देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख

सारांश

  • काठमाडौं, १४ जेठ ।
  • सभामुख कृष्णबहादुर महराले देशलाई आर्थिक विकासको मार्गमा बढाउन सकेमात्र वास्तविक अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् ।
  • सभामुख महराले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उक्त कुरा बताएका हुन् ।

काठमाडौं, १४ जेठ । सभामुख कृष्णबहादुर महराले देशलाई आर्थिक विकासको मार्गमा बढाउन सकेमात्र वास्तविक अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् । सभामुख महराले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उक्त कुरा बताएका हुन् ।

सभामुख महराको शुभकामना सन्देश

आजको दिन निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ऐतिहासिक दिन हो । जननिर्वाचित संविधानसभाले आजभन्दा ठीक १० वर्षअघि २०६५ जेठ १५ गतेका दिन निरंकुश राजतन्त्रको अन्त्य गरी नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरेको थियो ।

देशको शासन व्यवस्था नै परिवर्तन गरी नेपालको इतिहासमा युगान्तकारी परिवर्तनको दिनका रुपमा रहेको यस गणतन्त्र दिवसको अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक दिनको अवसरमा गणतन्त्र प्राप्तिको महाअभियानमा आफ्नो उत्सर्ग गर्नुहुने सबै महान सहिदहरुप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । संघर्षका दौरान घाइते हुनुभएका सबै योद्धाहरुको स्वास्थ्य लाभको कामना र योगदानको सम्मान गर्दछु ।

लामो र कठीनपूर्ण संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रसँगै हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गरेका छौं । संविधानमै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी शासन व्यवस्थालाई उपलब्धिको रुपमा संस्थागत गरेका छौं । संविधानको कार्यान्वयनकै रुपमा स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचन सम्पन्न गरी देशले तीनै तहमा सरकार निर्माण भएका छन् र अहिले नयाँ संविधानको मर्मअनुरुप विभिन्न ऐन कानूनहरु निर्माणको विशेष प्राथमिकतामा रहेका छन् । यसरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकाससँगै देशमा राजनीतिक स्थिरता र विकास निर्माणले गति लिदैछ ।

हरेक नेपाली नागरिकले वास्तविकरुपमा गणतन्त्र नेपालको अनुभूति हुने गरी राज्यले देशको विकास, समृद्धि र आम देशबासीमा आपसी सद्भावको वातावरण बनाउनुपर्दछ । हरेक नेपाली सुखी र खुशी भए मात्रै गणतान्त्रिक शासन व्यवस्था सुदृढ हुनसक्छ । देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन सके वास्तविक अर्थमा गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ भन्ने मैले विश्वास लिएको छु । अन्त्यमा फेरि पनि सबैलाई गणतन्त्र दिवस २०७५ को हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद !

कृष्णबहादुर महरा

१५ जेठ, २०७५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?