गृहमन्त्री थापाले बम विष्फोटमा मारिने सामान्य नागरिक होइनन् किन भने ?
सारांश
- नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाइप्रति संसदमै गम्भीर आपत्ति जनाएका छन् ।
- प्रतिनिधिसभाको सोमबारको बैठकमा देशको शान्ति सुरक्षालगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको बताएपछि कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका हुन् ।
- उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन् ’ भनी गृहमन्त्रीलाई प्रतिप्रश्न गरेका थिए ।
नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाइप्रति संसदमै गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा देशको शान्ति सुरक्षालगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको बताएपछि कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका हुन् । उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन् ’ भनी गृहमन्त्रीलाई प्रतिप्रश्न गरेका थिए ।
सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधारणले कहिलेसम्म भोग्नुपर्ने भनी प्रश्न गरिन् । उनले भनिन् ‘गृहमन्त्रीले राजधानीमा भएको विस्फोटमा परि मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो । उनीहरु नागरिक होइनन् भने को हुन् ?’
सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारलाई हठ छोड्न र विप्लवलाई हिंसा छोड्न आग्रह गरेका थिए । उनले भने ‘सशस्त्र द्वन्द्वमा बाँचे सत्तामा पुगिन्छ मरे नागरिकता जान्छ भन्ने गृहमन्त्रीको भनाइबाट समस्या समाधान हुँदैन । गम्भीर बन्नुहोस् । हिजोका आफ्ना दिन सम्झनुहोस् । भोलि नेपालीलाई थप दुख नदिनुस् । आग्रह गर्दछु ।’
प्रतिक्रिया