जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
सारांश
- निर्मल भट्टराई एउटा घरमा दुई दाजुभाई बस्थे ।
- त्यो घरको आडमा एउटा अजङ्गको रुख थियो रुखको सेपले गर्दा गनीहरुको जग्गा जमिनमा राम्रो उब्जनी हुन सकेको थिएन ।
- त्यो रुख नढाली आफ्नो भविष्य अन्धकार हुने भएकोले ती दुवै दाजुभाई रुख ढाल्ने निर्णयमा पुगे ।
निर्मल भट्टराई
एउटा घरमा दुई दाजुभाई बस्थे । त्यो घरको आडमा एउटा अजङ्गको रुख थियो रुखको सेपले गर्दा गनीहरुको जग्गा जमिनमा राम्रो उब्जनी हुन सकेको थिएन । त्यो रुख नढाली आफ्नो भविष्य अन्धकार हुने भएकोले ती दुवै दाजुभाई रुख ढाल्ने निर्णयमा पुगे । तर सो रुख कसरी ढाल्ने भन्ने विषयमा उनीहरु बीच ठूलो विवाद उत्पन्न भयो । दाजुले रुखको टुप्पाबाट विस्तारै हाँगाबिगा छिमल्दै रुख ढाल्नु पर्ने बतायो । तर भाईचाहिंले जराबाट खनेर पो रुख ढाल्नुपर्छ भन्न थाल्यो ।
दाजु रुख चढेर हाँगाविगा छिमल्न थाल्यो भने भाई जरा चुडाँउन रुखको वरिपरि सुरुङ्ग खन्न थाल्यो । दाजुले हाँगा छिमल्न उपलब्ध सबै धारिला हतियारको प्रयोग गर्यो भने भाईले सुरुङ्ग खन्दै अगाडि बढ्दा भेटिएका भिमकाय पहाड फुटाउन विष्फोटक पदार्थको समेत प्रयोग गर्यो । लामो समयसम्म एक अर्कालाई हदैसम्मको गाली र टिकाटिप्पणी गरे । आम्नेसाम्ने हुँदा मारमुंग्री गरे ।
तर, आफ्नो उदेश्यमा कोही टस को मस भएन । उनीहरुले त्यो अजङ्गको सेपिलो रुखमाथि निरन्तर आक्रमण गरिरहे । दश बर्ष यो श्रृङखला चलिरह्यो । न दाजु चाहिँले त्यो रुखको सबै हाँगा छिमल्न सक्यो, न भाई चाहिँले सबै जरा उखेल्न नै । दश बर्षपछि ती दाजुभाई फेरि चौतारीमा जम्मा भए । दुवै घाईते, दुवै लखतरान । लामो छलफल भयो । निश्कर्ष यस्तो निस्क्यो—हाम्रो लक्ष यो सेपिलो रुख ढाल्नु हो । मिलेर धकेल्यौं भने अब रुख ढल्छ । उनीहरु मिले । दुवै सतहमा आए । रुख धकेले । रुख ढल्यो ।
उनीहरु कोही अरु थिएनन् । एमाले र माओवादी थिए । एमालेले २०४९ सालदेखि नै जनताको बहुदलीय जनवादी सिद्धान्तको मार्गदर्शनमा नेपालमा जकडिएर रहेको सामन्ती राजतन्त्रको अन्त्य गर्दै जनताको जनवादी राज्यसत्ता कायम गरेर समाजवादमा पुग्न व्यापक जनपरिचालन, जनसङ्घर्ष र जनमतको सिर्जना गर्ने कार्यनीति अबलम्बन गर्यो । क्षणिक नै सही, उसले सत्तामा पुगेका बखत राज्यको अधिसंरचनामा हस्तक्षेप मात्र गरेन, जनजीविका र सामाजिक रुपान्तरणको दिशामा महत्वपूर्ण कदम उठायो ।
अर्कातिर तत्कालीन नेकपा(माओवादी)ले दीर्घकालीन जनयुद्धको माध्यमद्वारा सत्ता कब्जा गर्ने मुख्य उद्देश्य राख्यो । सत्ता कब्जा गर्ने उद्देश्य राखेर उसले दस बर्षे युद्ध सञ्चालन गर्यो । सो अवधिमा युद्ध सञ्चालन र सत्ता कब्जाका विभिन्न अन्तर्राष्ट्रिय अनुभवलाई नेपालभित्र आयात गर्ने प्रयास गर्यो भने एमालेले नेपाली समाजको अध्ययन र अनुभव बटुल्यो । सत्ता कब्जा गर्न नसकेपछि लोकतान्त्रिक गणतन्त्रको सुझबुझपूर्ण निर्णयको कारण तत्कालीन संसदवादी दलसँग मिलेर शान्तिपूर्ण निर्णायक जनआन्दोलनमा सरिक भयो ।

तत्कालीन माओवादीको यो सही कार्यनीतिक कार्यदिशा थियो । शान्तिपूर्ण जनआन्दोलन, दुई दुईवटा संविधानसभाको चुनाव, संसदीय प्रक्रियाबाट संविधान जारी, यही बीचको अवधिमा लोकतान्त्रिक प्रक्रियाबाट आफू पटक–पटक प्रधानमन्त्री भएर प्रचण्डले सिङ्गो माओवादी पार्टीलाई लोकतान्त्रिक पार्टीे बनाउन सक्नु अत्यन्त सकारात्मक मात्र छैन, आश्चर्यजनक पनि छ ।
आज पनि केही माओवादी साथीहरु ‘महान जनयुद्ध जिन्दावाद’ भन्ने नारा लगाउन छोेडेका छैनन् । पाटी एकताको बहसमा ‘अब केपी ओलीले पनि जनयुद्ध जिन्दावाद भन्नुपर्छ’ भन्दै छन् । यस्ता तर्क अगाडि सारेर पार्टी एकतालाई निश्कर्षमा पुर्याउन सकिदैँन । हो, राजतन्त्रको विरोधमा विगतमा सञ्चालित सशस्त्र विद्रोहको ऐतिहासिक महत्व छ । यसमा एमाले र माओवादीको समान धारणा बन्दै गएको छ ।
‘जनयुद्ध जिन्दावाद’ भन्ने नाराको सोझो अर्थ हो– युद्ध बाँचिरहोस् । केपी ओलीले त परै जाओस् यो जारा अब प्रचण्डले पनि उच्चारण गर्नु अस्वभाविक र असान्दर्भिक हुन्छ । यो त विगतको युद्ध सम्झाएर जनताको खाटो बसेको घाउमा नुन छर्कनु मात्र हुन्छ । अब जनता शान्ति, स्थिरता र आर्थिक समृद्धि चाहन्छन् । युद्धको भजन सुन्न चाहदैँनन् । दस बर्षे जनयुद्धका सकारात्मक परिणामको रक्षा गर्नुको साथै जनयुद्धको सिलसिलामा भएका गम्भीर कमजोरीप्रति जनतासँग क्षमा याचना गर्नुपर्ने हुनसक्छ । यो नै जनयुद्धलाई हेर्ने र रक्षा गर्ने द्वन्द्ववादी तरिका हो । मालिक जनतासामु आफ्नो कमजोरी स्विकार्दा किमार्थ सानो होइन ।
माओवाद बोकेर हिँडुनजेल युद्धको कुरा नगरी नभए पनि माओवादीले युद्ध छोडेर शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिमा आएको एक दशक भइसकेको र लोकतन्त्रको उपयोग गर्ने, चुनाव लड्ने प्रधानमन्त्री/मन्त्री/सांसद बन्ने अनि कहिल्यै संसदीय चुनाव नभोगेका युद्धकै बलले चिनियाँ सत्ताकब्जा गरेका माओको नामको पछाडि वाद जोड्नुको समेत अब औचित्य समाप्त भईसकेको छ । माओकालीन चिनियाँ राजनीति र वर्तमान नेपाली राजनीतिमा कुनै समानता छैन । हुनेवाला पनि छैन । माओका विचार अबको नेपाली बाम राजनीतिका लागि सन्दर्भ सामग्रीमात्र हो ।
जसरी एमालेलाई जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेबमोजिमको जनताको जनवादी सत्तामार्फत् समाजवादी गन्तव्यतर्फ अगाडि बढ्न एक्लै सहज थिएन, त्यसरी नै वैचारिक हिसाबले माओवादी केन्द्रलाई एक्लै अगाडि बढ्न सहज थिएन । संसदीय बाटो छोडेर विगतको झैं माओवाद समात्ने हो भने उनले फेरि जङ्गल पस्नुपर्ने हुन्थ्यो । अब एमालेसँग एकता गरेपछि माओवाद र युद्धको कुरा पनि गरिरहने त कसरी मिल्ला र ? अनि माओवादी नेता कार्यकर्ताको ‘मन राख्न’ जबजले बनाएको राजमार्ग छोडेर कुनै गोरेटोको खोजी झन कसरी उचित होला ?
प्रतिक्रिया