेस नेतृत्वको चुनावी गठबन्धन भत्किएर एमाले, रास्वपा, राप्रपासहितको समर्थनमा बनेको प्रचण्ड सरकार फागुनसम्म आइपुग्दा अर्कै राजनीतिक समीकरणमा पुग्यो । सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिए ।
कांग्रेस नेतृत्वको गठबन्धन ब्युँतिएपछि प्रचण्ड सरकारले निरन्तरता पाएको छ । सत्ता समीकरण परिवर्तनसँगै सातदलीय गठबन्धनले केन्द्रदेखि सातै प्रदेशमा सरकार बनाएको छ ।
गठबन्धन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई केन्द्रदेखि प्रदेशसम्म सम्पूर्ण रूपले सत्ताविमुख बनाउन सफल भएको छ । केन्द्रसहित सातवटै प्रदेशमा सरकार बनाउन सफल भए पनि गठबन्धनको आन्तरिक मतभेदले संघ र प्रदेश गरी आठवटै सरकारको भविष्यमाथि बारम्बार प्रश्न उठिरहेको छ ।
नेकपा एमालेसहित विपक्षी दलहरूले सरकारमाथि चौतर्फी दबाब बढाइरहेको बेला सत्ता गठबन्धनकै शक्तिशाली नेताहरूबाट सार्वजनिक रूपमै सरकारको आलोचना भइरहँदा सरकारको भविष्यमाथिको आशंकाले थप मलजल पाइरहेको छ ।
गठबन्धनका दलहरूबीचको विवादका कारण सरकारले मिटरब्याजीविरुद्धको विधेयक सदनमा ल्याउन सकेको छैन । सरकारलाई समर्थन गरेको जनमत पार्टी सरकारमा जाने विषयमा असन्तुष्ट देखिएको छ । केन्द्र सरकारमा जस्तै प्रदेश सरकारमा गठबन्धनबीच तीव्र मतभेद र विवाद छ । विवादकै कारण अधिकांश प्रदेश सरकारले पूर्णता पाउन नसकेको लामो समय भइसकेको छ ।
सरकारको कार्यशैलीप्रति गठबन्धनकै दल र नेताहरू असन्तुष्ट छन् । सरकारका काम कारबाहीप्रति उनीहरूले सार्वजनिक रूपमै आक्रोश व्यक्त गर्न थालेका छन् । विपक्षी दलहरू त शृंखलाबद्ध ढंगले सरकारविरुद्ध लागिरहेका छन् । सत्तापक्षकै नेता र विपक्षीको विरोध तथा आलोचना भइरहँदा मन्त्रीहरू भने सरकारको बचाउमा लागेका छन् ।
जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन्।
देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै खड्काले भने, ‘देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरू अघि बढेका छन् । जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिबद्ध छु । वडा हुँदै पालिकाबाट सिफारिस लिएर नागरिकता लिन सदरमुकाम जाँदा नागरिकहरूको समयसँगै पैसा पनि अनावश्यक खर्च भइरहेको हामीले देखेका छौँ । अब जनतालाई प्रशासनिक कामका लागि सदरमुकाम धाइरहनु पर्ने अवस्थाको अन्त्य भएको छ ।’
सरकारले एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जान्छ : कानुनमन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने दाबी गरे । विगतदेखि नै भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको भन्दै मन्त्री गुरुङले अब मुलुकलाई सुशासनतर्फ अघि बढाउन एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै जाने दाबी गरे। यसअघि भ्रष्टाचारका मुद्दामा अनुसन्धान अघि बढाउँदा दलहरूकै नेता मुछिएपछि अनुसन्धान नै रोकिने गरेकाले अब भने भ्रष्टाचारका फाइल खोल्दा कसैको अनुहार नहेर्ने उनको भनाइ छ ।
अहिले अनुसन्धान अघि बढाएका फाइलहरू यसअघि जस्तो बीचैमा बन्द नहुने दाबी गर्दै मन्त्री गुरुङले भने, ‘भ्रष्टाचारीहरू मिलेर हटाउन खोजे पनि त्यसको सामना गर्न तयार छु । आफ्नो अनुहारमा दाग बोकेर ऐना पुछ्ने प्रवृत्तिले राजनीतिमा समस्या बढेको हो । अनुहारको दाग पुछ्ने काम मात्रै भए पनि नेपालको राजनीति सुध्रिन्छ । राजनीतिमा लागेका व्यक्तिहरूले जनताको निराशालाई आशामा बदल्न सक्नुपर्छ । बदल्न नसके राजनीतिक छाड्न तयार हुनुपर्छ ।’
भ्रष्टाचारका फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस् : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता टिकाउनका लागि मात्र भ्रष्टाचारको फाइल खोल्ने काम नगर्न सरकारलाई आग्रह गर्नुभएको छ । हरेक कालखण्डका भ्रष्टाचार मुद्दामा सरकारले छानविन गरे साथ दिन तयार रहेको स्पष्ट पार्दै सभापति लामिछानेले भन्नुभयो, ‘सरकारले भ्रष्टाचारका फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस् । हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ । जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रूपमा सरकारलाई सहयोग गर्न प्रतिबद्ध छौँ ।’ सभापति लामिछानेले पार्टी पंक्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आहृवान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गर्नुभयो । उहाँले अबको चार पाँच वर्षमा आफूहरू पनि अन्य पार्टी जस्तै हुन् भन्ने भाष्य खडा हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै भन्नुभयो, ‘जुन भाष्य खडा गर्न खोजिएको छ त्यो सत्य होइन हामी कसैको पछि लागेका छैनौँ, लाग्दैनौँ पनि ।’
भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिष्ट एकै स्थानमा उभिन्छन् : अध्यक्ष लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिष्ट एकै स्थानमा उभिने प्रमाणित भएको टिप्पणी गरेका छन् । नक्कली भुटानी शरणार्थी र ललितानिवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकै स्थानमा उभिने प्रमाणित भएको उनको दाबी छ ।
भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै अध्यक्ष लिङ्देनले ठूला ठूला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिष्टका नेताहरूको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकै स्थानमा उभिएको आरोप लगाए ।
चीन र भारतका लागि कम्फर्टेबल सरकारको खोजीमा लागेका कांग्रेस र कम्युनिष्टले जनताको कम्फर्टेबल सरकारको खोजी नगरेको आरोप लगाउँदै लिङ्देनले कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातारात पार्टी प्रवेश गराउने कांग्रेस र कम्युनिष्ट पार्टीमा अहिले कोही नगएको दाबी गरे।
प्रतिक्रिया