दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
सारांश
- काठमाडौं, २७ फागुन- राजाले संवैधानिक सीमा मिच्दै पटकपटक सक्रिय भूमिका निर्वाह गरेपछि राजनीतिक दलहरुले राजतन्त्र अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरे ।
- दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्य भयो ।
- मुलुक गणतन्त्रमा प्रवेश गर्याे।
काठमाडौं, २७ फागुन- राजाले संवैधानिक सीमा मिच्दै पटकपटक सक्रिय भूमिका निर्वाह गरेपछि राजनीतिक दलहरुले राजतन्त्र अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरे । दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्य भयो । मुलुक गणतन्त्रमा प्रवेश गर्याे। जनताका छोराछोरी मुलुकको राष्ट्राध्यक्षको जिम्मेवारीमा पुगे । तर पनि राष्ट्राध्यक्षले संवैधानिक सीमाभित्र नबसेको विषय निरन्तर उठ्दै आएको छ । पहिलो राष्ट्रपति रामवरण यादव हुन् वा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । दुवैले विवादरहित बन्न सकेनन्। आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले खबर लेखेका छन् ।
पहिलो राष्ट्रपति यादवले संवैधानिक अधिकार विपरीत हुने गरी तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउन मन्त्रिपरिषद् निर्णय उल्ट्याए । जुन विषय अझै चर्चा र बहसमै छ भने वर्तमान राष्ट्रपति भण्डारी राष्ट्रियसभाको तीन सदस्य मनोनयन र राष्ट्रियसभा अध्यादेशमा आफ्नो पूर्व दल नेकपा एमालेप्रति बफादार बनेको आरोप खेप्दै आएकी छन् । मन्त्रिपरिषद्को सिफारिसलाई बिनाकारण र आधार राष्ट्रपतिले लामो समय राष्ट्रियसभा निर्वाचन अध्यादेश रोकेर राखेको र राष्ट्रियसभाको तीन जना सदस्य मनोनयनलाई अल्झाएको आरोप विपक्षी नेपाली कांग्रेसले लगाउँदै आएको छ।
सरकारैपिच्छे राष्ट्रपतिले फरक चस्माले हेर्ने गरेको आरोप कांग्रेसले लगाइरहेका बेला भण्डारीमाथि उनकै पूर्वपार्टी एमालेका नेताहरुले उनले गुट चलाएको आरोप खेप्नुपरेको छ । राष्ट्राध्यक्षको दुईवर्षे कार्यकाल सकेर पाँच वर्षका लागि नयाँ कार्यकाल सम्हाल्ने निश्चित रहे पनि भण्डारी सत्तापक्ष र प्रतिपक्षी दुवैको निसानामा परेकी छन्।
राजनीतिक विश्लेषक झलक सुवेदी राजतन्त्र अन्त्यपछि राष्ट्रपति र त्यो संस्था कस्तो बनाउने भन्न परिकल्पना स्पष्ट नहुँदा समस्या आएको बताउँछन् । राजतन्त्र अन्त्य भए पनि राष्ट्रपति र उक्त संस्थालाई त्यसकै निरन्तरताका रुपमा विकास गरेको सुनाउँदै सुवेदीले भने, ‘राष्ट्रपति भनेको राजतन्त्र वा राजाको निरन्तरता होइन । तर, संस्कार र संस्कृति दरबारिया बनाउने काम भयो । पहिलो र दोस्रो राष्ट्रपति त्यसमै मख्ख हुनुभयो।’
राजनीतिक पृष्ठभूमिका व्यक्ति नै राष्ट्राध्यक्षको जिम्मेवारीमा पुग्दा पहिलो र दोस्रो राष्ट्रपति दलीय प्रभावबाट मुक्त हुन नसकेको विश्लेकषहरुको बुझाइ छ । दलीय स्वार्थमा दलहरुले राष्ट्रपतिलाई गैरसंवैधानिक कदम उठाउन प्रेरित गरेको विश्लेषण सुवेदीको छ । उनले भने, ‘पहिलो राष्ट्रपतिलाई पनि दलहरुले गैरसंवैधानिक (तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाल हटाउने सरकारको निर्णय उल्ट्याउने) कदम चाल्न प्रेरित गरेका हुन् । राष्ट्रपतिको पृष्ठभूमिले प्रभाव पार्दछ।’
वर्तमान राष्ट्रपति भण्डारीमाथि पनि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गर्न ढिलाइ गरेर र शेरबहादुर देउवा नेतृत्व सरकारले राष्ट्रियसभा सदस्य मनोनयनको सिफारिसलाई तत्काल कार्यान्वयन नगरेर एमालेप्रति नजिक हुन खोजेको आरोप लाग्ने गरेको छ । ‘राष्ट्रियसभाका तीन सदस्य मनोनीत गर्ने शेरबहादुर देउवा सरकारको सिफारिस कार्यान्वयन गरेको भए त्यसको नैतिक जिम्मेवारी तत्कालीन सरकारलाई नै जाने थियो,’ सुवेदीले भने, ‘सिफारिस नमान्दा राष्ट्रपति विवादमा आउनुभयो । संवैधानिक भूमिकाबाट टाढिने र आफू आएको दलसँग नजिकिन खोजे जस्तो देखियो ।’
पहिलो राष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकारसमेत रहेका संवैधानिक कानुनका जानकार सूर्य ढुंगेलले राष्ट्रियसभाका तीनजना सदस्य पहिला मनोनयन नगर्नु र केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेलगत्तै तत्काल स्वीकृत गर्नुले राष्ट्रपतिको निष्पक्ष भूमिकामाथि प्रश्न उठेको बताए । ‘पहिला (शेरबहादुर देउवा) सरकारले गरेको सिफारिस किन १०÷११ दिनसम्म रोकियो र अर्को सरकारले गरेको सिफारिस तत्कालै स्वीकार गरेर उत्ति नै बेला किन स्वीकृत गरियो भन्ने जबाफ र तर्क राष्ट्रपतिसँग छैन,’ ढुंगेलले भने, ‘संविधानको धारा ८१ (ख र ग) अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीसँगै कुनै पनि विषयमा छलफल गर्न सक्ने व्यवस्था छ । त्यसो गरेको पनि देखिएन ।’
पहिलो राष्ट्रपतिको कार्यकालमा जस्तो ठूलो संवैधानिक जटिलता नआएको सुनाउँदै ढुंगेलले वर्तमान राष्ट्रपतिबाट केही विषयमा ध्यान नपुगेको दाबी गरे।
प्रधानसेनापतिको पुनस्र्थापना, प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउने र लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख बनाउने जस्ता महत्त्वपूर्ण विषय बाधाअड्काउ फुकाउमार्फत गर्नुपरेको उनले स्मरण गरे । ‘अनावश्यक रुपमा नयाँ सरकार गठनका लागि बाटो छैन भनेर २०७३ असारमा केपी ओली नेतृत्वको सरकारको सिफारिसमा बाधाअड्काउ फुकाउ आदेश जारी गरिएको छ, त्यो आवश्यक थिएन,’ उनले भने, ‘मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले कार्यान्वयन गरे पनि उहाँले प्रधानमन्त्रीलाई त्यस विषयमा बुझाउन सक्नुपथ्र्याे।’
Narayan Panthi
जसलाई पनि आफू अनुकुल जनशक्ति चाहिन्छ।आफ्नो चाहना अनुसार खेल खेल्छ।दुबै रास्ट्रपतिले केही काम आफू अनुकुल गरे।
Bhattarai Bhawani Prasad
रास्ट्रपति कसरी बिबादित हुन्छन? बिबादित बनाइएको हो ।
Gurung Man
किन नबन्नु त !!!! उहांहरु दुवै जना पार्टीगत हिसाबले राष्ट्रपति हुनु भा हो, पार्टीबाट निर्देशित क्रियाकलाप नगरि हुन्न भनेसि के को नौलो कुरो हो र यो ?